fbpx

म्ह–पूजा, काठमाडौं र रहस्यवाद

— आर. मानन्धर

देवी–देवताको पूजा गर्ने परम्परा त जहाँ पनि होला । तर आफ्नै शरीरलाई पूजा गरेर धुमधामसँग पर्व मनाउने विशिष्ट चलन नेपालमा बाहेक विश्वमै कतै नहोला । नेपालका मूलवासी नेवारहरूको मूल चाड नै म्ह–पूजा अर्थात् शरीर पूजा हो । यसमा घरभित्र परिवारका सबै सदस्यहरू लहरै बसी आ–आफ्ना शरीर पूजा गरेर मनाइन्छ । साथै शरीर पूजा गर्ने दिनमा नै देशको नाममा स्थापित नेपाल सम्वत्को पात्रो पनि फेरिन्छ ।

म्ह–पूजा र मण्डलको महत्त्व
म्ह–पूजा चाड त हो नै । साथै पूजा भनेपछि यसको आध्यात्मिक पक्ष पनि हुने नै भयो । त्यसमा पनि यस पूजामा हरेक सदस्यको अगाडि मण्डल बनाइन्छ । मण्डल भनेकै आध्यात्मिक प्रतीक हो । मण्डललाई विश्वब्रम्हाण्डको प्रतिरूपको रूपमा लिइन्छ । यसले समग्रता, सम्पूर्णता र सुसंगठित संरचनाको प्रतिनिधित्व गर्छ । विश्वब्रम्हाण्ड, सौर्यमण्डल, पृथ्वी, हाम्रो शरीर सबै पूर्ण र सुसंगठित संरचना हुन् ।
म्ह–पूजामा बनाइने मण्डलको प्रकार रजमण्डल (स्याण्ड मण्डला) हो । नेपालभाषामा यसलाई ‘प्वताय्मन्दः’ भनिन्छ । यो मेहनत लगाएर सुन्दर बनाइन्छ, पुजिन्छ र सकिसकेपछि बढारिएर सोहरिन्छ, फालिन्छ । यसले सृष्टि, स्थिति र संहारलाई प्रतिनिधित्व गर्छ र अनित्यता, क्षणभंगुरतालाई बुझाउँछ ।

मण्डलहरू तन्त्रयानसँग बढी सम्बन्धित हुनआउँछ । तन्त्रमा शरीरको महत्त्व धेरै छ । त्यसैले मानव शरीरलाई पनि मण्डल मानिन्छ । मण्डलको महत्त्व नेवार समुदायमा कति धेरै छ भन्ने कुरा आफ्नो देशलाई नै ‘नेपालमण्डल’ भन्नुबाट पनि प्रष्टिन्छ । म्ह–पूजामा परिवारका सदस्यहरू लहरै बसी हरेकका अगाडि मण्डल बनाई त्यसको पूजा गरिन्छ । यो आफैलाई विश्वब्रम्हाण्ड मानेको हो र त्यसको प्रतीक बनाई पूजा गरेको हो । साथै सम्पूर्ण शरीर अनि शरीरका अंगहरूको पूजा गरिन्छ म्ह–पूजाको दिन बनाइने मण्डल हरेक नेवारको घरमा फरक–फरक देखिन पाइन्छ । तर सबै कुनै न कुनै यन्त्रको आकारमा नै हुन्छ । वास्तवमा अहिलेको युगमा घरघरमा बनाइने मण्डलका प्रकार संकलन गर्नु पनि जरूरी भइसकेको छ । अहिले मण्डलको लागि तयारी कागजको खाका प्रयोग हुने गरेकोले मण्डलका विविध मौलिक प्रकार बिर्सिइँदै गइरहेको छ ।

म्ह–पूजाको दिन नेपाल सम्वत्को नयाँ वर्ष शुरु हुने दिन पनि हो । नेपाल सम्वत् र म्ह–पूजाको सम्बन्ध के हो यसमा कुनै निक्र्यौलमा पुग्नसकिएको छैन । तर साधारणतया बुझ्न सकिन्छ कि लक्ष्मीपूजाको दिन अर्थात् नेपाल सम्वत्को अन्तिम दिन बेलुका नेवारहरू वर्षदिनको आर्थिक कारोबार बन्द गरी (अहिलेको भाषामा, आर्थिक वर्षको अन्त्यमा खाता बन्द गरी) वर्षभरिको आम्दानीको निम्ति लक्ष्मीप्रति कृतज्ञता जनाउँदै आउँदो वर्षमा पनि लक्ष्मीको कृपा होस् भन्ने कामनाका साथ लक्ष्मीपूजा मनाइन्छ र अर्को दिन हर्षउमंगका साथ आफ्नो शरीर पूजा गर्दै नयाँ वर्षमा प्रवेश गर्छन् ।

आफ्नो शरीरलाई पूजा गर्नू
माथि उल्लिखित कुराले पनि शरीर पूजाको आध्यात्मिक महत्त्व प्रष्ट खुल्दैन । आफ्नै शरीरलाई पूजा गर्नू भनेर शास्त्रमा कहाँ लेखिएको छ भन्ने प्रश्न रहन्छ । छ भने कुन धर्मको शास्त्र होला भन्ने प्रश्न उठ्छ । नेवारहरू मूलतः बुद्धधर्म मान्ने र त्यसभित्र पनि वज्रयान मान्ने भएकोले त्यसैभित्र म्ह–पूजाको अर्थ खोज्नु आवश्यक छ । यसै क्रममा महासिद्ध भगवती लक्ष्मींकरा (ई. ७२९) प्रतिपादित ग्रन्थ ‘अद्वयसिद्धि’ ग्रन्थ अध्ययन गर्न पुग्छु । लक्ष्मींकरा काष्ठमण्डप स्थापना गर्ने महासिद्ध लीलावज्रकी गुरू हुन् । भगवती लक्ष्मींकराले आफ्नो ग्रन्थ अद्वयसिद्धिमा लेखेकी छिन् ः
न कष्टकल्पनां कुर्यात् नोपवासी न त क्रियाम्
त्रानं शैचं न चैवात्र ग्रामधर्मविवर्जनम्
न चापि वन्दयेछेवान् काष्ठपाषाणमृण्मयान्
पूजामस्यैव कायस्य कुर्यान्नित्यं समाहितः
अर्थात्,
“शरीरलाई पीडा दिनु आवश्यक छैन, न त व्रत बस्नु, धार्मिक रीति मान्नु, गंगा स्नान गर्नु, पवित्र बन्नु वा समाजका कुनै नियम मान्नु नै आवश्यक छ । काठ, ढुंगा वा माटोबाट बनेका भगवान्का मूर्ति ढोग्नु पनि आवश्यक छैन । तर ध्यानपूर्वक आफ्नो शरीरलाई पूजा गर्नू जहाँ सबै भगवान्हरू बसेका छन् ।”

भगवती लक्ष्मींकरा उडियानका राजा इन्द्रभूतिकी बहिनी हुन् । उडियानलाई अहिलेको भारतको उडिसा राज्यलाई मानिन्छ । बौद्धधर्मलाई तिब्बतमा स्थापना गराउने पद्मसम्भव पनि उडियानमै जन्मेका थिए । इन्द्रभूति, लक्ष्मींकरा र लीलावज्र तीनै जना चौरासी महासिद्धमा पर्छन् । लक्ष्मींकराका चेला लीलावज्र भने साँखुमा जन्मेका थिए । उनी लिच्छवी राजा जयदेव द्वितीय (ई. ७१३ – ७३३) को समयका हुन् । उनी आफैंले निर्माण गरेको काष्ठमण्डप नजिकै तरुमूल महाविहारमा बस्थे । भारतवर्षमा तन्त्रका ठूल्ठूला केन्द्रहरूमा बंगाल, कश्मीर, उडिसा र काठमाडौं पर्छन् र यिनीहरू बीच अन्योन्याश्रित सम्बन्ध छ ।

लीलावज्र, काष्ठमण्डप र किंवदन्ती
पहिले–पहिले पुरातत्वविद्हरू तत्काल उपलब्ध प्रमाणको आधारमा काष्ठमण्डपलाई बाह्रौं शताव्दीमा निर्माण भएको मान्थे । त्यस अनुसार आठौं शताव्दीका लीलावज्रले काष्ठमण्डप निर्माण गरेको कुरा किंवदन्ती मात्र ठहरिन्थ्यो । तर २०७२ सालको महाभूकम्पपछि भने त्यो तथ्य परिवर्तन भएको छ । भूकम्पपश्चात् काष्ठमण्डपको जगमा भएका सामग्रीहरूको नमूना बेलायत पठाई त्यहाँको प्रयोगशालामा सात महीनासम्म परीक्षण गर्ने कार्य भएको थियो । सो वैज्ञानिक अध्ययनबाट काष्ठमण्डपको संरचना सातौं शताब्दीतिर निर्माण भएको प्रमाणित भएको छ । लीलावज्र लगायत ती महासिद्धहरू तिनै समयका थिए । हुन त त्यति बेलाको संरचना अहिले जतिको ठूलो नहुनसक्छ र अहिलेको संरचना पछि विस्तार गरिएको हुनसक्छ ।

भूकम्पपछिको अध्ययनबाट प्राप्त अन्य तथ्यले पनि काठमाडौंमा प्रचलित किंवदन्तीलाई पुष्टि गरेका छन् । जस्तो कि, काष्ठमण्डप वृक्षदेवताले प्रदान गरेको अजंगको एउटै रूखको काठबाट बनेको भन्ने भनाइ छ । भनिन्छ, काष्ठमण्डप बनाएर पनि काठ नसकिएर नजिकै सिँल्यंसत्तल बनाइयो । नेपालभाषामा ‘सिँल्यं’को अर्थ हुन्छ ‘बचेको काठ’ । किंवदन्ती के छ भने अझै पनि काठ बाकी रहन गएकोले बाकी सबै काठ त्यहीं जमीनमुनि गाडिएको थियो । महाभूकम्पपछि गरिएको परीक्षणमा काष्ठमण्डपमुनि काठ नै रहेको प्रमाणित भएको छ ।

पछि लीलावज्र भारतको विक्रमशीला महाविहारका प्रमुख आचार्य बने । तर जीवनको पछिल्लो भागमा भने उनी आफ्नो जन्मथलो फर्के । थप किंवदन्ती के छ भने उनी जीवनको अन्तिम कालमा तरुमूल महाविहारको उत्तरपूर्वी आगममा प्रवेश गरे र कहिल्यै निस्केनन् । त्यसपछि त्यो आगमको ढोका कहिल्यै खोलिएन र पूजा पनि बाहिरबाटै गरिने भयो ।

यसमा थप अचम्मका कुरा छन् । १९९० सालको भूकम्पपश्चात् तत्कालीन राणा शासकहरूले सो विहारको क्षेत्रमा दरबार बनाउने चाहे । त्यहाँ जग खन्ने काम भयो । तर त्यहाँ एउटा हड्डी र छाला मात्र भएको समाधिमा लीन साधुको शरीर भेटियो । दरबारबाट तुरन्तै वज्राचार्यहरू बोलाएर देखाउँदा उनीहरूले समाधिरत सिद्ध लीलावज्र हुनसक्ने अनुमान गरे । अनि तत्कालै खनिएको स्थान पुर्न लगाई दरबार बनाउने योजना रद्द गरियो । त्यस बेला तरुमूल महाविहार वसन्तपुरसम्म फैलिएको थियो । यसरी काठमाडौंका धेरै किंवदन्तीहरू किंवदन्ती मात्र नभएको प्रमाणित भएका छन् ।

वज्रयानी रहस्यवादको प्रभाव
काष्ठमण्डप जसबाट काठमाडौं शहरले आफ्नो नाम पायो त्यो स्थापना गर्ने लीलावज्र आफ्ना गुरू भगवती लक्ष्मींकराबाट प्रभावित भएनन् भन्न सकिन्न । अनि लीलावज्रले काठमाडौंका जनतालाई प्रभावित पारेनन् पनि भन्न सकिंदैन । त्यसमा पनि भारतीय उपमहाद्वीपमा सहजयानी दर्शनको गहिरो प्रभाव परेको थियो । बौद्धधर्मभित्र मात्र नभई इस्लामको सूफी रहस्यवादी परम्परा र हिन्दू सन्त परम्परामा समेत सहजयानको प्रशस्तै परेको कुरा इतिहास र दर्शनशास्त्रका विद्वानहरू बताउँछन् । नाथ सम्प्रदायमा त सहजयानको प्रत्यक्ष प्रभाव नै प¥यो । भनिन्छ, लक्ष्मींकराले शरीरलाई दिएको महत्त्वबाटै प्रभावित भई मच्छेन्द्रनाथ र गोरखनाथले हठयोग प्रतिपादन गरेका हुन् ।

शरीर पूजाको आधार खोज्दै जाँदा अन्य वज्रयानी ग्रन्थमा ठाउँठाउँमा आफ्नो शरीरलाई वज्रसत्व, वज्रकाय सम्झी पूजा गर्नु उचित भएको कुरा उल्लेख छन् । आठौं शताव्दीकै सहजयानका अर्का प्रवर्तक महासिद्ध सरहपाद आफ्नो दोहाकोशमा आफ्नै शरीरभन्दा ठूलो पीठ वा तीर्थ नदेखेको बताउँछन् ः
एहि सो सरस्वती प्रयाग, एहि सो गंगासागर ।
बाराणसी प्रयाग, एहि सो चन्द्रदिवाकर ।।
क्षेत्र पीठ उपपीठ एहि, मै भ्रमेउ समस्थउ ।
देह सदृश तीर्थ, मै सुनेउ न देखेउ ।।

तन्त्रका अनुसन्धाता ललनप्रसाद सिंहले सहजयानलाई ‘वज्रयानी बौद्ध तान्त्रिक परम्पराको तर्कसम्मत् रहस्यवादी (गुह्य) विस्तार’ भनेका छन् (२०१०, पेज ५४) । रहस्यवादीहरूका आफ्नै किसिमका विशेषताहरू छन् । ती विशेषताहरू हिन्दू, इस्लाम, सिख सबैमा समान रूपमा देख्न पाइन्छ । हिन्दूमा कबीर दास, मीरा बाई, रैदास आदि रहस्यवादी सन्तको लामो परम्परा नै त भने इस्लाममा लाल शाहवाज कलन्दरदेखि बुल्ले शाहसम्म थुप्रै सूफी सन्तहरू छन् । सिख धर्ममा गुरू नानक आफैं ठूला रहस्यवादी सन्त हुन् । विश्लेषण गर्ने हो भने काठमाडौंको धार्मिक रीतिमा रहस्यवादको छाप स्पष्ट देखिन्छ ।

हिन्दू, बौद्ध, इस्लामी रहस्यवादका साझा विशेषताहरू हुन्— गहिरो भक्ति; परम्पराप्रति विद्राही स्वभाव; धार्मिक समन्वय र सहिष्णुता; अलौकिक चमत्कार; गीत, दोहा रचना गर्ने र गुरू–भक्ति ।

भक्ति र विद्रोही स्वभाव
भक्ति र विद्रोह परस्पर विरोधी देखिन्छ । तर यहाँ भक्ति भनेको समर्पणभाव हो । रहस्यवादीहरू आफ्नो साधनामा पागलजस्तै एकोहोरिएर समर्पित हुने हुन्छन् । अनि उनीहरू धर्मको नाममा गरिने खोक्रो कर्मकाण्डप्रति विद्रोही स्वभावका हुन्छन् । जातीय विभेद विरुद्ध पनि विद्रोह गर्दछन् । बुद्धले ब्राम्हण वा शूद्र जन्मले हुने होइन, कर्मले हुने हो भनेका छन् । तर विद्रोही सन्त कबीर त्यसभन्दा पनि पर गएर प्रखर व्यंग्य गर्छन्—
ब्राहमन से गदहा भला, आन देब से कुत्ता
मुलना से मुर्गा भला, सहर जगाबे सुत्ता
यसको अर्थ हुन्छ, ब्राम्हणभन्दा गधा जाति, परिश्रम गरेर खान्छ । पत्थरको देउताभन्दा कुकुर जाति, घरको रक्षा गर्छ । मौलानाभन्दा कुखुरा जाति, सबेरै सहरलाई जगाउँछ ।

रहस्यवादीका समर्पण र विद्रोह दुवै यति तीव्र हुन्छ कि पागलपनको हदसम्मै जान्छ । भगवती लक्ष्मींकराले त आफैंलाई ‘पगली राजकुमारी’ उपनाम नै दिएका छन् । हिन्दू परम्पराका मीरा बाईलाई पनि तत्कालीन समाजले बौलाही नै सम्झेको थियो । एउटी युवराज्ञी बाटोमा भजन गाउँदै नाच्दै हिँड्नु समर्पण र विद्रोह दुवैको पराकाष्ठा हो । मीराका गुरू रैदास चमार थिए । रैदास जुत्ता सिलाउनमा यति तल्लीन रहन्थे कि मन्दिर वा गंगा जाने फुर्सद हुँदैनथ्यो । उनी जुत्ता सिलाउँदै भगवान्को भजन गाइरहन्थे । भनिन्छ, भगवान् पनि उनको छेऊमै जुत्ता सिलाउँदै बसिरहन्थे । भक्तको अगाडि भगवान् यतिसम्म बाध्य हुन्छन् ।

वास्तवमा म्ह–पूजा गर्नु आफैंमा एउटा ठूलो धार्मिक विद्रोह हो । भगवान्लाई मात्र पुज्ने ठाउँमा आफैंलाई भगवान् मानेर आफ्नो शरीरलाई पूजा गर्नु कम्तीको विद्रोह होइन । यो मानववादी दर्शनबाट निर्देशित मानिसलाई आफ्नै दिव्यतामा विश्वास जगाउने सशक्तीकरणको अभ्यास हो । साथै समर्पणभावले त्यो दिव्यतालाई अहंकाररहित बनाउँछ ।

धार्मिक सहिष्णुता र समन्वय
धार्मिक सहिष्णुता र समन्वय रहस्यवादीहरूको प्रमुख विशेषता रहेको छ । काठमाडौं धार्मिक समन्वयको लागि विश्वमै अनुपम नमूना हो । काठमाडौंका धेरैजसो देवीदेवताहरू हिन्दू–बौद्ध दुवैले समान रूपमा मान्छन् । सहजयान पनि बौद्धको सँगसँगै नाथसम्प्रदायमा पनि उत्तिकै व्याप्त छ । नाथ सम्प्रदाय आफैं रहस्यवादी भएकोले हिन्दू वा बौद्ध भन्ने नै नछुट्टिने गरी दुवै धर्ममा उत्तिकै व्याप्त छ । गुरू गोरखनाथको मन्दिर त काष्ठमण्डपभित्रै छ । मच्छिन्द्रनाथको रथजात्रा काठमाडौंको पुरानो परम्परा हो । कबीर दास, गुरू नानक हिन्दू र मुसलमान बीचको चरम द्वन्द्वको बेला समन्वय र सहिष्णुता प्रवद्र्धनमा लागेका थिए ।

इस्लाममा रहस्यवादी सूफी परम्पराले शुरुवातकै दिनबाट धार्मिक सहिष्णुता फैलाउने काम गरेको थियो । बाह्रौं शताब्दीका सूफी सन्त लाल शाहबाज कलन्दर सिन्ध प्रान्त (पाकिस्तान) का हिन्दूहरूका पनि उत्तिकै पूज्य हुन् । उनले धार्मिक सहिष्णुता फैलाउनको लागि गरिएको कार्यबाट प्रभावित भई सिन्धका हिन्दूहरूले उनलाई आफ्ना इष्ट देवता ‘झूलेलाल’को अवतारको रूपमा मान्छन् । उनको नाममा लेखिएका प्रख्यात भजनहरू ‘झूलेझूले लाल दम मस्त कलन्दर’, ‘दमादम मस्त कलन्दर’ वा ‘दम मस्त कलन्दर मस्त मस्त’ हिन्दू, मुस्लिम, सिख सबैले उत्तिकै भक्तिभावले गाउँछन् ।

सन्त कबीर त हिन्दू हुन् वा मुस्लिम हुन् नै नछुट्टिने गरी बाँचे । त्यसै गरी सिख धर्मका गुरू नानक देवलाई तिब्बती बौद्धहरूले पद्मसम्भवको पुनर्जन्मको रूपमा मान्दछन् । उनीहरू उनलाई नानक लामा, गुरू गोम्पा महाराज भन्दछन् । गुरू नानक आफ्नो जीवनकालमा लद्दाख र तिब्बतका विभिन्न भागमा बौद्धहरू माझ धर्मदेशना गर्दै हिँडेका थिए । यो लामो कुरा बताउनुको उद्देश्य अर्को पनि छ । त्यो के भने भारतवर्षमा जति पनि धार्मिक युद्ध भएका छन् तिनको मूलकारण धार्मिक नभई आर्थिक र राजनीतिक शक्ति प्राप्ति रहेको छ । शासकहरूको राजनीतिक स्वार्थपूर्तिको लागि धर्मको प्रयोग भएको मात्र हो ।

अलौकिक शक्ति
रहस्यवादीहरूको अर्को साझा विशेषता भनेको अलौकिक शक्तिसम्पन्न हुनु हो । काठमाडौंका महासिद्ध लीलावज्र, सूरतवज्र, शाश्वतवज्र, मञ्जूवज्रले गरेका अलौकिक चमत्कारका कथा काठमाडौंका मूलवासीहरू सुन्दै सुनाउँदै थाक्दैनन् । यस्तै अनेकन चमत्कार कबीर, मीरा, रैदास, नानक सबैको जीवनमा भएका छन् ।

गीत, दोहाका गायक
यिनीहरूबीच अर्को समान विशेषता हो गीत, दोहा रचना गर्ने । सरहपादलाई त हिन्दी भाषाको पहिलो कविको रूपमा पनि लिइन्छ । उनले दोहाकोश, चर्यागीत आदि रचना गरेका छन् । तिब्बतमा उनका २१ कृतिहरू संकलित छन् । लीलावज्रले ‘सहजशून्य समाज साधना’ र ‘श्री सहज सिद्धि’ कृतिका साथै चर्यागीतहरू पनि रचना गरेका छन् ।

काठमाडौंको वज्रयानी समाजमा चर्यागीत गाउने र चर्यानृत्य गर्ने परम्परा नै छ । चर्यागीतका ताडपत्रहरू काठमाडौंमै भेटिएको थियो । उन्नाइसौं शताब्दीका बंगाली विद्वान हरप्रसाद शास्त्रीले काठमाडौंका अभिलेखालयबाट चर्यागीतका प्रतिहरूका ताडपत्रहरू फेलापारेका थिए । चर्यागीत भनेको समाधिको अवस्थामा स्वतः स्फूरित हुने गीत हो, जसमा रहस्यमयी सन्ध्याभाषामा गहिरा अध्यात्मिक अनुभव र दर्शन वर्णन गरिएका हुन्छन् ।

इस्लाममा सन्त–कविको परम्परा रूमीदेखि बुल्ले शाहसम्म निरन्तर चल्यो । बुल्ले शाहको ‘बुल्ला की जाना मैं कौन’ अझै त्यतिकै लोकप्रिय छ, जसमा आफू कुनै धर्म, जातिमा नबाँधेको बताएका छन् । त्यस्तै हिन्दीमा कबीर, रैदास, मीरा आदि सन्त–कविहरूले निरन्तर भक्ति र विद्रोहका गाए । कबीरका कतिपय कविता जापानको जेन बौद्ध दर्शनका ‘कोआन’सँग मिल्दाजुल्दा छन् ।

बौद्ध गुरूहरूमा आध्यात्मिक सन्देशको लागि दोहा रच्ने चलन त विपश्यनाका गुरू सत्यनारायण गोयन्कासम्मै निरन्तर छ । उनका दोहा पनि सम्प्रदाय र कर्मकाण्डविरुद्ध शुद्ध अध्यात्मको पक्षमा छन् । उनले लेखे ः
धरम न हिंदू बौद्ध है, सिक्ख न मुसलिम जैन
धरम चित्त की शुद्धता, धरम शांति सुख चैन

निचोड
आठौं शताब्दीमा शुरु भएको सहजयानी रहस्यवादको प्रभाव त्यसपछि चलेका सबै धर्मका रहस्यवादी परम्परामा गहिरो प्रभाव परेको थियो । सत्रौं शताब्दीमा आएर फेरि ‘वैष्णव सहजिया’ मत लोकप्रिय भयो । सहजयान र वैष्णव तन्त्रबीच धेरै समानता छन् । उन्नाइसौं शताव्दीका रामकृष्ण परमहंसले वैष्णव तन्त्रकै साधना गरेका थिए । अनि बीसौं शताब्दीका प्रभावशाली सन्त महर्षी रमणले पनि ‘सहज समाधि’ नै सबभन्दा उच्चतहको समाधि भन्न पुगे ।

भारतवर्षमा यति धेरै प्रभाव छर्न सफल सहजयानको प्रभाव मूलतः वज्रयानी नै रहेको नेवार समाजमा अत्यन्त गहिरो छ । नेवारहरूको परम्परागत धार्मिक शैलीबाट पनि यो कुरा स्पष्ट छ । त्यसैले नेवारको मुख्य पर्व म्ह–पूजाको आधार वज्रयानी–सहजयानी दर्शनभित्र किन नखोज्ने ? यसको लागि सातौं–आठौं–नवौं शताब्दीतिर के–के भए गहिरो सोधखोज र विश्लेषण गर्नुपर्ने देखिन्छ । यही बेला राजा गुणकामदेवले मञ्जुश्रीको चन्द्रहास खड्गको आकारमा काठमाडौं शहर बसालेको थिए र नेपालसम्वत् पनि यही समयमा शुरु भएको थियो । चर्यागीत पनि आठौंदेखि बाह्रौं शताव्दीबीच रचना भएका हुन् ।

दुर्भाग्यवश ऐतिहासिक प्रमाणको अभावको कारण इतिहास अध्येताको लागि यो समय ‘अँध्यारो युग’ भनिन्छ । तर रहस्यमयी आधुनिक–पौराणिक तान्त्रिक शहरहरूको देश नेपालमण्डलको त्यस बेलाको इतिहास बुझ्न धार्मिक ग्रन्थ र स्मारकहरूको अध्ययन र जिउँदो संस्कृति जात्रा–पर्वहरूको विश्लेषणबाट पनि त प्रमाणहरू भेटिनसक्छ कि ?

सन्दर्भ ग्रन्थ

Dowman, Keith (1995). Masters of Mahamudra. Albany: State Univeristy of New York Press.

Rana Rinpoche, Acharya Mahayogi Sridhar. (2011). The Four Pillars of the Vajrayana of the Kathmandu Valley, Crazy Cloud Vol. 1, pp 55-64.

Shengde, Malati J. (1964). Advayasiddhi of Laxminkara. Retrieved from https://archive.org/stream/19AdvayaSiddhiOfLaksminkaraSkEngl/19%20Advaya-siddhi%20of%20Laksminkara%20sk-engl_djvu.txt

Singh, Khuswant & Chopra Ashok (2011). Agnostic Khuswant: There Is No God. Haryana: Hay House India

Singh, Lalan Prasad (2010). Buddhist Tantra: A Philosophical Reflection and Religious Investigation. New Delhi: Concept Publishing Company.

वज्राचार्य, यज्ञमान पति (२०६७). नेपालका प्राचीन वज्राचार्य लीलावज्र. काठमाडौं ः विरिञ्चि मोती स्मृति गुह्यतारा कोष ।

(मूलतः नेपालभाषाका लेखक आर. मानन्धरले पाँच वर्ष थेरवादी श्रामणेर भई थाइल्याण्डमा बुद्धधर्मको अध्ययन गरेका थिए । नेपालीमा उनको दर्शनसम्बन्धी पुस्तक ‘क्षितिजको स्पर्श’ प्रकाशित छ ।)

 

rzm

Leave a Reply

Your email address will not be published. Required fields are marked *