fbpx

गुथिका स्रोतहरु: के किसानको जग्गा लुटेर गुथिमा राखेको हो?

रोशन श्रेष्ठ

गुथिका गतिविधिहरु गर्नको लागि आर्थिक स्रोत मुख्यत: गुथियारहरुको दान नै हो । यसरी दान गरेर कार्यसम्पादन गर्न सँधै सम्भव नहुने हुनाले अक्षयकोषको रुपमा भुमि नै गुथिमातहत राख्ने र उक्त भुमिको आम्दानीबाट आर्थिक स्रोत जुटाउने ब्यवस्था गरियो । धार्मिक, सामाजिक, सामुहिक कामको लागि चाहिने खर्चको जोहो गर्न जग्गा तथा गरगहना दान दिने दातालुहरुको उदारता नै गुथिको आर्थिक स्रोत हो । कृषिप्रधान अर्थतन्त्र हुँदाताका भुमि नै अक्षय सम्पत्ति हुनाले गुथिलाइ भुमिदान दिइ गुथिको काम निर्वाध संचालन गर्नु सबभन्दा उत्तम उपाय थियो ।

बाध्यतावश करकापमा कसैको पनि जग्गा गुथिमा दर्ज गरेको इतिहास छैन । धर्मको नाउँमा मानिसहरु स्वेच्छाले जग्गा नमासियोस भनी गुथिमा दर्ज गरेको इतिहास पाइन्छ ।थुप्रै अभिलेखहरु जग्गा गुथिमा दर्ज गरी आयस्ता सुरक्षित गरेको प्रमाण पाइन्छ ।

राणा शाहहरुले किसानको जग्गा जबरजस्ति धम्काएर सस्तो दाममा किने झै, सर्वस्व हरणको अभियोगमा लुटे झै, कुनै पनि गुथिले किसानको इच्छा बिपरीत जग्गा खोसेर गुथिमा दर्ज गरेको भन्ने कुरा इतिहासमा कतै स्थापित छैन । जतिपनि गुथिको जग्गा छ, पूर्खाले धर्म र लोक कल्याणको निमित्त स्वेच्छाले राखेको हो ।

राजनीतिक उथलपुथलको क्रममा जितेका पक्षले हारेका पक्षका श्रीसम्पत्ति लुट्ने चलन थियो । यस्तो अवस्थामा यदि जित्ने पक्षमा धार्मिक आस्था प्रवल भए हार्ने पक्षले आफ्ना श्रीसम्पत्तिहरु गुथिको नाउँमा दाखिला गरेर खोसुवा वा लूटबाट सुरक्षित राख्न सक्थे। कतिपय गुथिहरुले त्यसरी पनि जग्गा आर्जन गरेको छ। अधिकांश जग्गाहरु यसरी गुथिमा राखेको, र गुथिको जग्गा खोसेर लिए पाप लाग्छ भन्ने विश्वास दह्रो हुनाले मल्लकालमा जग्गाको लागि एकापसमा लडाइ हुन नै बन्द भयो । गुथिमा जग्गा राख्नु त्यसबेला स्वत:स्फुर्त शान्तिको लागि योगदान थियो ।

कुनै ठूला मन्दिर तथा निर्माण कार्य गर्न परे तात्कालिन राजा तथा भारदारहरुले जनतासित गुथिको निमित्त जग्गा दान दिन आमन्त्रण गरिन्थ्यो । यसरी गुथिलाइ जग्गा दान दिँदा उक्त जग्गाबाट कमाएर शासकलाइ तिर्नु पर्ने कर तिर्नुपर्दैन थियो र जग्गा आफैले कमाइराख्न छुट थियो । अर्थात, आफ्नो जग्गा, आफैले कमाउने अधिकार, अनि शासकलाइ तिर्नुपर्ने कर आफुले इच्छाएको मन्दिर वा निर्माण कार्यलाइ तिर्ने – यस्तो खालको ब्यवस्था अमेरिकामा प्रचलित ५०१सि सित मिल्दोजुल्दो छ, जुन अत्याधुनिक अर्थब्यवस्थाले अँगालेको सामाजिक परोपकारी ब्यवस्था हो र यस्तो उन्नत ब्यवस्था नेवारसमाजले हजारौ वर्ष अगाडि नै प्रयोग गरेका थिए ।

यसरी मन्दिरगुथिलाइ जग्गा दिदा कर आफुले इच्छाएको ठाउँमा खर्च हुने मात्र नभए आफ्नो जग्गा पुस्तौपुस्ताको निमित्त पारिवारीक सुरक्षामा रहने ग्यारेन्टी पनि भयो । मेरा पुर्खाले सिनामंगलको ५० रोपनी जग्गा त्यसरी रणबहादुर शाहको पालामा पशुपति गुथिमा चढाएको कुरा बाजेहरुले बताउनुभएको थियो । जुन जग्गा पछि ९० सालको ठूलो भुकम्प पछाडि भुकम्प पिडितहरुलाइ पुनर्स्थापना गर्न जुद्धशम्शेरले प्रयोग गरे ।

हैजा, बिफर जस्ता रोगब्याधि महामारी फैलदा, अनिकालादी पर्दा तात्कालीन समयको धार्मिक समाजले देविदेवता पुकारेर भाकल गर्ने गर्थे । थरी थरीका भाकलमध्य जग्गा देवताको नाउँमा चढाउने भाकल पनि एक प्रख्यात भाकल थियो । यसरी चढाएको जग्गाको मतलब जग्गाबाट उत्पादित निश्चित अंश ती देवदेविताको कोषमा दाखिला गर्ने, र जग्गा भोगचलन आफैले गर्ने ब्यवस्था नै हो । कथंकदाचित रोगब्याधिका कारण परिवार समूल नष्टभए गुथिको तजबीजमा त्यो जग्गा अर्को किसानलाइ कमाउन दिन सकिन्थ्यो । अर्थात यसरी गुथिलाइ प्राप्त जग्गा एक हिसाबले अपुताली ब्यवस्थापन सरह नै हो ।

यी सबै जग्गाको स्रोतहरु हेरेपछि तपाइ के सोच्नु हुन्छ? किसानको जग्गा लुटेर गुथिमा राखेको भन्ने कुरा कहाँबाट आयो? थाहा पाइराख्नो, यो भ्रम हो, जुन हालसालै मात्र भु-माफियाहरुले नियोजित रुपमा प्रचार गरेको भ्रम हो। इतिहासको कुनै पनि तथ्यले त्यो दावि पुष्टि गर्ने आधार दिदैन ।

(एउटा लामो लेखको एक टुक्रा मात्रै हो )

Leave a Reply

Your email address will not be published. Required fields are marked *