fbpx

कुमारको पुजा आराधनासंगै सिथि नखः मनाउने चलन

रेखा शाक्य

चन्द्रमासको क्यालेन्डर अनुसार जेष्ठ शुक्ल षष्ठी (तछलाथ्व षष्ठी) का दिन मनाइने सिथि नखः पर्व सम्पूर्ण नेवारहरुले विशेष रुपले मनाइन्दैछ । यस पर्वलाई कुमार षष्ठीका नाममा सम्बोधन गरिन्छ ।

किपाः रेखा शाक्य

महादेवलाई त्रिविध स्वरुपको रुपमा लिने गरिन्छ । यौगिक, गणपति स्वरुप, र महांकाल स्वरुप । यी तीनै स्वरुपबाट नै महादेवलाई ब्रम्हस्वरुपको रुपमा लिएको ले नै गणाध्यक्षको मानी त्यसैको अंशबाट गणेशलाई देवगणनायक र कुमारलाई देवगणसेनापति भन्ने चलन पनि छ ।

षष्ठी अपभ्रंस भएर नेपालभाषामा सिथि हुन गएको भनाइ पनि रहेको छ । भगवान श्री गणेशका दाजु कुमारको पूजा आराधना गरिने सिथि कुमारको काठमाडौंको जोशी देवलको अगाडीको मण्डपमा तछलाथ्व तृतीयाका दिन बेलुकी सिथि देवता कुमारको महास्नान गर्ने परम्परा रही आएको छ ।

कुमार कार्तिकेय नामबाट पनि परिचित सिथि देवता महादेव र पार्वतीको ठूलो छोरा हो । जोशीदेवलको श्रेष्ठ थरका जातिहरुले चलाउँदै आइरहेको यस परम्परागत पर्व सिथी नखःको चार दिन अगाडी पूर्वको ललितपुर सिद्धिपुर (थसि) बाट पालोवाला नेमकुलहरु पुजारीको रुपमा आई देउतालाई पूजा गरि गाईको दुध र पानीले महास्नानको कार्य सम्पन्न गर्दछ ।

तत्पश्चात भोलिपल्टको दिनदेखि नै कोठामै राखी लँपु छायेगु अर्थात रंग लगाउने अर्थात कलेवर फेर्ने भनी देउतालाई पुनः रंगरोगन नेमकूलका पुजारीहरु स्वयं आइ पुरा गर्छन यो क्रम सिथिनखःको बेलुकी सम्ममा पुरा हुने गर्दछ । अरु देवताहरुको महास्नान पछि घाममा सुकाई रंगाउने काम गर्छन भने कुमार देवतालाई कोठामै गोप्य रुपमा राखी रंगाउने काम गरिन्छ ।

बेलुकी नै देवताघरको तलतिरको देवपाटीमा राजोपाध्यायको पुजारीले होमको साथै नौ कर्म पुजा विधि गर्ने परम्परा रही आएको छ । जब पुजाको आधि कर्मकाण्ड कार्य सम्पन्न हुन्छ तब सिथि देवतालाई पुनः देवपाटीमै आसनमा विराजमान गराई पुजाको सम्पूर्ण विधि पुरा गरिन्छ । पुजा सकेपछि भोलिपल्ट बिहानदेखि भक्तजनहरुको दर्शनको लागी त्यहि देवपाटीमा राखी राख्ने परम्परा छ ।

हजार वर्ष अगाडी देखि परम्परागत रुपमा संचालित यस पर्वको जिम्मेवार जोशी देवलका श्रेष्ठ थरका दुई दाजुभाईका खलकले मात्रै परम्परा धानिंदै आइरहेको आजको वास्तविकता रहेको छ । जात्राको लागी केही आयश्रोत नहुनुको कारणले यो जात्राले कतिखेर विश्राम लिने हो भन्ने कुरा जोशी दाजुभाइहरुको चिन्ताको विषय बन्दै आइरहेको छ ।

आज भन्दा ३८ वर्ष अगाडी आर्थिक व्ययभारको कारणले यस सिथि देवतालाई इन्द्रजात्राको रुटमा क्वने याः, थःने याः र किलागलमा समेट बाजागाजाका साथ घुमाइने परम्परा रहँदै आइरहेकोमा नायखिं बाजा बजाउने दम्पतिको निधन हुनु र वहाँका पुस्ताहरुले यसलाई निरन्तरता नदिनु पनि मुख्य कारण बन्न गएको कुरा स्वीकार गर्दछन बिष्णुलाल श्रेष्ठ र विजयलाल श्रेष्ठजी ।

पहिला पहिला यो जात्रामा नायखिं बाजाको साथमा खटलाई उठाउन १६ जना ज्यापु जातिका सदस्यहरु पनि सम्मिलित हुनुुपर्ने नियम रहेको बताउनु हुन्छ वहाँहरु । तर आजकलको वर्तमान स्थितिमा केवल यहि देवपाटीको अगाडी नै सानो खतमा राखी सर्वसाधारणले चित्त बुझाउनु परेको तितो सत्य नै यर्थाथ बन्न पुगेको छ ।

नेपालमा जात्रा पर्व संचालन गर्नेमा आफ्नै तरिकाको मौलिकता अनि महत्व त हुने गर्छ नै । तसर्थ सिथि नखः अर्थात कुमार पर्वको पनि आफ्नै महत्व रह्यो नै । महादेव र पार्वतीको ठूलो छोरा कार्तिकेय, गणेश भगवानको ठुलो दाजु पनि हो । एकदिन दुबैमा सबभन्दा बुद्धिमानी को भन्ने प्रसंगमा महादेवले दुबैको परिक्षा लिने प्रसंगमा सुमेरु पर्वतको तीन चक्कर जसले पुरा गर्छ उही अधिक बुद्धिमानी ठहरिने र शुभदिनको शुभप्रारम्भ पूजापनि उसैको पूजाबाट शुरु हुने शर्त राख्दछन् ।

दुबैले सहर्ष पिताको शर्त मानेर अगाडी बढ्छन । उता कुमार मयुरको बाहनमा सुमेरु पर्वतको चक्कर लगाउन अगाडी बढ्छन भने यता चलाख गणेश मुसेको ढाडमा चढि मेरो लागी सुमेरु पर्वत भनेकै मातापिता हो भन्दै महादेव पार्वती विराजमान शिलाको तीन चक्कर लगाई आफ्नो बुद्धिको नमूना प्रमाणित गर्दछन । उता कुमार सुमेरु पर्वतको चक्कर पूरा गरी हस्यांग फस्यांग गरी आउँदा मन्द मुस्कानमा आफूभन्दा पहिला नै गणेश मातापिताको काखमा बसि आनन्द प्राप्तिमा तल्लिन रहेको देख्छन् । आश्चर्य चकित कुमारले कसरी आफू भन्दा पहिला गणेशले सुमेरु पर्वतको तीनचक्कर पूरा गर्यो जबकी बाटोमा आफूले गणेशलाई कहिं नभेटेको साथै नदेखेको कुरा सुनाउँछन् ।

कुमारको कुरा सुनेर मन्द मुस्कान सहित मातापिताले गणेशको चतुराईं र उसको तीक्ष्ण सोचबारे कुमारलाई अवगत गराउँछन् । मातापिताबाट गणेशको कथन सुनेपछि कुमार निराश बन्न पुग्छ । तब पिता महादेव कार्तिकेयको यस्तो स्थितिबाट दुखित हुँदै कुमारको मन राख्न गणेशको पुजा भन्दा अगाडी हर घरका सदस्यले मूलढोका अगाडी जमिनमा पूजा गर्नु पर्नेछ र त्यही विना मूर्तिको प्रतिकलाई नै कुमारको प्रतिकको रुपमा सबैले याद गर्नेछ भनी यो उदगार बोलेछन् । महादेवको वाणीको महत्व नै हो हामीले आज सम्म पनि गणेशको पूजा गर्नु अगावै मूल ढोकाको सामुन्ने खाली जमिनमा कुमारको प्रतीक मानी पुजा गर्ने परम्परा छ ।

यस देउताको बारेमा अर्को एक कथन पनि रहेको देखिन्छ । एक दिन कुमार बलम्बुबाट यता शहर घुम्न आउनु भएको बेला बाटो भुलि यताउता भत्किंदै अगाडी बढ्ने क्रममा यस जोशी देगल अगाडी पुगेको र यही रहेको भन्ने पनि सुनिन्छ । त्यसैले सिथि पर्वको भोलिपल्ट बलम्बुबासीहरु बाजागाजाका साथ यहाँ आई कुमारको दर्शनार्थ पुजा गर्न आउने परम्परा आजसम्म यथावत रहेको पाइन्छ ।

साथै यसैदिनमा उपत्यकाका नेवारहरु जसको दिवालीको निश्चित दिन रहेको हुँदैन वहाँहरुले त्यहि दिनलाई दिवालीको शुभसाइत संझी आफ्नो परिवारको साथमा दिवाली मनाउने अनि भोज खाने परम्परा पनि रही आएकोछ भने यसैदिनमा आफ्नो घरको सदस्यको दिवंगत आत्माले चीर शान्ति प्राप्त गरोस र मुक्ति पावोस भन्ने हेतुले १०८ दिप प्रज्वलन गर्न आउनेहरुको भीड पनि हेर्न लायकको हुनेछ ।

This slideshow requires JavaScript.

जात्रा भन्ने वितिक्कै हर नेपालीको मन आकर्षित हुनु आजको परिवेशमा कुनै नौलो विषय नहोला तर यो जात्रामा स्थानीय र आसपासका हरुमात्रै आउनु र खासगरी बलम्बुकाहरुमात्रै बाजागाजाका साथ आउनुमा कथनमा सुनिएको कुराले झैं बलम्बुबासी दर्शनाहेतु आइरहनुको पछाडी लुकेको कुरालाई अध्ययन अनुसन्धान गर्नु जरुरी देखिन्छ ।

हुनत कुमार पर्व कसले कति सालमा चलाउँदै आएको भन्ने कथन कुनै शिलालेख र भोजपत्रमा समेत आफूहरुले नदेखेको कुराका जानकारी दिनुहुन्छ श्रेष्ठथरका यी दुई जिम्मेवार खलक । यस कुमारको खटमा वि.सं १९९९ मा आलुवः महारानीद्वारा धातुको गजूर चढाइबक्सेको भन्ने लिखित छ । गएको साल कुमारको आसन एकदमै पुरानो भएकोले त्यसलाई नयाँ बनाई सुसज्जित बनाएको थियो ।

अरु देवताको महानता र विशेषता भए झैं यस कुमार देवताको पनि ठूलो महिमा रही आएकोमा स्थानीयवासी आजसम्म पनि विश्वास गर्दछन । कसैको मुद्दा मामिला धेरै लामो विवादमा अल्झिरहेमा, कोहि कसैको परदेशबाट कुनै सम्पर्क नभएमा, नफर्किएमा, कोही कसैलाई रोगब्याधिले सताउँदै गरेमा, र कसैको आयु छोटो भएमा देवताको विशेष पालामा एक भिताको बाती बाली दिएमा उसको आयु लम्बिने जस्ता कुराको महिमा रही आएको सत्यतथ्य कुरा बुढापाकाहरुबाट सुन्न सकिन्छ । साही दिनको साँझमा पुनः कुमार देवतालाई गुथिका सदस्यहरुले पुजाविधि पुर्याइ लसकुस गरी पुन देवघरमा नै लगि पर्वको समापन गरिन्छ र लगतै करीब एक महिना सम्म नेवार समाजमा कुनै जात्रा पर्वको थालनी हुँदैन ।

हुन त हामीले आज सम्म देखिने र पुजिने देवताहरु अक्सर प्रश्तर, धलौट पित्तल र सुन चाँदिले मोलिएको र पत्थरको हुने गर्दछ भने यो कुमार देवताको विशेषता भनेको काठबाट निर्मित नै हो । र अचम्मको कुरा यो देउताको मूर्तिमा कुनै खोट रहेको छैन । काठमा कीरा पर्नु कुनै अनौठो होइन तर यो मूर्ति आज सम्म सुरक्षित रहनुको कारण पनि पहिल्याउन सके अन्य काठका मूर्तिहरुलाई पनि संंरक्षण गर्न सकिने कुरामा विमत नहोला ।

हुनत जात्रा पर्व नेवारहरुको मौलिक पर्वकै पेवा हुन् । अक्सर जात्रा पर्व भन्ने वित्तिकै कुनै देवदेवीसंग जोडिएर नै आउने गर्दछ । त्यस्तै नेवारहरु अनेक परिकार बनाई खाने विषयमा पनि धर्म कर्म संग जोडिएरै मनाउने चलन छ । यहि प्रसंगमा सिथि नखः पनि आउने गर्छ । यो पर्व मनाउने तीन चार दिन अगावै घरको कुनाकाप्चा देखि सफासुग्घर गरिन्छ । बुढापाकाहरु भन्ने गर्छन गथांमुगः पर्व छोरामान्छेको पर्व हो भने सिथि पर्व छोरीमान्छेको पर्व । यो वर्षकै अन्तिम पर्वको रुपमा लिने पर्व पनि हो भने गथामुगः वर्षको पहिलो पर्व शुरु हुने संकेतको रुपमा लिने गर्दछ ।

यो पर्व मनाउने दिनमा अनेक परिकार बनाउने क्रममा विशेष गरी मासको, मूगी, केराउ, चतामरी (चामलको पिठोबाट बनाउने रोटी), स्यूला मरी (गहुँको पिठोबाट बनाउने रोटी) आदि परिकार बनाउने परम्परा रही आएको छ । साथै जसको दिवाली मनाउने खास दिन हुँदैन ती सबैले दिवाली मनाउने दिनको रुपमा पनि लिने गरेको पाइन्छ । यसबाट पनि समाजमा सबै जना मिलेर जात्रा पर्व मनाउने संदेश दिंदै आइरहेको भान हुन्छ । साथै यसै दिनमा टोलवासीहरुले बहाल बहीलका साथै आफ्ना टोलमा रहेका इनार, वा अन्य पानीको मुहान, पोखरी, मंगाल, पत्थरको पानी राख्ने भाँडो (जरुं) आदि इत्यादी सफा गर्ने गरिन्छ ।

जेष्ठको लगत्तै असार महिना शुरु हुने हुनाले खेतबारीमा धान रोपाई शुरु हुने हुनाले पनि पानीको राम्ररी निकास होस भनी यस प्रथाको शुरुवात भएको हो की भन्ने लाग्दछ । इनारमा नागराजको पूजा गर्नाले नागराज खुशी भई पानी पर्नाले खेतबारीमा रोपाईं गर्न सजिलो हुन्छ भन्छन् बुढापाकाहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *