fbpx

खोकनाको सिकाली जात्रा -स्वस्थानीको कथा, अष्ट मातृका र देवी भागवतको कथामा आधारित

रेखा शाक्य

सम्पूर्ण नेपालीहरु दशैं आगमनको हर्षोउल्लासमा रमाउने क्षणमा नेवाः बस्तीको ऐतिहासिक महत्व बोकेको खोकनामा भने सिकाली जात्राका कारण वातावरण जात्रामय बनेको हुन्छ । कारण खोकनाको प्रसिद्ध सिकाली नाच ।

सिकाली देवी नै सिद्धकाली हो भने शिवशक्ती भएकी रुद्रायणी पनि हुन् । सिकाली जात्रा अन्तर्गत पर्ने भैरव जात्रा लिच्छवीकालीन शासन व्यवस्थादेखि नै गुथिको व्यवस्था रहेको विश्वास गरिएको छ भने रुद्रायणीको जात्रा राजा अमर मल्लको शासनकाल नेपाल सम्बत् ६३३ देखि यो जात्रामा नाचको पनि व्यवस्था गरिएको अभिलेख छ । यो जात्रा स्वस्थानीको कथा, अष्ट मातृका र देवी भागवतको कथामा आधारित रहेको छ ।

खोकनाको मूख्य देवताको रुपमा मानिन्दै आएको रुद्रायणी अजिमाको यो नाच वर्षमा दुईपटक नचाउने चलन छ । पहिलो आश्विन शुक्ल तृतीया देखि अष्टमीसम्म नचाइन्छ भने दोश्रो पटक कार्तिक पूर्णिमाको दिन नचाइन्छ ।

प्रत्येक वर्ष सिकाली जात्रा घटस्थापनाका दिनमा शुरु भई अष्टमीका दिनमा समाप्त हुने गर्दछ । सिकाली जात्रामा तान्त्रिक विधि अनुसार पूजा गरेर देवतालाई जगाउने गरिन्छ । खोकनामा धार्मिक जात्रापर्व सञ्चालन गर्ने धेरै गुठीहरु छन् तर रुद्रायणी जात्राको लागी विशेष तःगु, सलाःगु र जःगु गरी मुख्य तीनवटा गुठी यो नाचको लागी सक्रिय रहेका छन् ।

This slideshow requires JavaScript.

पहिलाे दिन

जात्राको शुरुवातमा गुठीका मूख्य थकालीबाट पूजा सामग्री लिई पहिलो दिन बिहान तःगु र सःलागु गुठीका चार जना कुमार केटा उपवास बसी बस्ती भन्दा पर सिकाली चौरस्थित सिकाली देवीलाई विधिपूर्वक नृत्य र गोप्य पूजा गर्ने चलन छ । पूजाका क्रममा चौरमा मानिस, चराचुरंगी र अन्य कुनै जीवजन्तु बस्न नमिल्ने मान्यता रही आएको छ । यही क्रम दोश्रो दिन पनि हुन्छ ।

तेश्रो दिन

तेश्रो दिन अर्थात तृतीयाका दिन गुठीयारहरु दिनभर व्रत बस्छन् । तीनवटै गुठीघरबाट तीनवटा राँगालाई ढोकासी चौरमा लगेर बलि दिइन्छ । बेलुकी पख बलि दिइएका ती राँगाको रगतलाई बोकेर सिकाली चौरमा चढाउन लगिन्छ । त्यसपछि बलि दिइएका राँगालाई गुठी घरमा प्रवेश गराइन्छ । गुठीयारहरुलाई राँगाको प्रसाद बाँडिन्छ र मासुसहितको भोज गरिन्छ ।

चौथो दिन

चौथो दिन तिनै चार जना कुमार केटाहरु सिकाली चौरमा गएर पूजाआजा गर्दछन् । प्रत्येक गुठीघर अगाडी एउटा राँगा काटिन्छ । गुठीघरमा राँगाको मासु पकाइन्छ र त्यसलाई सिकाली चौरमा लगेर खाइन्छ । राती गुठीघरमा वीरभद्र (घ्याम्पो देवता) प्रतिस्थापन गरिन्छ र प्रत्येक घरमा छ्वयला भु भोज खाइन्छ ।

पाँचौं दिन

पाँचौं दिन मुख्य जात्रा हुने दिन हो । त्यसदिन रुद्रायणी देवतालाई मन्दिर बाहिर निकालेर खटमा राखिन्छ । प्रत्येक घरबाट रुद्रायणीको पूजा गरिन्छ र भोज खाइन्छ । राती खटमा राखिएको ती देवतालाई बोकेर जात्रा गरिन्छ । देवतालाई सिकाली मन्दिरमा प्रतिस्थापन गरिन्छ । वीरभद्रलाई सिकाली मन्दिरमा लगिन्छ । यस दिन २४ घण्टासम्म जात्रा निरन्तर चलि रहन्छ ।

छैठौं दिन

छैठौं दिन सिकाली चौरमा सबै गुठीयारहरु भेला भई अश्वमेघ यज्ञमा सहभागी हुन्छन् । यज्ञमा सेती देवी होमिदा वीरभद्र र महाकाली जागी यज्ञ विध्वंस पारी सबै देवदेवतालाई वीरभद्र महाकालीले लखेट्ने द्दश्य देख्न सकिन्छ । यज्ञ पूजा समाप्तिपछि देवगणहरु सिकाली चौरमा रहेको पाटीमा ल्याइएका वस्त्र र मुखौटा धारण गरी सिकाली मन्दिर प्रस्थानको लागी तयार हुन्छन् ।

तत्पश्चात वीरभद्र, महाकालीका रुपमा देवता खलकलाई तान्त्रिक विधिबाट पूजा गरी एक कालो बोकाको बलि पश्चात बाजागाजाका साथ चौरबाट बीचमा (द्यः ल्हायेगु) नाच्दै सिकाली मन्दिर सम्म ल्याइन्छ । सो दिन जात्राको मूख्य आकर्षण भनेकै बाजाको तालमा दुई सहायकको साथमा देवगण हुने दौडिंदै उफ्रिन्दै सिकाली मन्दिर परिक्रमा गर्ने दृश्य हो जसलाई स्थानीयभाषामा “द्यः ल्ह्वंबाकेगु” भनिन्छ ।

यसरी ठाउँठाउँमा नाच्दै र “द्यः ल्ह्वंबाकेगु” गर्ने क्रम सकेपछि सम्पूर्ण मुखौटा निकाली देवगणहरु क्रमैसंग बसी भोज खाने गरिन्छ । सो क्रममा जात्रालुहरुलाई पनि प्रसाद खुवाइन्छ । सो प्रसाद खाँदै गरेको दृश्य हेर्दा पनि धेरै पुण्य प्राप्त हुने बुढापाकाहरु सुनाउँछन् ।
एवंप्रकारले भोज खाइ सकेपछि मुखौटा र गरगहनाहरु पिच्चामा राखी बोकेर लहरै सबैजना सिकालीको चौरबाट खोकनातर्फ प्रस्थान हुन्छन् । अन्तिममा तः गुठीघरमा रुद्रायणीको मूर्ति राखिन्छ ।

सातौं दिन

रुद्रायणी गुठीका ४६ जना देवता खलकका जवानहरुले देवताको बस्त्र धारण गरी तल्लो लाछीमा दिनभरी देवी नाच नाच्छन् । उक्त नाचमा महालक्ष्मीले महिषासुरको बध गरी खुशीयाली मनाएको लसता प्याखं का रुपमा लिइन्छ जुन जात्राको मूख्य आकर्षणको रुपमा लिइन्छ । त्यसदिन यतिमै जात्रा सकिन्छ ।

आठौं दिन
तः गुठीघरबाट मूर्ति बाहिर निकाली जात्रा गरिन्छ । रुद्रायणीको मूर्तिलाई रुद्रायणी मन्दिरभित्र पुनः प्रतिस्थापन गरिन्छ ।

नवौं दिन

अन्तिम दिन अर्थात नवौं दिन प्रत्येक घरबाट रुद्रायणी मन्दिरमा पूजाआजा गरिन्छ । देवगणहरु नाच्छन् । पूजाआजा गरिन्छ र भोज खाने गरिन्छ

यो जात्रामा जम्मा चौबीस नाच प्रदर्शन गरिन्छ जसलाई दुई भागमा बिभाजन गरिएको छ । यो जात्रामा द्यः खलकका ४६ जना, देवगण १४ जना, कां बाजा बजाउने ६ जना, नाय बाजा बजाउने ८ जना, जोगी ११ जना र अन्य सहयोगीहरु २८ जना छन् । यस नृत्य गुठीका गुठीयारहरु सबै ज्यापु जातिका छन् ।

नृत्यगर्ने देवगणहरु यसप्रकार छन् । १) रुद्रायणी, २) पार्वती, ३) महादेव, ४) गणेश, ५) कुमार, ६) भैरव, ७) शक्ति, ८) सिंहनी, ९) ब्यांघिनी, १०) नाग दुई जना ,११) कुमारी, १२) ब्रम्हायणी, १३) वैष्णवी १४) इन्द्रायणी १५) बाराही, १६) काली १७) हनुमान १८) महिषासुर १९) लाखे गण ।

नाचको मूख्य सार

यस नाचको मूख्य सार भनेको नै सत्य युगमा देवगणहरुलाई यक्षहरुले दुःख दिएको बेलामा भैरवले दैत्य कहाँ छ भनी खोज्दा महिषासुर लाई भेटाई युद्ध पश्चात मारिदिन्छ । र यक्षहरुको सर्वनाश भएको अवसरमा देवगणहरुको नाचेको भनिन्छ ।

यस नाचमा सबै गणहरुले जीवनभर जुंगा दाह्री र कपाल पाल्नुपर्ने, नृत्य चलुञ्जेल सेतो पगरी, जामा र भोटो लगाउनु पर्ने र जुत्ता लगाउन नहुने नियम छ जुन अहिले सम्म पनि यथावत नै छ ।

नेवाः समाजमा सिकाली नाचको नामले प्रसिद्धि पाएको खोकनाको रुद्रायणी नाचको आफ्नै अलग महत्वका साथ तान्त्रिक परम्परा र प्रभाव रही आएकोछ । अत्यन्तै परम्परागत यो नाचमा बौद्ध र हिन्दु दुवै धर्मको अस्तित्व परेको देखिन्छ ।

किंवदन्ती

खोकनाको विषयमा रहेको किंवदन्ती अनुसार एक पटक पचली भैरवका पुजारी ज्यापुलाई विषम ज्वरले थला पार्छ । विरामी ज्यापु मरेको ठानी सबैले दाहसंस्कार गर्न पचलीको चिहानमा लगेछन् । दागवत्ती दिनलाग्दा अचानक ठूलो हावाहुरी सहित घनघोर वर्षा भएकोले सबै चितामा राखेको आगोपनि निभेछन् । खोलामा बाढी आई त्यस ज्यापु पुजारीको लाश बगाएर लग्यो मलामी गएका गुठीयारहरु पनि भागेछन् ।

अचेत अवस्थाका ज्यापुको लाश बगेर टाढा तिरको खोलाको किनारमा पुगेछन् । पछि ज्यापुलाई होस आउँदा आफूलाई बेरी राखेको देखेर आफ्नो इष्ट देव ध्यानाचो माजुलाई पुकारेछन् । ध्यानाचो माजुले एउटी गाईको रुपमा ज्यापुलाई दर्शन दिइन् । ज्वरोको साथै भोक प्यासले तडपिएका ज्यापुलाई आफ्नै दुध खुवाएर बचाइन् ।

त्यसपछि गाई रुपी ध्यानाचो माईले आफ्नो वास्तविक रुपमा दर्शन दिंदै ज्यापुलाई सम्पूर्ण वृतान्त सुनाउँछिन । अब मरेको भनी चितामा राखेको मान्छे फेरी घर फर्किनु हुन्न बरु अब यहीं नयाँ बस्ती बसाउनु तिम्रो कल्याण हुन्छ भनेछन् । र आफू बौद्ध देवी भएता पनि शिवशक्तिको अंश रुद्रायणी हुँ भनी रुद्रायणीको वास्तविक रुप देखाएछन् ।

भगवानको साक्षात दर्शन पाएपछि ज्यापु देवीको पाउमा पर्छन् । देवी त्यहिं अन्र्तध्यान हुन्छिन् । जहाँ देवी अलप हुनु भयो त्यही नै सिकालीको पुरानो चौर हो । देवी यहीं सिद्ध भएकाले यसको नाम सिकाली चौर रहन गयो । खोकनाका ज्यापुहरुको कथनअनुसार पचली भैरवका ज्यापुले रोई रोई अर्थात ख्वःया ख्वःया आफ्नो ब्यथा सुनाएकोे र देवीको अनुग्रहबाट यहाँ बस्ती बसालेकोले यसको नाम खोना अर्थात खोकना रहन पुगेको हो भनिन्छ ।

रोचक प्रसंग 

खोकनाको बारेमा सुन्नमा आएको यो प्रसंग पनि कम रोचक छैन । परापूर्वकालदेखि खोकनावसीले कुखुरा पाल्ने गर्दैन । वास्तवमा कुरा के हो भने परापूर्वकालमा खोकनाको सिकाली मन्दिरबाट सिकाली देवीको मूर्ति चोरहरुले चोरेर लैजाँदै गर्दा कुखुरा बासेकोले तर्सेर ती चोरहरुले बिहानी नै भयो सबैले देख्लान भनी डराएर मूर्तिलाई लसुनबारीमा फालेर भागेछन् । कुखुरा बासेको र लसुनबारीमा फालिएकोले खोकनामा सम्मान स्वरुप आजसम्म न त कुखुरा पालिन्छ । न त कुखुराको मासु अण्डा खाइन्छ न त लसुनको बारी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *