fbpx

बजार मात्रै होइन असन

असन एउटा यस्तो मायावी स्थान हो, जहाँ हामी हरेक दिन पुगिरहे पनि यसका मौलिकताबाट पूर्णतयाः बेखबर नै रहन्छौं ।

नेपालको मुटु काठमाडौं । काठमाडौंको पनि मुटु असन । त्यसो त नेपालको प्रशासनिक मुटु सिंहदरवार हो । तर प्रशासनलाई छोडेर बाँकी रहेको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक जीवनको मुटु भने अझ पनि असन नै हो ।

बाहिर जिल्लाबाट आउने जो कोही पनि असन हेरे पछि मात्रै काठमाडौं पुगेको अनुभव गर्छन् । असन पुग्ने हरेकलाई सबैभन्दा पहिले आकर्षित गर्ने भनेकै त्यहाँको भिडभाडले हो । नूनदेखि सुनसम्म पाइने बजार भएको कारणले जे किन्न पनि मानिसहरू असन पुगेका हुन्छन् । त्यसैले बिहान आँखा खुलेदेखि बेलुकी निदाउने बेला नभएसम्म असन भिडभाडकै बीच जागा भइरहेको हुन्छ ।

असनमा यति भिड हुनुको अर्को पनि एउटा कारण छ । असन छवटा बाटोहरूलाई जोड्ने एउटा ठूलो दोभान हो । त्यसैले अधिकांश मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुग्न पनि असन ‘क्रश’ नगरी हुन्न । असन चोकमा कमलाछी, भोटाहिटी, महाबौद्ध, इन्द्रचोक, बांगेमुढा र थँहिटी पुग्ने छवटा बाटाहरू छन् । काठमाडौंमा यस्तो छवटा बाटोहरूको दोभान भएका जम्मा चारवटा चोकहरू छन् – काष्ठमण्डप (मरु टोल), क्षत्रपाटी, इन्द्रचोक र असन । यी चार मध्ये असन, इन्द्रचोक र मरु काठमाडौंको पुराना बजार पनि हुन् । र, यी तीन बजारहरू मध्ये पनि असन बाँकी दुई बजारमा सामान पु¥याउने ‘होल सेल’ पसलहरूको थोक बजार थियो । आजभन्दा पचास वर्ष अघिसम्म पनि काठमाडौंका जुनसुकै ठाउँका पसलेहरू पनि आफूलाई चाहिने चामल, मैदा, च्यूरा आदि खाद्यान्नको थोक खरिद गर्न असनै पुग्ने गर्दथे ।

असन छवटा बाटोहरूलाई जोड्ने एउटा ठूलो दोभान हो । त्यसैले अधिकांश मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुग्न पनि असन ‘क्रश’ नगरी हुन्न । असन चोकमा कमलाछी, भोटाहिटी, महाबौद्ध, इन्द्रचोक, बांगेमुढा र थँहिटी पुग्ने छवटा बाटाहरू छन् ।

तर असन यही थोक बजारको चोक मात्र भने होइन । असन भन्ने बित्तिकै मानिसहरू बजारको पर्याय जस्तै ठान्छन् । तर असन बजार मात्रै होइन । प्राचीन काठमाडौं नगर भारत र तिब्बत बीच ब्यापार गर्ने प्रमुख पुल थियो । ब्यापारीहरू भारतको कालिम्पोङबाट काठमाडौं हुँदै तिब्बत पुग्ने गर्दथे । त्यही व्यापारिक मार्गको एउटा केन्द्र पनि थियो असन । कालिम्पोङबाट सामान लिएर आउने ब्यापारीहरू यही असन हुँदै तिब्बत प्रस्थान गर्थे । तसर्थ अनुमान लगाउन सकिन्छ कि आजभन्दा हजार वर्ष अघि नै असन एउटा भिडभाडपूर्ण बजारको रुपमा विकसित भइसकेको थियो ।

भनिन्छ, दुई हजार वर्ष अघि असन एउटा घना जंगल थियो । त्यतिबेलाको कान्तिपुर शहर विशालनगरमा थियो । एउटा ठूलो आगलागीमा परी विशालनगर वस्ती नै ध्वस्त भएपछि त्यहाँका वासिन्दाहरू असन र असन वरिपरि नयाँ वस्तीमा बसाई सरेर आएका थिए । यो प्रमाण नभएको किंवदन्ती मात्र हो ।

काठमाडौंमा जति पनि वस्ती, टोल आदिहरू छन् ती सबैको नामको एक एक वटा अर्थ रहेको हुन्छ । जस्तो मुख धुने पोखरी (खेचायेगु पुखू) भएको कारणले खिचापुखू, पाखो मुन्तिरको ठाउँ (पाः क्वय्) भएको कारणले पाको, ओसिएको घडा (वँथं गःगु घः) भएको कारणले वंघः, नौ ग्रहको प्रतिक स्वरुप नौवटा चक्का (गुचाः) भएको कारणले गुच्चा टोल आदि ।

तर असन (असं) को अर्थ के हो र यो नाम किन रहन गयो भन्ने विषयमा भने कहीं केही उल्लेख छैन । यसका सम्बन्धमा पनि विभिन्न किंवदन्ती मात्रै भेटिन्छन् । कोही भन्छन्, सम्राट अशोकका दूतहरू नेपाल आउँदा उनीहरूले यही ठाउँमा एउटा अशोकस्तम्भ खडा गरी त्यसलाई घुम्ने ‘अशोकमण्डप’ बनाएका थिए । त्यही अशोकमण्डप पछि अपभ्रंश भई ‘असंमदु’ वा ‘असं (असन)’ हुन भएको हो ।

सम्राट अशोकका दूतहरू नेपाल आउँदा उनीहरूले यही ठाउँमा एउटा अशोकस्तम्भ खडा गरी त्यसलाई घुम्ने ‘अशोकमण्डप’ बनाएका थिए । त्यही अशोकमण्डप पछि अपभ्रंश भई ‘असंमदु’ वा ‘असं (असन)’ हुन भएको हो ।
अर्को कथन छ, काठमाडौं उपत्यका दहकै अवस्थामा रहेको बेला महामञ्जुश्रीले यो दहको गहिराई नाप्न छेउछाउको पहाडमा बसी तीन पटक बाण प्रहार गरेका थिए । ती मध्ये एउटा बाण यही असन भएको ठाउँमा धँसिएको थियो । बाण प्रहार हुँदा ती ठाउँमा ‘अशनि वज्रपात’ भएको ठानिएको रहेछ । यही ‘अशनि’ शब्द पछि ‘असन’ हुनगएको हो ।

त्यस्तै अर्को तर्क छ, यो ठाउँमा सम्राट अशोकका दूतहरूले बनाएको ‘अशोकचैत्य महाविहार’ नामक एउटा विहार रहेको छ । यही अशोकचैत्य महाविहार पछि अपभ्रंश भई ‘असंबहाः’ हुँदै ‘असं (असन)’ हुन गएको हो ।
फेरि अर्को कथन भन्छ, यो ठाउँमा एउटा ठूलो अशोकको रुख थियो । त्यो रुख यति अग्लो थियो कि त्यसको फूल हालको मरु टोल (काष्ठमण्डप) सम्म पुग्थ्यो । त्यसको फूल काष्ठमण्डपमा अवस्थित गणेशलाई चढाउने गरिन्थ्यो । त्यही अशोकको रुखमा फुल्ने फूल चढाउने भएकोले मरुटोलको गणेशलाई ‘अशोक विनायक’ भनिएको हो । मरु टोलको अशोक विनायक र असन टोलको अन्नपूर्णदेवीलाई आमा–छोरा पनि भनिन्छ । त्यही कारण प्रत्येक वर्ष दशैं ताका काठमाडौंमा यही दुई देवताको जात्रा चलाउने गरिन्छ ।

जात्राका सम्बन्धमा पनि असनलाई काठमाडौंली जात्राको केन्द्र भने पनि हुन्छ । काठमाडौंमा मनाइने सबैजसो ठूला जात्राहरू असनसम्म ल्याउनै पर्ने परम्परा छ । जस्तो पाहाँचः¥हे (घोडेजात्रा) का बेला जात्रा गरिने दुइटा लुँमधि अजिमा (वटु र तेबहाल) र कंग अजिमाको खट यही असनमा ल्याएर परिक्रमा गराइन्छ ।

इन्द्रजात्राको बेला कुमारीको रथ यही असन भएर तान्नुपर्छ । सेतो मछिन्द्रनाथको रथ तान्दा एकदिन असनमा पनि विश्राम गराउनु पर्छ । यी भए असन बाहिरका जात्राहरू । असनका आफ्नै केही रैथाने जात्राहरू पनि छन्, जस्तो अन्नपूर्णदेवीको जात्रा । यो दशंैको बेला मनाइन्छ । त्यस्तै कुम्हः प्याखं (नाच) । असनका तुलाधर र केलटोलका कंसाकार मिलेर आफू मध्येका ७ – १४ वर्ष उमेरका बालकलाई भगवान् कुमारको रुप बनाई यो नाच देखाइने गरिन्छ । त्यस्तै दशैं ताका असनभरिको सबैभन्दा कान्छो केटोलाई तरवार समाउन लगाई पायो निकालिने गरिन्छ ।

असनमा दशैं मनाउने चलन पनि अनौठो छ । देशभरि दशैंको दशौं दिन अर्थात विजया दशमीका दिन टीका लगाउने गरिन्छ । तर असन एक ठाउँमा भने त्यसको भोलिपल्ट अर्थात एकादशीका दिन मात्रै टीका लगाउने चलन छ । असनमा मात्रै टीका लगाउने त्यो दिनलाई ‘असंचालं’ भनिन्छ । असनका स्थानीय वासिन्दाहरू यदि असन छोडेर अन्तै बसाइँ सराई भइसके पनि उनीहरू दशैं (मोहनी) को टीका भने एकादशी कै दिन लगाउने गर्छन् । असनको यो मौलिकता उनीहरूले छोडेका छैनन् ।

असन चोक मानिसको मात्र भिड हुने ठाउँ होइन, त्यहाँ विभिन्न देवीदेवताहरूको पनि भिडै छ भन्दा फरक नपर्ला । असनको बीचमा अन्नपूर्णदेवीको मन्दिर छ । यो असनको सबैभन्दा प्रख्यात मन्दिर भयो । यो बाहेक पनि यहाँ गणेशको मन्दिर, लक्ष्मीनारायणको मन्दिर, उमामहेश्वरको मन्दिर, कुमारीको मन्दिर गरी पाँचवटा मन्दिर रहेका छन् । त्यस्तै यिताचपाः नामको सार्वजनिक भवन रहेको छ ।

काठमाडौंमा चलाइने सबैजसो देवीदेवताको जात्राले असन एक चक्कर घुम्नैपर्ने चलन भएको कारणले असनमा बाहिरका मानिसहरू आउ–जाउ गरिरहे जस्तो प्रायः कुनै न कुनै देवताको यात्रा पनि चलि नै रहेको देख्न सकिन्छ । त्यस्तै असन चोकको ठीक बीच मै एउटा माछाको प्रतिमा पनि राखिएको छ जसका बारे छुट्टै किंवदन्ती सुन्न पाइन्छ ।

राजनीतिक दृष्टिले पनि असन सा¥है प्रख्यात स्थान हो । राणाकालदेखि नै नेपालमा भएका सम्पूर्ण राजनीतिक आन्दोलनहरूको केन्द्र असन हुँदै आएको छ । राणाकालमा राणाविरोधी गतिविधि हुने प्रमुख स्थान असन नै थियो । त्यतिबेला आन्दोलन चर्काउने नेताहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, चिनियाँलाल सिं आदि सबै असन वरिपरिकै वासिन्दा हुन् । २००७ सालमा राणाविरोधी आन्दोलन चर्किँदा प्रहरीको लाठी खाएर शहादत प्राप्त गर्ने पहिलो शहिद असन कै स्थानीय वासिन्दा न्हुछेरत्न तुलाधर थिए । उनै तुलाधरको पार्थिर शरीरमा श्रद्धाञ्जली व्यक्त गर्न असनमा आएका त्यतिबेलाका ‘ग’ श्रेणाीवाला राणा परिवार मध्येका नाटककार बालकृष्ण समले ‘‘अब उप्रान्त आफ्नो नामको पछाडि ‘शमशेर जंगबहादुर राणा’ नराखी ‘सम’ मात्र लेख्ने’’ घोषणा गर्नुभएको थियो । असन र यसको छेउछाउ भएका राजनीतिक गतिविधिहरू संकलन गरी विद्वान भुवनलाल प्रधानले ‘असं’ नामको पुस्तकै लेख्नुभएको छ । २०४६ साल र २०६३ सालको आन्दोलनमा पनि असन निर्णायक भूमिका मै थियो ।

यसरी असन सयौं मात्र होइन हजारौं वर्षदेखि नै विविध खाले मौलिकताहरू बोकेर अस्तित्वमा रहेको छ । यो एउटा यस्तो मायावी स्थान हो जहाँ हामी हरेक दिन पुगिरहे पनि यसका मौलिकताहरूबाट पूर्णतयाः बेखबर नै रहने गर्दछौं । अहिले पनि काठमाडौंको ‘स्थानीयता’ को आधिकारिक प्रतिनिधित्व यदि कुनै स्थानले गरेको छ भने त्यो असनले नै गरिरहेको छ भन्दा बेसी नहोला ।

(स्रोत : विद्वान लेखकहरू सर्वश्री भूवनलाल प्रधान, प्रा. माणिकलाल श्रेष्ठ, डा. ओमकारेश्वर श्रेष्ठ, विमला मानन्धर, कमल तुलाधर, लाभरत्न तुलाधर र प्रेमहिरा तुलाधरका विभिन्न पत्रपत्रिका, स्मारिका र पुस्तकमा प्रकाशित लेखहरू ।)
तस्बिरहरू : अमिष रेग्मी
साभार : हाकाहाकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *