fbpx

“नेपालभाषामा लेखिएको कविताका कारण सिद्धिचरणले जेल परेको थियो”

सन्दर्भ सिद्धिचरण श्रेष्ठ जन्मजयन्ति

सत्यमोहन जोशी

आज हामी युगकवि सिद्धिचरण श्रेष्ठलाई स्वच्छन्दवादी प्रकृतिप्रेमी कविको रुपमा मान्छौं । उहाँले रचना गर्नुभएको मेरो प्यारो ओखलढुंगा भन्ने गीतलाई सर्वोकृष्ट भनेर लिन्छौं । यसबाहेक उहाँ क्रान्तिकारी कवि पनि हुनुहुन्छ । हामीलाई उहाँलाई १८ वर्षको जेल सजाय तोकिएको थाहा छ । पाँच वर्ष त जेल सजाय भोगेरै आउनुभयो, सर्वस्व पनि हरण भयो । किन होला त?

यतिबेला हाम्रो देश लोकतन्त्रात्मक गणतन्त्र बनेको छ । केही दिन पछि हामी गणतन्त्र दिवस नै मनाउन जाँदैछौं । यसको पृष्ठभूमि खोज्दै जाँदा १९९७सालको राजनैतिक अवस्था हेर्नुपर्छ । यदि हामी फर्केर नर्हेने हो भने, अगाडि मात्र जाने हो भने इतिहासलाई बिर्सने हो भने हाम्रो प्रगति अग्रगामी हुन अलि गाह्रो हुन्छ ।

आजको दिनमा उहाँलाई सम्झदाँ, उहाँबाट प्राप्त प्रेरणा लिँदा, उहाँले १९९७ सालको राजनीतिक पर्वमा कस्तो जीवन भोग्नुभयो, त्यसको के कारण थियो, १८ वर्षको जेल सजाय, कालकोठरीमा बस्नुपर्ने, सर्वस्व हरण हुने के कारण थियो होला ? यतिखेर हामी सिद्धिचरणकै बारेमा कुरा गर्दैछौं । उहाँलाई जेलसजाय हुनुको एउटै कारण थियो उहाँको एउटा कविता । त्यसबेला राणा शासन थियो । भाषा साहित्य संस्कृति माथि बन्देज थियो, चाहे राष्ट्रभाषा होस् चाहे स्थानीय जुनसुकै भाषा भन्नुस् । त्यो भाषालाई यति नियन्त्रित गरिराखेको थियो कि भाषाको माध्यमबाट साहित्यको माध्यमबाट कहीँ कतै कविता, गीतबाट यस्तै क्रान्ति वा त्यस्तै गानाहरुको विरोधमा कसैले लेख्यो गायो भने त्यसको मिति पुग्थ्यो ।

त्यस्तो जमानामा बिचरा सिधा सोझा कोमल हृदय भएका कवि सिद्धिचरणले एउटा कविता रचेका थिए आफ्नो मातृभाभाषामा — वर्षा । वर्षाको स्वभावै कस्तो हुन्छ भने गड्याङगुडुङ गर्ने चट्याङ पर्ने, पानी पर्ने । पानी परेपछि मात्र त खेत मलिलो हुन्छ नि, त्यसमा धान रोप्न पाइन्छ नि । त्यसो भएको हुनाले त्यो बेला वर्षाको यही चरित्रलाई चित्रण गरेर एउटा कविता आफ्नो मातृभाषामा नेपालभाषामा रच्नुभएको थियो । यसको पुछारमा आएर उहाँले लेख्नुभएको थियो — क्रान्तिबिना थन दइमखु स्वच्छ शान्ति (क्रान्ति विना यहाँ आउने छैन स्वच्छ शान्ति ) । यो देशमा एउटा परिवर्तन नआइकन हुँदैन, परिवर्तन आउनै पर्छ, जुनसुकै तरिकाले भनेर एउटा क्रान्ति शब्द प्रयोग गरे । बडा सिधा हृदयले ले ख्नुभएको थियो, कुनै नराम्रो भावना लिएर गरेको पनि थिएन । त्यो भन्दा राणाहरुको विरोधमा बोल्न त गाह्रै हुन्थ्यो ।

उहाँले सिधै राणाहरुको शासनै खत्तम गर्ने भनेर लेख्नु भएको पनि होइन । कवि हृदयले एउटा प्राकृतिक भावनामा अभिव्यक्ति पोखै । क्रान्ति नभइ हुँदैन भन्ने उहाँको निष्कर्ष थियो । वास्तवमा त्यही कविता र त्यसमा क्रान्ति शव्द परेकोले सर्वस्व पनि हरण भयो, १८ वर्षको कैद सजाय पनि भयो । त्यो बेला त्यो शासनको इतिहास, राणाहरुको इतिहास बिर्सने हो भने हाम्रो देशका प्रगतिको इतिहासलाई बिर्सन सकिदैन ।

त्यो बेला उनले जुन क्रान्ति शव्द प्रयोग गरे । त्यो बेला राणाकालमा जतिपनि दुख पाइराखेका थिए, जति शोषित भएर बस्नु परेको थियो । हरेकको मनमा त थियो नि राणा शासनमा यति दुख भोग्यौं भन्ने । बोल्ने अधिकार छैन, लेख्ने अधिकार छैन , संगठन बनाउने अधिकार छैन, जमघट गनेै अधिकार थिएन । अस्तो अवस्थामा पनि साराको मनमा त गुम्सिएको थियो नि । केही न केही परिवर्तन त यो देशमा बाँच्न गाह्रो हुन्छ भन्ने सबैमा थियो । उनले प्रयोग गरेको क्रान्ति शव्द बास्तमा सम्पूर्ण नेपालीहरुको मनोभावना एउटा परिवर्तन ल्याउन कविले आफ्नो लेखनीको मद्दतले त्यो क्रान्ति शव्दको प्रयोग गरे र यसैले गर्दाखेरि उहाँले त्यत्रो सजाय भोग्नु पर्यो ।

उहाँको त्यही क्रान्ति शब्द प्रयोग सुनेर उहाँलाई युगकविको उपाधि दिइराखेको हो । त्यो क्रान्ति नभइ हुँदैन भन्ने कुरा उहाँले सारा नेपालीहरुको प्रतिनिधित्व गरेर बोल्नु भएको थियो । त्यही क्रान्ति शव्दको प्रयोगले गर्दा देशमा अनेक किसिमका क्रान्तिका लहरहरु आए । त्यसैको फल स्वरुप आज हामीले देशमा यति बोल्ने सहास गर्नपाइरखेका छौं । देशमा यत्रो परिवर्तन आइरहेको छ । देश अग्रमामी दिशामा अगाडि बढिरहेको छ । यो सबै त्यो क्रान्ति शव्दकै उपज हो जस्तो लाग्छ । आज फर्केर हेर्दा थाहा हुन्छ त्यो क्रान्ति शब्दको भूमिका निकै ठुलो थियो ।

बास्तवमा त्यो क्रान्ति शव्द परेको कविता पनि एक जना अर्को लेखक फत्ते बहादुर सिंहले छापेर ल्याएका थिए । त्यो बेला यहाँ किताब छाप्न नपाउने भएकोले त्यसबेला केही छाप्नलाई निवेदन राखेर समितिबाट पास गराउनुपर्ने थियो, समितिको छाप लाग्थ्यो, छाप नलागेको कुरा छाप्नै पाइँदैनथ्यो । त्यसकारण उनले त्यो कविता सहित एउटा नेपाली विहार भन्ने नाम राखेर भारतको बेतिया (बिहार)मा छापेर ल्याएको किताब थियो त्यो । र छापेर ल्याउने फत्ते बहादुरले पनि त्यही सजाय भोग्यो, १८ वर्ष कैद र सर्वस्व हरण । त्यसबेलाको लेखकको हालत र पुस्तक प्रकाशनको कठिनाइ, कस्तो सेन्सरशिप थियो, त्यो हामी बिर्सन सक्दैनौं । त्यो हाम्रो इतिहास हो । त्यही इतिहासको आधारमा हामी आज लम्किनु परिरहेको छ, देशको विकास गर्नु परिरहेको छ, देश अग्रगामी बाटोमा गइरहेको छ ।

यसरी युगको परिवर्तन गर्नुमा युगकवि सिद्धिचरणको ठुलो भूमिका रहेको महशुस हामीले गर्नुपर्छ जस्तो लाग्छ ।

दुई वर्ष अगाडि युगकवि सिद्धिचरण प्रतिष्ठानले आयोजना गरेको पुरस्कार वितरण समारोहमा विशेष अतिथि सत्यमोहन जोशीले दिनुभएको मन्तव्यको आधारमा ।
प्रस्तुति ः राजेन मानन्धर (२०१७ ५ २४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *