fbpx

चोक्ते नारायण जात्रा

रेखा शाक्य

काठमाडौंको एक पुरानो ऐतिहासिक शहर हाँडीगाउँ, जसको पुरानो नाम “नर” । किराँती र लिच्छवीकालमा नै प्रख्यात नगर । यस नगरलाई सत्य युगमा “बिजयपुर” को नामले पनि जानिन्छ । यस नगरमा मनमहेश्वरी, गहनापोखरी, सत्यनारायण, धनगणेश, भाटभटेनी, टुँडालदेवीको साथमा अन्य देवदेवीहरुको मन्दिर अझै यथास्थानमा नै छ भने सत्यनारायण मन्दिरको तल उत्खनन् गरीएमा अझै पनि कैलाशकुट भवनको अवशेष पाइने कुरामा पुरातत्वविद् र स्थानीयवासीका बूढापाकाहरु यकीन गर्छन ।

यही शहरमा दशैं लगत्तै कौलाथ्व पूर्णिमाको भोलिपल्ट प्रतिपदाका दिन जात्राको रुपमा शुरु हुन्छ चोक्ते नारायण जात्रा । जनमानसमा नरनारायण जात्राबाट पनि चिनिन्छ साथसाथै यो जात्रालाई “कहीं नभाको जात्रा हाँडीगाउँमा” भनिन्छ । नेपाली जनजीवनमा कहीं नभाको जात्रा हाँडीगाउँमा भन्ने उखानको रुपमा प्रख्यात यस जात्राको आफ्नै महिमा अनि कथा छ ।

किंवदन्ती

परापूर्वकालमा हाँडीगाउँका एक राजाका महारानी गर्भवती अवस्थामा आफ्ना सखी जो गर्भवती थिइन, दुबै बच्चा ब्यथा हुँदाको पललाई लिई भलाकुसारी गर्दै थिइन । त्यतिखेर महारानीकी सखीले भगवान नारायणको कृपाले आरामले बच्चाको जन्म हुने कुरामा विश्वस्त रहेको कुरा बताइन भने त्यतिखेर नै महारानीले आवेशमा आई बच्चा जन्माउन आफूलाई कुनै भगवानको सहारा नचाहिने बताइन ।

प्रसवको ठीक समयमा महारानीको सखीले बच्चा जन्माइन भने उता महारानीको कुरा सुनी रुष्ट बनेका नारायण भगवानको कोपले महारानीलाई १२ बर्षसम्म पनि प्रसव वेदना शुरु भएन । तत्पश्चात, महारानीको मात्र नभई त्यस समयमा विजयनगरमा गर्भवती अवस्थाका कुनै पनि महिलाको प्रसव वेदना भएन ।

This slideshow requires JavaScript.

फलस्वरुप श्रृष्टिको नियम विपरीत हुँदा सम्पूर्ण देवलोकमा पनि यस बिषयमा चर्चा शुरु भयो । चिन्तित देवलोकका सम्पूर्ण देवताहरु तत्काल जोशीकहाँ गई समस्याको समाधान खोज्न जानु भयो । जोशीको कथन अनुसार भगवान नारायण विजयपूरका महारानीको कुराले आफ्नो अपहेलना भएकोले रिसाई हिमालय पर्वतमा तपस्यामा लीन भई बसेको कुराको ज्ञात भयो र वहाँकै कोपभाजनले विजयनगरमा सबैको प्रसव रोकिएको तथ्य कुरा सुनाउनु भएछ ।

तब समाधानको रुपमा नारायणलाई नेपालमण्डलमा ल्याउन सम्पूर्ण देवताहरु हिमालय पर्वतमा गई प्रभुलाई विन्ति भाव गरे । तर कुनै विन्तिभावको असर भगवानमा नदेखेपछि स्वयम् विश्वकर्माले आज सम्म कहीं नभएको खटमा बिराजमान गराउने र कहिं नभएको फूलमालाले त्यो खटलाई सजाई प्रभूलाई त्यहि खटमा बिराजमान गराई नेपालमण्डल सवारी गराउने प्रस्ताव सहित विन्ति भाव गर्याे । विश्वकर्माको यो कुराले नारायण स्वयम चकित भए र त्यो क्षणबाट बञ्चित हुन चाहेनन ।

नारायणको स्वीकृति पाएपछि स्वयम् विश्वकर्माले तीन तलाको गोलाकार खट, जसमा गजूर उल्टा राखी तल बाट दुईता डोरीको सहायताले घुमाउन मिल्ने स्वरुपको खट तयार ग¥यो । तलको दुईवटा डोरीलाई घुमाउँदा पृथ्वी घुमेसरी घुम्ने र खटको गोलाकारमा सेतो कपडाले ढाकी त्यसलाई हिमालय पर्वतको रुप दियो भने हरीयो धुपीले सजाई महाभारत पर्वतको स्वरुप झल्काइदियो । त्यस माथि त्यहि तीन तलाको प्रत्येक गोलाकारमा स्वर्ण फूल (पहेंलो मैनको एक प्रकारको फूल) बनाई सजाई दियो । जुन फूल कुनै लोकमा फूल्दैनथ्यो । खट तयार गरी विश्वकर्मा सम्पूर्ण देवदेवीको लावा लश्कर र बाजागाजासहित हिमालय पर्वत पुगी नारायणलाई लिन जानु भयो ।

विश्वकर्माको कलाकौशल र चलाखीपूर्ण कामले अति प्रशन्न भई भगवान नारायण त्यहि खटमा बिराजमान भई नेपालमण्डल सवारी हुनुभयो । तत्पश्चात १२ बर्ष सम्मको प्रसव वेदनाले बञ्चित त्यस नगरका नारीहरुले समयमै बच्चा जन्माइन भने पुनः श्रृष्टिको नियम सुचारु रुपले सञ्चालन भयो । यहि खुशीयालीमा त्यस नगरले त्यही दिनको सम्झनामा भगवान नारायणको विशेष सम्मान स्वरुप यो कहिं नभएको जात्रा हाँडीगाउँमा मनाउने परम्परा रही आएको छ ।

यसै जात्रालाई ब्रम्हा, बिष्णु उमामहेश्वरको जात्राको रुपमा पनि लिइन्छ । यस जात्राको बारेमा कुन तिथिमिति र कहिलेदेखि शुरु भएको भन्ने बारेमा यकिन साथ कुनै अभिलेख भेटिएको छैन । तर जात्रामा खटमा राखी सजाइने बिष्णुको मूर्तिमा भने ८३८ लेखिएको सम्म पाइएको छ तर त्यो पनि नेपाल संवत् वा अरु नै कुन संवत् हो खुलस्त छैन ।

कौलागा प्रतिपदाका दिन थतुटोल, न्यालमटोल र कोटलटोलमा तीनवटा खट सजाइन्छ । खट तयार गर्नु अघि सानो खट जसलाई मचाखः भनिन्छ त्यसमा लामो काठ ठड्याइन्छ त्यसपछि मचाखःलाई बीचमा पारी आठवटा बाँसलाई मिलाएर कोठा कोठा बनाई डोरीले बाँध्ने काम हुन्छ । यसरी नै तीनै खटलाई जात्राको लागी तयारी गरिन्छ । एक खटमा २४ जना सम्मले बोक्ने नियम छ । जुन जात्रा अवधिमा त्यहि २४ जनाले त्यही बाँसको खटमा बेरीएको खटलाई काँधमा बोकी नगर परिक्रमा गर्ने गरिन्छ ।

जात्राको शुरुमा पँय्ता खलकले प्वंगा नबजाइकन खट उठाउन नपाउने परम्परा छ तसर्थ विधिपूर्वक यो बाजा मूल खटको अगाडी बजाएपछि जात्रा शुरु भएको मानिन्छ । यस बाजाका अतिरिक्त धिमय्, बाँसुरी, बय्को साथमा बैण्डबाजा पनि बजाउने गरिन्छ । सबभन्दा पहिला थतुटोलको खट, त्यसपछि न्यालमटोलको अनि अन्तमा कोटलटोलको खट उठाइन्छ । तीनै खटलाई क्रमैसँग राखी तलको टोलबाट स्थानीयको पूजा लिंदै पुनः थतुटोलमा पुर्याइन्छ भने फेरी कोटलटोलमा लगिन्छ । यसरी तीन खट तीनपल्ट तीनै टोलमा परिक्रमा पछि जात्राको समापन गरिन्छ ।

उपत्यकाका अन्य नेपालीको दशैंचाड एकादशीको दिनमा घटस्थापनामा उमारेको एक प्रकारको फूल जसलाई नलास्वां भनिन्छ त्यसलाई आफ्नो मूल ढोकामा ल्याई विर्सजन गरी दशैं समापन गर्दछन भने यस नरका वासीन्दाले यही हाँडीगाउँको नरनारायणको जात्रामा मात्रै विसर्जन गरी दशैं चाडको पनि समापन गर्ने परम्परा रही आएकोछ ।

रेखा शाक्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *