fbpx

कन्हेहोल चोकको नासःद्य मन्दिर र पुनर्निर्माण

अरुणा नकर्मी 

हाल प्रचलित मल्लकालिक हनुमानढोका दरबारको नाम गुनपो, गुतपो, लायकू दरबार थियो । राजा प्रताप मल्लले वि.सं. १७२९ मा दरबारको मुख्य ढोका अगाडि हनुमानको मूर्ति स्थापना गरेपछि यस दरबारले हनुमानढोका दरबारको रुपमा प्रशिद्धि पाएको हो । वि.सं. १९९० को महाभूकम्पअगाडिसम्म हालको नेपाल बैंक र विशाल बजार रहेको स्थानसम्मको क्षेत्र यस दरबारको क्षेत्रभित्र पर्दथ्यो ।

जुद्ध सडकको निर्माण पछि धेरै ठाउँहरु दरबार क्षेत्रबाट छुट्टिन गएको देखिन्छ । हाल विद्यमान चोकहरुमा मोहनकाली चोक, सुन्दरी चोक, नासः चोक, दाख चोक, वायु चोक, कन्होल चोक, मूल चोक, त्रिशूल चोक, भण्डारखाल चोक, लोंह चोकमा नासः चोक सवभन्दा ठूलो चोक हो । यस चोकको पूर्वको भित्तामा नासः द्यः (नाट्येश्वर)को सानो मन्दिर छ ।

नासः चोकको पश्चिमतिर रहेको राणाकालिक भवनको ठूलो ढोकाबाट प्रवेश गरी दाख चोकमा पुग्न सकिन्छ । दाख चोकको पश्चिम तर्फ वर्गाकारको कन्हेहोल चोक (आजभोलि यो मसान चोकको नामले चिनिन्छ) मा नासः द्यको सानो मन्दिर रहेको छ ।

मन्दिरको सानो घण्टामा अंङ्कित वि.सं. १७७२ को अभिलेखमा कन्हेहोल चोकको नासःद्य (नाट्येश्वर) लाई सो घण्ट चढाएको कुरा उल्लेख छ । राजा जयप्रकाश मल्लको वि.सं. १८१३ फागुनमा मन्दिरको पुरानो डवली जीर्ण भएकोले सुनको नयाँ डवली बनाई नासःद्यलाई चढाएको उल्लेख पाइन्छ ।

मल्लकालिक मानिने वि.सं. १८०१ भाद्र को ठ्यासफुमा यस कन्हेहोल चोकमा उषाहरण नामक नाच खेलाइएको कुराको चर्चा परेको छ । साथै समय समयमा यस चोकस्थित नासःद्य (नाट्येश्वर) सामुन्ने बारम्बर नाच देखाउने गरिन्थ्यो । यस प्रशंगमा मन्दिरका थामहरुमा भएका विभिन्न देवदेवीहरुले संगीत, नाट्यका उपकरणहरु बजाईरहेको र नाचिरहेको आकृतिले चोक स्थित मन्दिर नासःद्य (नाट्येश्वर) मन्दिर नै हो भन्ने बुझिन्छ ।

This slideshow requires JavaScript.

यस कन्हेहोल चोक स्थित नासःद्य मन्दिरको पश्चिमतिर मसानघाट रहेको भन्ने बुझिन आएको छ । उक्त घाटमा मल्लकालमा राज परिवारको मृत्यु संस्कार गरिन्थ्यो । यस चोक भित्र नासःद्य मन्दिरको दायाँ बायाँ गरी दुईवटा इनारहरु रहेका छन् । जस मध्ये एउटा देगुतलेजु मन्दिरको नित्य पूजा आजाका लागि प्रयोग हुने र अर्को इनारमा अस्तु सेलाइन्थ्यो भन्ने भनाइ रहेको छ ।

यहाँ रहेको इनारको संगम विष्णुमती नदी सम्म भएको र यहाँ सेलाइएको अस्तु विष्णुमती सम्म पुग्थ्यो भन्ने कथन रहेको छ । यस कुराको प्रमाणित तथ्यका निम्ति उत्खनन नै एक मात्र प्रभावकारी कदम हुन सक्छ । साथै उक्त चोकमा करवीर फूलको बोट रहेको र करवीरको बोट श्मसान घाटमा मात्र पाइने भएकोले पनि यस चोकलाई मसान चोक भन्ने गरेको देखिन्छ ।

कन्हेहोल चोकमा रहेको नासःद्य मन्दिर (नाट्येश्वर)ले राज परिवारको संगीत प्रतिको आस्थालाई पनि दर्शाउँछ । यहाँको वास्तुकला पनि यस मन्दिरको महङ्खवको परिचायक बनेको छ । मन्दिरको थाममा भएको कलामा देवदेवीले संगीतका उपकरणहरु बजाइरहेका र नाचिरहेका आकृतिले पनि नासःद्य को महत्वलाई प्रस्तुत गर्दछ ।

मल्ल राजकुलमा कवीन्द्र जय प्रताप मल्ल भनी राजा प्रताप मल्लले आफूलाई कवि(साहित्य) का इन्द्र नै कहलाएका थिए भन्ने कुराको प्रमाण हामीसँग धेरै छन् । संगीतका सौखिन हुनुका कारण नाटकमा आफै नृसिंहको रुपमा खेलेको र सपनामा नृसिंहले दर्शन दिएपछि नृसिंहको मूर्ति स्थापना गरी क्षमा याचना गरेको वर्णन थ्यासफूमा पाइन्छ ।

नेवार समाजमा भने नासः द्यःको परम्पराको इतिहास खोतल्दा लिखित दस्तावेजले निश्चित तिथिमिति यकिन गर्न नसकिए पनि परापूर्व काल देखि नै संगीत नाचगान गर्ने चाडपर्वले यसको ऐतिहासिकतालाई बुझ्न सकिन्छ । तात्कालीन समयमा नेवार समाजमा भएको साँस्कृतिक चाडपर्वमा नाचगानको विकास उच्च अवस्थामा थियो ।

यस समाजमा भएका अनेकौं थरीका नृत्य देखि थरीथरीका प्रचलित बाजागाजा जस्तै धाःबाजा, पेता बाजा, धिमे बाजा जस्ता अनेकौ थरीका बाद्य सामाग्रीहरुले यस कुरालाई अझै प्रष्ट्याएको छ । कुनै पनि नाट्य, संगीत, बाद्यवादन विधाको कार्य शुरुवात गर्दा नासःद्यको पूजा आराधाना गर्ने चलन पनि अद्यावधि नै छ ।

नासःद्य मन्दिरको आकार सानो नै भएपनि यसले विशेष महत्व बोकेको छ । मन्दिरको चारैतिर साना ठूला गरी जम्मा आठ वटा काठका कलात्मक थामहरुमाथि मन्दिर निर्माण भएको छ । मन्दिरको उत्तरतिर फर्केको लम्बाई,चौडाई र उचाई क्रमशः  ८’६’/८’६’/२१’८ भएको दुई तले छाने शैलीमा निर्माण भएको छ ।

यस मन्दिरको तिनैतिर खुला र पछाडिको भागमा गाह्रो बनेको छ । यस गाह्रोमा नासः द्यःको प्रतिकात्मक नासः प्वाल रहेको छ । यस स्थानमा सानो डवली र डवलीको चारैतिर कलात्मक थामहरु राखिएका छन् । मन्दिर अगाडिको दायाँ थामको दक्षिण भागमा आठ हाते नृत्य मुद्रामा गणेश मूर्ति कुँदिएको छ ।

मूर्तिका हातहरुमा अक्षयमाला, भाला , अंकुश, पाश, मुला, लड्डु, अभयमुद्रा छन् । थामको पूर्वतिरको भागमा देव आकृतिमा चार हातहरुमा त्रिशुल, डमरु र हातले पेताः बाजा (पंच ताल) बजाई रहेको देखिन्छ । थामको दक्षिण तर्फको भागमा भेडाको मुखाकृति जस्तो देखिने मूर्ति रहेको छ ।

चार हातहरु मध्ये दायाँ तर्फका एक हातमा बाण, अभयमुद्रा र दायाँ तर्फका एक हातमा धनुष र अर्को हातले मृदङ्ग बजाउन लागेको देखिन्छ । थामको पश्चिम भागमा नारी मूर्तिमा दायाँहात कम्मर र बायाँहात शिरमा राखी नृत्य प्रस्तुत गरिरहेको देखिन्छ ।

मन्दिरको बायाँतिरको अगाडिको दक्षिणतर्पm तीन शिर भएको देवाकृतिको चार हातहरुमा त्रिशूल, डमरु, पास, घण्टा र दुई हातहरुमा अग्नि ज्वाला लिएको देखिन्छ । थामको पूर्वतर्पm उभिएको घोडा आकृतिको दुई हातले वय वाजा (मुरली जस्तै अगाडी ठाडो पारेर बजाइने) लिएको देखिन्छ ।

घोडा सूर्यको बाहन भएकोले घोडाले सूर्यदेवलाई आह्वान गरेको देखिन्छ । थामको दक्षिणी भागमा चार हात भएको हनुमान आकृतिमा दुई हातले छुस्या र अर्को दुई हातले धाःबाजा (ढोलक) बजाउन लागेको देखिन्छ भने थामको पश्चिम भागमा शरभ मुखाकृति भएको मुूर्तिको हातहरुमा डमरु, त्रिशूल, चन्द्र हंस, पास र दुई हातले दमाहा वजाउन लागेको देखिन्छ ।

मन्दिर भित्रको दायाँ तर्फ कलात्मक थाममा उत्तर भागमा नृत्य मुद्राको आकृतिमा माथितिरको दुई हातले छुस्या बजाउन लागेको देखिन्छ भने अर्को दुई हात विन्दु मुद्रामा देखिन्छन् । थामको पूर्व तर्फकाे भागमा नृत्य मुद्रामा पेताःबाजा वजाउदै र अन्य दुई हातहरुमा डमरु र गदा जस्तो देखिने आयुध लिएको देखिन्छ ।

थामको पश्चिम तर्पmको भागमा गरुड आकृतिको मूर्ति छ भने मूर्तिमा गदा, अक्षय माला, खड्ग, पाश र दुई हातले बाँसुरी बजाउन लागेको जस्तो देखिन्छ । गरुड नारायणको बाहन भएकोले नारायणलाई नै आह्वान गरिरहेको जस्तो अनुमान गर्न सकिन्छ । मन्दिरको भित्री भागको बायाँ कलात्मक थाममा अरु तीन थामहरु मध्ये पुरानो देखिने यस थामको पश्चिम तर्पm उत्तर फर्केको हात्तीको आकृतिमा दुई हातले कांहा बाजा बजाइरहेको देखिन्छ ।

हात्ती इन्द्रको बाहन भएकोले कांहा बाजा बजाई इन्द्रलाई आह्वान गरेको बुझिन्छ । थामको उत्तर तर्फको भागमा सिंह जस्तो आकृतिमा चार हातहरुमा डमरु, त्रिशुल, पाश देखिए तापनि एक हातमा आयुध स्पष्ट देखिदैन । थामको पूर्व तर्फको भागमा मयूरमा चढेको कुमारको चार हातमा अक्षय माला, त्रिशूल, अभय मूद्रा र एक हातमा कर्नाल रहेको देखिन्छ । मन्दिरको भित्री भागमा साना–साना दुई कलात्मक पुराना थामहरु पनि रहेका छन् ।

हरेक मन्दिरहरुमा एक तह मात्र मेथको प्रयोग गरिन्छ भने यस नास द्यः (नाट्येश्वर) मन्दिरमा दुई तहको मेथको प्रयोग गरिएको छ । मन्दिरमा राखिएका ढलिं ख्वाःहरुमा मानव र पशुपंक्षीका आकृतिहरु बनाइएका छन् भने ढलिं ख्वाःको विच विचमा विभिन्न चराहरु र फूलबुट्टाहरु बनाइएका छन् ।

मन्दिरको तिनतिरको निदालमा मयूर र पूmल बुट्टाका आकृतिहरु रहेका छन् । मन्दिरको दुबै तलाको चारैतिर एक–एक वटा कलात्मक काठका झ्यालहरु र दुइ तले झिंगटीको छानामाथि सानो गजूर राखिएको छ । काठका थाम, मेथ, निदाल, झ्यालहरु कलात्मक भए तापनि टुँडालहरु भने सादा राखिएका छन् ।

विगतमा मन्दिर जीर्णोद्धार कार्य गर्दा परिवर्तन भएको हुन सक्दछ । मन्दिरको अगाडितिर भुईमा चारपाटे ढुंगामा षटकोण चिन्ह भएका ३५ वटा ढुंगाहरु राखिएका छन् । यी ढुंङ्गाहरु अस्थायी किसिमले ओछ्याई राखिएका छन् । नासः द्यःको तान्त्रिक पूजा गर्दा यी ढुंगाहरु विभिन्न कोणमा राखी पूजा गरिन्थ्यो कि भन्ने अनुमान गर्न सकिन्छ ।

हाल यस मन्दिरको नित्य पूजा र विशेष पर्वपूजा हुने गरेको छ । हरेक मन्दिरहरुमा मूल ढोकाको दायाँबायाँ एक जोडी सिंह राखिएका हुन्छन् भने यस मन्दिरमा चारै कुनामा जोडी सिंह राखिएका छन् । मन्दिरको अगाडि शिलाको मण्डप आकृतिको आसनको विचमा मानव आकृतिको टाउको र चार कुनामा सिंहको आकृति भएको शिलाफलक रहेको छ ।

उक्त शिलाफलकको अगाडि पट्टि हेर्दा गजुर जस्तो देखिने शिला यन्त्रको चारै कुनामा मानवको टाउको आकृति बनाइ राखेको छ । यसर्थ यो मन्दिर सानै आकारको भएपनि तान्त्रिक विधिबाट निर्माण गरिएको देखिन्छ ।

यस मन्दिरको विभिन्न समयमा मर्मत संभाररजीर्णोद्धार हुदै पुनः निर्माण समेत भएको छ । २०३३ सालमा प्रकाशित हनुमानढोका राज दरवार पुस्तक अध्ययन गर्दा त्यतिवेला यो मन्दिर भत्केको अवस्थामा रहेको उल्लेख भएको छ । त्यसपछि यो मन्दिरको जीर्णोद्धार राजा वीरेन्द्रको शासनकालमा हनुमानढोका दरवार हेरचाह अड्डाबाट वि.सं. २०४४(४५ सालतिर गरिएको बुझिन आएको छ ।

त्यसपछि भने हनुमानढोका दरवार संग्रहालय विकास समिति स्थापना भइसकेपछि यस विकास समितिले २०७०र०७१ मा जीर्णोद्धार कार्य गरेको बुझिन्छ । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले यो मन्दिरलाई पनि क्षति पु¥यायो । । तत्पश्चात मन्दिरलाई जमिन सतह देखि नै पुनः निर्माणको कार्य सम्पन्न गरियो । पुनः निर्माण गर्ने क्रममा सम्भव भए सम्म पुराना थामहरु र केही मेथहरु पुनः प्रयोग गरिएका छन् । पुरानो पुनः प्रयोग गर्न सकिने अवस्थामा नरहेका थाम÷मेथहरु पुरानै नाप, नक्शा, डिजाईनमा बनाई जडान गरिएको ।

यसरी परम्परादेखि समय समयमा गरिने मर्मत संभार÷जीर्णोद्धार र पुनः निर्माणका कार्यहरु गर्दा परम्परागत प्रविधि र प्राचीन मौलिक स्वरुपलाई कायम राखी पुनःनिर्माण कार्य गर्नु पर्दछ भन्ने कुरा विगतका दिनहरुमा कमै मात्र ध्यान पु¥याइएको देखियो ।

यस मन्दिरमा सादा टुँडालहरुको प्रयोगले यसको प्राचीन मौलिकता गुमेको देखिन्छ । साथै मन्दिरमा प्रयोग भएका कलात्मक काठका थामहरु भित्र सिमेन्ट र बालुवाको मसला कोची जडान गरेको पाइयो । यसरी सिमेन्ट बालुवाको मसला काठका थाम भित्र कोच्दा काम लाग्ने भागलाई समेत क्षति पु¥याई पुनः प्रयोग गर्न सकिने अवस्था नभएकोले पुरानै नापनक्सामा नयाँ थामहरु बनाई जडान गरिएको छ । यसरी पुरानै स्वरुपमा नयाँ जडान गरी थामहरुको मौलिक कलालाई त बचाइयो तर त्यसको प्राचीनताको मूल्य भने घट्न गयो ।

यसरी कुनै पनि सांस्कृतिक, धार्मिक सम्पदाको जीर्णोद्धार कार्य गर्दा त्यसको मौलिकताका साथै त्यस सम्पदासंग जोडिएका धार्मिक आस्था एवं मूल्य मान्यतालाई समेत ध्यान दिनु जरुरी देखिन्छ । जीर्णोद्धार÷पुनः निर्माण कार्य गर्नु पूर्व नै त्यस सम्पदाको विस्तृत अध्ययन, अनुसन्धान, नापनक्शा, डिजाइन आदि ईत्यादी तयार गरी चरणबद्ध योजना बनाई कार्य गर्दा प्रभावकारी हुने देखिन्छ ।

यस कार्यका लागि जारी ऐन, नियम, मापदण्ड निर्देशिका, कार्यविधि भित्र रही नियम संगत सम्पदाको संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्दै जाने आजको आवश्यकता हो । साथै सम्बन्धित निकाय संघ÷संस्थाको दायित्व समेत हो । साथै जीर्णोद्धार पुनःनिर्माणका कार्यहरु गर्दा परम्परागत पुस्तौं देखि यस क्षेत्रमा कार्य गर्दै आएका अनुभवी शिल्पी कलाकार एवं दक्ष कालिगढहरुको सीप र अनुभव समेत प्रयोग गर्नु जरुरी छ । परम्परागत प्रविधिलाई जोगाई भावी दिनहरुका लागि दक्ष कालिगढी र शिल्पी कलाकारहरु पनि तयारी गर्दै लैजानु आजको आवश्यकता हो ।

लेखिका अरुणा नकर्मी हनुमानढाेका दरबार संग्राहलय विकास समितिका कार्यकारी निर्देशक हुनुहुन्छ । याे लेख लेखिकाकाे अनुमतिमा पुननिर्माण विशेषांक स्मारिका – २०७६ बाट साभार गरिएकाे हाे । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *