fbpx

वातावरणमैत्री उत्पादन प्रवर्द्धनका लाग‍ि ईंटा प्रयोगशालाको समुदघाटन सम्पन्न

राजेश बज्राचार्य

ललितपुर, कार्तिक ६, २०७६

नेपालमा उत्पादित ईंटाकोलागि प्रयोग हुने कोइलाको गुणस्तर, ईंटाको भारवहन शक्तिको परीक्षण र वातावरणीय प्रदुषण मापन गर्ने उपकरण सहितको आधुनिक प्रयोगशाला सञ्चालनमा आएको छ ।

नेपाल ईंटा उद्योग महासंघको भौतिक पूर्वाधार लगानी तथा ईसिमोडको प्राविधिक र डिएफआईडिको आर्थिक सहयोगबाट इमाडोलमा निर्माण गरिएको उक्त प्रयोगशालाको मगंलबार ईसिमोडका उपमहानिर्देशक डा. एकलब्य शर्माले भारत, पाकिस्तान र बंगलादेशका ईंटा उद्योग संगठनका प्रतिनिधि टोलीहरुको समुपस्थितिमा उद्घाटन गरेका हुन ।

उक्त प्रयोगशालामा गुणस्तरीय ईंटा बनाउन कोइला परीक्षण, कोइलाबाट वातावरणमा पार्ने प्रदूषण न्यूनीकरण गर्ने परीक्षण र ईंटाको भारबहन शक्ति परीक्षण गर्न सकिने भएको छ । सो प्रयोगशालामा माटोको गुणस्तर थाहा पाउने विषयमा पनि अध्ययन हुनेछ । यस अलावा ईंटा उद्योगमा बढ्दो कामदार व्यवस्थापनको समस्या न्यूनीकरण गर्नकालागि उत्पादन प्रक्रियामा आवश्यक मेशीनरीहरुको अध्ययन अनुसन्धान गर्ने वर्कशप पनि सञ्चालनमा आएको छ ।

उक्त आर एण्ड डि युनिटमा अनुसन्धानलाई निरन्तरता दिन नेपाल ईीन्जनियरिंग कलेजका मेकानिकल ईन्जिनियरिंग बिद्यार्थीहरुको संस्थागत संलग्नतासहित प्राविधिक अध्ययन अनुसन्धान गरि यस वर्ष पंखा, कोइला पेल्ने मशीन र माटो मुछ्ने मशीनहरु तयार भएको महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले जानकारी दिनुभयो ।

This slideshow requires JavaScript.

प्रयोगशालाको थालनीले ईंटा उद्योगले हुने वातावरणीय प्रदुषण न्यूनीकरणको लागि नेपालभरका ईंटा उद्योगमा ‘जिगज्याग’ प्रविधिलाई प्रवद्र्धन गर्न थप सफलता मिलेको उद्योगी एवं जिगज्याग प्रविधि प्रशिक्षक राजकुमार लाखेमरुले जानकारी दिनुभयो । ईसिमोडको सहजीकरणमा नेपालका ईंटा उद्योगी राजकुमार लाखेमरु, श्याम महर्जन लगायतका ईंटा विज्ञहरुले पाकिस्तानमा जिगज्याग प्रविधि प्रवद्धर्नमा सफलता प्राप्त गरेको इसिमोडका कार्यक्रम संयोजक विद्या बनमाली प्रधानले जानकारी दिनुभयो ।

ईंटा भट्टाले वातावरणमा पारेको असर न्यूनीकरण गर्न अत्याधुनिक मानिएको टनेल किल्न प्रविधिलाई आवश्यक लगानीकालागि नेपाली उद्योगीहरु तयार नभएसम्मकालागि दक्षिण एसियामा जिगज्याग प्रविधि उपयुक्त रहेको र नेपालमा पनि यसलाई महासंघले प्रवद्र्धन गर्दै आएको महासंघका महासचिव कृष्ण प्रसाद अवालले जानकारी दिनुभयो ।

नेपालभर १२ सय ईंटा उद्योग रहेकोमा काठमाडौं उपत्यकामा मात्रै एकसय ११ वटा ईंटा उद्योग सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *