fbpx

तिम्रो तस्वीर बोल्छ : अन्जना ताम्राकार

 

  • अन्जना ताम्राकार 

तिम्रो तस्वीर सामु डाँको छोडी रुन मन लाग्छ
तर छिमेकीले सुन्लान भन्ने डर लाग्छ

यो धर्ती नै त्याग्न मन लाग्छ
तर अरुले कायर शब्द जोड्लान् भन्ने पीर लाग्छ

सुस्तरी रुँदा पनि नयनको तरेलीबाट
झरेको आँसु हेरी तिम्रो तस्वीर बोल्छ नरुनु न  यस्तरी

नरुने हो भने आई देखाई देउन
हाँसु म कसरी ?

असह्य वेदना यो विछोडको
छाती भित्र ज्वालामुखी झैं फुट्छ
वर्षामा खहरे खोला झैं
नयनबाट अश्रुधारा भलभली बहन्छ

झरेको आँशु हेरी
तिम्रो त्यो तस्वीर बोल्छ नरुनु न यस्तरी
पीर व्यथा बिसाउँ म कसरी ?

एक झलक तिम्रो पाउन यो मन
बेचैन भई प्रतिक्षा गरिरहन्छ
आँखाका परेलीहरु छटपटी रहन्छ
निदरी यति कै हराई दिन्छ

ओभानो नयन हेरी तिम्रो तस्वीरले भन्छ
एकछिन त निदाउनु
निदाउने हो त आई सिकाई देउन
निदाउने म कसरी ?

घोच्छन् काँडा सरी यादका पलहरु
हृदय भरी बितेका ती मिलनका क्षणहरु
आगोको ज्वाला सरी छटपटी मन बल्छ
सूर्यको रापले पग्लेको हिउँ सरी
बग्छ अश्रृधारा यतिकै नयन भरी

सम्झनाको वाण पस्छ दिल भरी
न छटपटी हुन्छ घायल मृग सरी

तस्वीर तिम्रो बोल्छ
न छटपटाउनु न यस्तरी

देखाई देउन आई यो छटपटिको आगो
निभाउने म कसरी ?

सिरानीले भन्छ मलाई
सक्दैन अब तिम्रो आँशुको लहर थाम्न
ओछ्यानले भन्छ गाह्रो भयो
तिमी छटपटाएको हेर्न

तस्वीर बोल्छ तिम्रो
न तड्पिनु न यस्तरी

बाँचुं कति म पानीबाट उछिटिएको माछा सरी
सँधै भरी मिलनको आश गरी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *