fbpx

गुथि

गुथि शब्द संस्कृत भाषाको ‘गोष्ठी’ बाट अपभं्रशित भएको शब्द हो । गोष्ठीको अर्थ सभा वा समूह हो । सामूहिक उत्तरदायित्वको भावना समेटेर जुन व्यवस्थाको जन्म भएको हो, त्यसलाई नै कालान्तरमा गोष्ठी भनेर सम्बोधन गरियो । मानिसहरुको प्रारम्भिक अवस्थामा खेतकिशानी कामदेखि गाइबस्तु चराउने काम गरी जीवन निर्वाह हुन्थ्यो । यहि गाइ चराउने गोठालाहरु भेलाहुने ठाउँ (गोष्ठ)लाई गोष्ठी भन्न थालियो ।

पूर्व लिच्छविकालमा गाइचरणको बेला गोठालाहरु भेला हुने ठाउँलाई गोष्ठी भनिन्थ्यो । गोष्ठी शब्दको अर्थ विकास भइ एउटै उद्देश्य भएका मानिसहरुको एक ठाउँमा जम्मा भइ परस्पर सहयोग गरि काम गर्ने भयो । गोष्ठी शब्दबाट नै गुथि भएको हो । गुथिको पर्याय शब्द संघ हो । गुथिको शाब्दिक अर्थ समूह, सभा, सम्मेलन हो ।

गुथिको शाब्दिक अर्थ सभा वा सभा सदस्य (committee of Asembly and Member of Assembly) हो । कुनै काम सम्पन्न गर्नको निमित्त समान विचारधारा भएका मानिसहरु एउटै थलोमा बसी कुनै काम पुरा गर्नको निमित्त गठन भएको समूह नै गुथि हो । कमजोर, गरीव मानिसहरु संगठित भएर उनिहरुलाई बेला बेलामा आउने आपत् विपतमा सहयोग लिन बनाइएको संगठन नै गुथि हो ।

यसरी निश्चित काम पुरा गर्नको निमित्त समूहमा बसी आ–आफै काम गर्नको लागि स्थापना भएको मानिसहरुको समूह नै गुथि हो । पछि गएर निश्चित काम पुरा गर्नको निम्ति चाहिने संरक्षण, रेखदेख र लामो समयसम्म चाहिने स्रोतलाई ध्यानमा राखि जग्गा–जमिन राखि स्थापना गरिने समूहलाई गुथि भन्न थाल्यो ।

ई.पू. छैठौं शताब्दीमा बैशालीको लिच्छबी गणराज्यमा यसको अभ्यास भएको पाइन्छ । मगधले बारम्बार आक्रमण गरेर बैशालीलाई जित्न सकेका थिएन । कारण खोज्दै जाँदा बैशालीको लिच्छबी गणराज्यमा गोष्ठी परम्परा एकदमै दरिलो थियो । जसले सबैलाई एकजुट बनाइ राख्नमा मद्दत गर्दथ्यो । मगधको आक्रमणमा पनि बैशालीका लिच्छबी सबै एकजुट भएर सामना गर्दथे । यहि कुरा थाहा पाएर मगधका राजा अजातशत्रुले आफ्नो मन्त्री वर्षाकारतलाइ बैशलीको गोष्ठी परम्परा तोड्न लगाएर मात्र जीत हासिल गर्न सफल भएका थिए ।

बैशालीबाट नेपालमा शरण लिन आएका लिच्छविबाट नेपालमा पनि गुथि (गोष्ठी) परम्परा अगाडि बढेको देखिन्छ । लिच्छविकालमा धार्मिक काम निरन्तरता दिन भगवानको नाममा अक्षयकोषमा जग्गा राख्ने परम्परा सुरु भएको हो । जग्गाको आयस्ताबाट सामूहिक वा ब्यक्तिगत काम गरिन्छ । काम सामूहिक रुपमा सजिलैसंग सम्पन्न गर्नको निमित्त गुथि सञ्चालनमा आएको हो । लौकिक, धार्मिक र लोकपरोपकारी काममा गुथि प्रगाढ सम्बन्ध भएको पाइन्छ ।

नेपाली समाजमा धर्भमा श्रद्धा, आस्था र विश्वास राख्ने भएको गुथि स्थापना ग¥यो भने धर्भ कमाइने जनआस्थाले गुथि स्थापना हुन थाल्यो । गुथिमा जग्गाको व्यवस्था नेपालमा प्राचीनकालदेखि नं सुरु भएको देखिन्छ । त्योबेलादेखि यहाँ धार्मिक र लौकिक गुथि छ । यस्तो गुथिले देगल, विहार आदिलाई जग्गा छुट्याइको लिच्छविकालिन अभिलेखहरुबाट प्रष्ट हुन्छ । प्रत्येक ग्राममा पाञ्चाली (पंचायत)बाट स्थनीय प्रशासन र जनहितको काम गर्दछ भने गोष्ठीबाट धार्मिक, शिक्षा, स्वास्थ्य र लौकिक काम गर्दछ ।

गुठी (गोष्ठी) परम्पराले मध्यकालमा अझ व्यापकता लिएको देखिन्छ । देगल, धर्मशाला, विहार, सतल, फल्चा, हिटी जस्ता सांस्कृतिक स्मारक बढ्दै गएपछि गुठीको संख्या पनि बढ्दै गयो । विसं ५२१ मा चाँगुनारायण मन्दिरको अभिलेखमा मानदेव प्रथमको पालामा पहिलो पटक गुठीको बारेमा उल्लेख गरिएको छ । लिच्छविकालिन २०० वटा अभिलेखमध्ये ४८ वटा अभिलेखमा कहिं न कहिं गुथिको बारेमा उल्लेख गरिएको पाइन्छ ।

लेलेमा शिवदेव अशंवर्मा सम्वत् ५२६ को अभिलेखमा ब्राह्मणगोष्ठी, प्रदीप गोष्ठी, पानीय गोष्ठी, मल्लयुद्ध गोष्ठी, धूप गोष्ठी, इन्द्रगोष्ठी, बादित्त्र गोष्ठी, अच्र्चागोष्ठी, ध्वज गोष्ठी, फेरि गोष्ठी, अर्चनीय गोष्ठी आदि उल्लेख भएको र त्यसकालागि छुट्टै खेतको हिसाब राखेको पाइन्छ ।

गुथिका सदस्यहरुलाई गुथियार भनिन्छ । संस्कृत शब्द गोष्ठीभट्टारकबाट अपभ्रंश भइ गुथिभारो र गुथिभारो बाट गुथियार भएको हो । गुथि सञ्चालन हेतु गुथियारहरु मिलेर नियम कानून बनाइ त्यसको पालना गरेको पाइन्छ । केहिगरी कसैले उक्त नियम उल्लंघन गरेमा दस्तुर तिराउने पनि चलन छ ।

नेपालमा गुथि कमजोर हुनुको कारण

  • पृथ्वीनरायणबाट गुथिको जग्गा हरण गरी सेनालाई तलबको सत्ता जग्गा दिने गर्नाले
  • रणबहादुरको पालामा अंग्रेजसंग लडाँइ गर्न धन जम्मा पार्न गुथिको जग्गा हरण
  • राणाहरुको दरबार बनाउन गुथिको जग्गा हरण
  • २००७ सालपछि कुनै पनि स्कुल, कलेज, सरकारी भवन बनाउन गुथिको जग्गा हरण
  • २०२१ को भूमि सुधार ऐन बाट गुथिको जग्गा रैकरमा परिणत गरि विर्ता सरह बेचबिखन
  • गुथिको जग्गा कर्मचारीको मिलेमतोमा बेचबिखन
  • गुथिको जग्गा बेचेर आएको रकम अक्षयकोष नै बनाइ बैंकमा राखेर
  • गुथिको पैशा, जग्गा बढ्नुको सट्टा घट्दैजानु र गुथियारको संख्या बढ्दै जानु
  • विश्वविद्यालय, अस्पताल, औद्योगिक क्षेत्र आदी इत्यादीमा गुथिको जग्गामा निर्माण गर्नाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *