fbpx

काष्ठमण्डपको पुनःनिर्माण : सम्पदा अभियान र राजनीतिको किचलो

 

राजेन मानन्धर

नामै काठमाडौं, त्यसको पनि राजदरवार परिसर । सुन्दर नहुने त कुरै भएन । कला र संस्कृतिका पारखीहरु राजा हुन्थे । यहाँका जनतालाई खानलाउनलाई कुनै समस्या थिएन, त्यसैले कलाकृति बनाउने, सिंगार्ने अनि विद्वान पण्डितहरु पनि कलाकृतिहरुलाई धर्म र संस्कृतिसँग जोडेर जीवन्त बनाउँथे ।

यहाँ तलेजु लगायतका दरवारभित्रका कैयन मन्दिरहरु, कालभैरव, पशुपति, मन्दिर, जगन्नाथ, माजुदेवल, श्वेतभैरव आदिका मन्दिरहरु ठुलो कालान्तरमा थपिए । ती मध्ये नेपालमै अरु कुनै संरचनासँग नमिल्ने काष्ठमण्डपको बेग्लै महत्व छ ।

गोरखाका राजा पृथ्वी नारायण शाहले काठमाडौं जितेपछि उनले आफ्नो राजधानी किन काठमाडौं सार्नुको कारण उनले जितेका कुनै पनि राज्यमा यहाँ जस्तो भव्य कलाकौशल र वास्तुकला कतै नभएर हो । यसले पनि देखाउँछ, काठमाडौंको सम्पदाको कति महत्व छ भनेर । अब यही काठमाडौंलाई काठमाडौं भन्ने नाम दिनसक्ने एउटै मात्र संरचना यहाँ थियो, त्यो हो काष्ठमण्डप । यस लेखमा यसै संरचनाको कुरा गरिने छ ।

२०७२ बैशाख १२को काहाली लाग्दो भूकम्पले हाम्रो पुस्तालाई यो अद्वितीय स्मारकलाई पुनःनिर्माण गर्ने जिम्मेवारी दिएको छ । सयौं सयौं वर्षमा एकपल्ट यस्तो जिम्मेवारी आउँछ, मानेमा यो भाग्य हो, नमानेमा यो भार हो ।

काष्ठमण्डप के हो?

यो कुनै धर्म सम्प्रदाय वा समुदाय विशेषको मन्दिर वा अन्य कुनै आराधनास्थल होइन । यो मात्र कला र वैभवले भरिएको काठमाडौंका जनताहरुको उत्कृष्ट, अद्वितीय र अद्भुत सिर्जना हो । हरेक मन्दिर एउटा धर्म र सम्प्रदायसँग सम्बन्धित हुने भएकोले स्वभावैले त्यस धर्म वा सम्प्रदायका मानिसहरुको मात्र प्रवेश हुने भएकोले सबैका लागि स्वागत हुने, सबैले आफ्नो आफ्नो धार्मिक साँस्कृतिक क्रियाकलाप गर्न पाउने तथा सामाजिक जनजीवनलाई निरन्तरता दिने र फुर्सदको क्षणमा आराम गर्न यसको निर्माण भएको अनुमान गर्न सकिन्छ । राजप्रासादकै छेउमा बनेको यस भब्य कलात्मक संरचना त्यसबेला विदेशी कुटनीतिज्ञ र अन्य पाहुनाहरुलाई स्वागत गर्ने मञ्च पनि हुनसक्छ भनेर अनुमान पनि गर्न सकिन्छ । शायद काठमाडौं उपत्यका भरी हजारौं मन्दिरै मन्दिरहरु भएकोले होला मान्दिरहरु जतिसुकै सुन्दर र कलात्मक भएपनि यसले अलग्गै परिचय बोकेको ।

यो आफै अद्भुत वास्तुकलाको नमूना भएकोले होला, यसको निर्माणसँग एउटा अनौठो किम्बदन्ती जोडिन आउँछ । यहाँका जनसमुदाय काष्ठमण्डपको सम्पूर्ण अंग एउटै रूखको काठबाट बनेको विश्वास गर्छन् । कुनै समय कल्पवृक्ष भन्ने देवता मानिसको भेष लिएर यहाँ काठमाडौंमा जात्रा हेर्न आएको बेलामा एक तान्त्रिकले उनलाई चिनेर तारन हाली समातेको र उनलाई रुखको रुपमा पाएर पछि त्यही रुखको काठबाट यो सबै मण्डपको निर्माण गरिएको भन्ने किंबदन्ती आजभोलि पनि सुन्न पाइन्छ ।

यस किंवदन्तीको अर्को रुप भनेको त्यो रुख यति ठुलो थियो कि यसको काठमात्रले यो मण्डप बनाउँदा पनि काठ नसकिएकोले सिँल्यं सतः भनिने काष्ठमण्डपको दक्षिणतिर रहेको हाल गुठी संस्थानले पसल कवल बनाएर भाडामा दिएकोे घर बन्यो । स्थानीय नेवाः भाषामा सिँ भनेको काठ र ल्यं भनेको बाँकी रहेको भन्ने बुझिन्छ ।

अनि फेरि बाँकी रहेको काठमा टुक्राटाक्री, जसलाई स्थानीय नेवाः भाषामा सिँख्वं भनिन्छ, त्यो पनि जम्मा गरियो र त्यसबाट नजिकै एउटा महाविहार पनि बनाइयो जसलाई हाल सिँख्वंमू बहाः (श्रीखण्डतरुमुल महाविहार) भनिन्छ ।

मण्डपको सजिलो जनमानसले समात्ने नाम मरु हो । यसलाई मरु भनिएको कारणले यस क्षेत्रलाई नै मरु भनिन्छ भने यसैको कारणले यसको वरिपरी भएका डबलीलाई मरुदबू, गणेशको मूर्तिलाई मरुगनेद्यः अनि धारालाई मरुहिति भन्न आजसम्म स्थानीयले छोडेको छैन ।

यस्ता समयले धमिल्याउन नसकेका किंबदन्तीलाई विश्वास गरेपनि नगरेपनि यस संरचनामा यति धेरै काठको प्रयोग हुनु सबै क्षेत्रका विज्ञहरुका लागि आश्चर्यको विषय भइरहेको छ । यहाँ अध्ययन गर्न आएका विज्ञहरुले जमिन भन्दा पाँच मिटर तलसम्म पनि काठको प्रयोग गरिएको थियो भनेर यसको पुनःनिर्माणकार्यमा संलग्न विशेषज्ञहरुले भनेका छन् । काठैकाठ जस्तो मात्र भएर पनि कतै किलाकाँटाको प्रयोग नगरी आपसमा अड्किने चुकुल वा खुटीहरुमात्र राखेर आफ्नै स्थानीय आदिबासीहरुको प्रविधिले बनाएको यस संरचना आफैमा त्यति कमजोर संरचना भने होइन । धेरैभन्दा धेरै काठ, केही इँटा र माटोको जोडाइको यो संरचनाले धेरै शताब्दी त्यसै ब्यहोरेको थिएन । यो भत्केको यसको निर्माणको प्रविधिकोमा कमजोरीको कारणले भन्दा यसको पुनर्निर्माण गर्दा गरिएको लापरवाहीले भनेर हाल प्रष्ट पारिएको छ ।

यसको ऐतिहासिकता
कुनै पनि संरचना वा स्मारकको कुरा गर्दा त्यो कहिले बनेको थियो भन्ने प्रश्न अहम् हुन आउँछ । आजको आज मानिसहरु २२ तल्ले धरहरा बनाउन सक्छ तर आज कोही पनि वैज्ञानिक १२सय वर्ष पहिलेको समयमा गएर केही बनाएर इतिहास कायम गर्न सक्दैन । यी संरचनाहरुलाई सम्मान गर्नु, यसको महत्व बुझ्नु भनेको यहाँका स्थानीय जनता त्यति वर्ष अगाडि यस्ता संरचना समेत बनाउँथे भनेर स्वीकार गर्नु हो । नेपाल यदि नेपालै हो भने यहाँका ७७ जिल्लमा यस्ता, यति वर्ष पुराना संरचना नपाइनु अनि यही काठमाडौं उपत्यकामा मात्र पाइनुले यहाँको सभ्यताले त्यतिबेलै यो उचाइ हासिल गरिसकेको थियो भनेर प्रमाणित हुन्छ । त्यसैकारण त वर्षेनी लाखौं विदेशी पर्यटकहरु यी प्राचीन सम्पदा हेर्न नेपाल आउँछन् तर उनीहरुलाई नजिकैको नयाँसडकका आधुनिक घरहरुमा रुची राख्दैनन् ।

काष्ठमण्डप कहिले बन्यो भन्ने सन्दर्भमा धेरैवटा भनाइहरु अगाडि आएका छन् । एउटै भरपर्दो लिखित प्रमाण नभएको अवस्थामा यस्ता सिद्धान्तहरु आउनु स्वभाविक पनि हो । यसको निर्माण कालको कुरा गर्दा धेरै किंबदन्ती र थोरै ऐतिहासिक तथ्यको आधारमा केही भन्न सकिन्छ ।

हामीलाई पहिले इतिहास पढाउँदा यो मण्डप सत्रौं शताब्दीमा काठमाडौंका राजा लक्ष्मीनरसिंह मल्ल (सन् १६१९–१६४१) को पालामा एउटै रूखको काठबाट बनाइएको भनेर पढाइन्थ्यो । यसलाई धेरैले सही मानेर उदृढ पनि गरे । त्यो गलत थियो भनेर अब भनिरहनु नपर्ला ।

बौद्ध विद्वान यज्ञमानपति वज्राचार्यले यस काष्ठमण्डपको निर्माणको श्रेय यहाँका एक सिद्धहस्त बौद्ध तान्त्रिक लीलावज्र वज्राचार्यलाई दिनुभएको छ । उहाँले लीलावज्रको जीवनकाल कुनै विनयतोष भट्टाचार्यले बनाएको तालिकाका आधारमा सन् ७४१को वरिपरी भन्नुभएको छ ।

भारतीय उपमहाद्विपबाट तिब्बत गएर त्यहाँ बौद्ध धर्म प्रचार गरेको श्रेय पाएका आठौं शताब्दीका आचार्य पद्मसम्भवले काठमाडौंमा आएर यहाँ काष्ठमण्डपमा बसी धर्मप्रवचन गरेको थियो भन्ने किंवदन्तीका आधारमा भन्ने हो भने कमसेकम आठौं शताब्दीसम्म यहाँ काष्ठमण्डप ठडिसकेको भन्ने विश्वास गर्न सकिन्छ ।

इटालिएन इतिहासकार लुसियानो पेटेकले काष्ठमण्डप सन् १०९०मा राजा हर्षदेवको पालामा बनेको भनेर उल्लेख गरेको तथा विसं १२००मा लेखिएको एक पुस्तकमा काष्ठमण्डप शब्द भेटिएको उल्लेख इतिहासकारहरुले गरेका छन् ।

ती सबै प्रमाण वा सहायक प्रमाणहरुलाई एकातिर राखेर हेर्दा पनि हालै नेपाल सरकार पुरातत्व विभाग तथा डुरह्याम विश्वविद्यालयले संयुक्त रुपमा गरको काष्ठमण्डपको उत्खनन्ले यहाँको जगमा पाइएको कोइला र बालुवालाई स्टिरलिङ विश्वविद्यालय स्कटल्याण्डमा परिक्षण गराउँदा यो संरचना सातौं शताब्दीमा भएको प्रमाणित भएको छ भन्ने पुरातत्व विभागका प्रवक्ता राम कुँवरको भनाइ प्रासंगिक हुन आउँछ ।

विद्वान यज्ञमानपति वज्राचार्यले यसको निर्माण कुनै वज्रयान बुद्धधर्मको दर्शनको अनुरुप भएको बताउनुभएको छ । हुनसक्छ, राज्यले बिस्तारै बुद्धधर्मका अनुयायीहरुमाथि असहिष्णु व्यवहार देखाउन थालेदेखि राजदरवार परिसरमै यसरी सार्वजनिक स्थलमा बौद्ध अनुयायीहरुलाई यहाँ पहिले अभ्यास गरिने बौद्ध पूजाआजा जस्ता संस्कारजन्य क्रियाकलाप गर्न रोक लगाइयो, अथवा ती क्रियाकलापबाट बौद्धहरु स्वयम् नै टाढा हुँदै गए ।

त्यसमाथि पछिल्लो समयका यसको चार सुरमा चार गणेशको स्थापना तथा बिच भागमा ११औं शताब्दीका हिन्दु योगीका रुपमा मानिने गोरखनाथको समेतको मूर्ति राखिएकोले कि यो कुनै एउटा धर्मसँग सम्बन्धित छैन, कि यसले सबै धर्मका अनुयायीलाई धार्मिक क्रियाकलाप गर्न अनुमति दिन्छ भन्ने निष्कर्ष निकाल्ने बाटो खोलेको छ ।

गएको १२ सय वर्षमा यसको मौलिक स्वरुपमा धेरै परिवर्तन ल्याइए होला, निर्माण समाग्री र प्रविधिहरुमा पनि आधुनिकता मिसिए होलान् । तर पनि यो यहाँका बासिन्दाको कला, संस्कृति, धर्म र सम्पन्नताको प्रतिमूर्ति भएर उभिरहेको छ ।

यसको साँस्कृतिक महत्व
यो कुनै एउटा धर्मसँग मात्र सम्बन्धित स्मारक नभएपछि यसको धार्मिक महत्वको बारेमा धेरै खोजिनिति नगर्नु बेश होला जस्तो देखिन्छ । तर पनि यहाँका स्थानीय नेवारहरुको जनजीवनमा भने काष्ठमण्डपले भूमिका खेलेको सबैले प्रत्यक्ष देखिनै रहको कुरा हो ।

यहाँ हरेक वर्ष स्थानीय नेवारहरुबाट भाद्र कृष्णचर्तुदशीका दिनमा पञ्चदानका साथ पूजा र माघेसंक्रान्तिका दिनमा गजुरमा ध्वजा फेर्ने पूजा हुन्छ ।

एक हजार वर्षदेखि नेपाल खाल्डोको र पछिल्लो समयमा राजधानी काठमाडौं राजदरवारमा देखिएको सबै राजनीतिक परिवर्तनहरुको साक्षी हो यो मण्डप । लिच्छवीदेखि ठकुरी, मल्ल र शाह राजाहरुको रवाफ, जनताहरुको स्वेच्छिक समर्पण तथा दासप्रवृति, र बहुदलीय व्यवस्थाको आगमन एवं गणतन्त्रको स्थापनाको एक मात्र दर्शक पनि यही काष्ठमण्डप हो । वर्षेनी गथुप्याखंका भैरवले राजासँग खड्ग साटेर सिद्धिप्राप्त गर्ने भुतिसः यसैको अगाडि छ ।

यो काष्ठमण्डप यहाँका स्थानीय नेवारहरुको जनजीवनसँग कुनै न कुनै किसिमबाट जोडिँदै आइरहेको छ । कुनैबेला यो हिप्पीहरुको अखडा थियो, पछि लागु पदार्थ दुव्र्यसनीहरुले पनि यसै ठाउँलाई रोजे । यहाँ सँधै जस्तै बौद्ध तथा हिन्दु धर्मगुरुहरुबाट धार्मिक प्रवचन भइरन्थे, गाइजात्रा, इन्द्रजात्रा जस्ता पर्वहरुमा मानिसहरु भेला हुन्थे । यसबाहेक रक्तदान जस्तो सामाजिक कार्यमा पनि यसले स्थानीय सामाजसेवीहरुलाई साझा डबलीको रुपमा स्थान उपलब्ध गराउँथ्यो ।

भूकम्पमा यसको क्षति
इसं २०१५ अप्रिल २५, अथवा विसं २०७२ बैसाख १२ गतेको ७.८ रेक्टर स्केलको भूकम्पले नेपालमा अचानक कल्पनै नगरेको प्रलय ल्यायो । सरसरी अध्ययन गर्नेहरुले यसमा ८ हजारको मृत्यु अनि १६ हजार मानिस घाइते भएको बताएको छ । मानव क्षतिको तुलना अरुसँग त गर्नै सकिन्न तर पनि यस भूकम्पले गरेको हाम्रा हजारौं हजार वर्ष पुराना धरोहरको विनाशलाई पनि कम भन्न सकिन्न । आँखा अगाडि ती इतिहास, मानव सभ्यता अनि संस्कृति धुलो भए । त्यस्ता सयौं सम्पदाहरुको माझ काष्ठमण्डपको विनाश पनि एक भयो ।

भुकम्पले काष्ठमण्डप ढालेको एउटा सत्य हो भने त्यसपछि सम्पदा, संस्कृति तथा पुरातत्वकै टेबलमा काम गर्ने कर्मचारीको निर्देशनमा यस्तो संवेदनशिल स्मारकमाथि डोजर चलाएर बाँकी भएको अवशेषलाई पनि फोहर जस्तो व्यवहार गरी जबर्जस्ती जानी जानी अझ धुलोपिठो बनाएको तथ्य पनि हामै्र आँखाले देख्न पायो । सिँहको मूर्ति नै तोडिए, ताम्रपत्र गायब भए । विदेशमा पढेर आएका अनि वर्षैपिच्छे विदेशका सभा सेमिनारहरुमा नेपालको झण्डा बोकेर भाग लिन जाने विज्ञ र कर्मचारीहरुले नेपालको सरकार आफ्नै देशको आफ्नै जनताको कालजयी सम्पदामाथि यति असंवेदनशीलमात्र होइन क्रुर पनि बन्न सक्छ भन्ने उदाहरण पनि बन्यो भूकम्प पछिको काष्ठमण्डपको विनाश ।

नेपालको इतिहास र पुरातत्वसँग खासै सम्बन्ध नभएको धरहरा बनाउन प्रधानमन्त्रीदेखि ठुलठुला घरानाहरुले पनि जोश देखाए तर देशको राजधानीलाई नाम दिने काष्ठमण्डपको पुर्नर्निमाणमा कसैको खासै ध्यान गएको अनुभूति स्थानीय जनताले गर्न पाएन ।

अब पुनर्निर्माण
भूकम्पले लडाएको काष्ठमण्डपको अवशेष त हतारहतार डोजरै लगेर सफा पारिए, कति जना त त्यसै माथि पाल टाँगेर पनि महिनौं बसे । तर त्यसको पुनर्निर्माण गर्नुपर्छ भनेर सरकारले कुनै चासो देखाएन । यसले एकवर्ष जति त खुल्ला आकाशको मुनि मनसुनको पानी समेत विवश भएर सहेर बसे । पछि मात्र बाँसको टहराले छाएको देख्न पाइयो ।

२०७२ चैतमा बल्ल पुरातत्व विभागले काष्ठमण्डपको डिजाइन तयार गरी काठमाडौं महानगरपालिकालाई बुझाइएको खबर आयो । केही आशाका किरण त देखिए तर बनाउने कसले अनि खर्च कसले व्यहोर्ने भन्नेमा भने अन्यौल कामयमै रहेको बुझियो ।

पुरातत्व विभाग कहाँ छ?
देशभरीका धार्मिक, साँस्कृतिक सम्पदाको संरक्षण, जिर्णोद्धार अनि पुनर्निर्माण गर्ने दायित्व पाएको पुरातत्व विभाग यहाँ काष्ठमण्डपको सवालमा दर्शक बनेर हेरिरहेको सबैले देखे । कुनै बेला सानोभन्दा सानो सत्तल बनाउन लगत इष्टिमेटको कागज बनाउने विभाग यस सम्पदाको पुनर्निर्माणमा भने छेउमै बसेर चित्त बुझाए । रानीपोखरीमा पुरातत्व विभागले गरेको कुकाम देखेर क्रुद्ध भएका जनताले पनि यहाँ त्यसलाई टाढै राख्नु उचित माने । त्यस्तै हनुमानढोका प्रवेश गर्ने हरेक विदेशी पर्यटकसँग हजारौं प्रवेश शुल्क लिने अनि प्रत्येक काठमाडौंका बासिन्दासँग दर्जनौं शीर्षकमा कर उठाउने काठमाडौं महानगरपालिकाले पनि म आफै गर्नसक्छु भनेर यस ऐतिहासिक घडीमा आफ्नो उपस्थिति देखाउन सकेन । खुशी यसमा मान्नु पर्छ कि यसले नौतले दरवारमा जस्तो विदेशी दातृराष्ट्रलाई तानेर ल्याएन ।

विवादको घेरामा
बेलाबेलामा काम देखाउने होडले हो वा साँच्चै संवेदनशील भएर धेरैले यहाँ केही गर्न खोजिएको जस्तो देखाए तर यति महत्वपूर्ण स्मारकको दिन आखिरमा आफन्त ठेकेदारको खोजी, कमिसनको खेल, जुंगाको लडाइ, विद्वानहरुको घोचपेच अनि लखतरान स्थानीयवासीको निराशामा नै बित्यो । सत्तामा भएकाहरुले सरेआम कमिसनको कागजी काम गर्ने अनि स्थानीयले पारदर्शिता खोज्यो भने कामै गर्न दिँदैन भन्ने कुटिल तर्कहरुले समय काट्ने बाहेक अरु जाँगर काष्ठमण्डपको अवशेषले देख्न पाएन । विभिन्न राजनीतिक पार्टीहरु सहमतिकै गीत गाइरहे, काष्ठमण्डपमा भौतिक रुपमा पुनर्निर्माण देख्न भने पाइएन । यहाँ पनि विवाद नै बढी चर्चाको विषय बने ।

जनताले बनाउने कुरा
स्थानीय जनता नै यस्ता स्मारकका स्थाइ अभिभावक हुन् । उनीहरुले चासो लिएन भने प्रशासनिक काम कागजको खेलमात्र हुन्छ । स्थानीयले हामीले हाम्रो सम्पदा हेर्न समेत पाएनौं भनेर गुनासो पोखे, पुरातत्व विभागले स्थानीयहरुको सहभागितामा नै पुनर्निर्माण हुन्छ भनिरहे । यसै सोचबाट एउटा समूह जस्तो बनेको थियो, स्थानीय जनताले नै यसको पुनःनिर्माण गर्ने भनेर । काष्ठमण्डप ढलेको दुई वर्ष पछि २०७४ बैशाख १२ गते स्थानीयहरु नै हामी पुनर्निर्माण गर्छौ भनेर जीवित देवी कुमारीको अगाडि उभिएर सपथ लिए । यसमा उनीहरुको सरकारको असंवेदनशीलतामाथि व्यंग्य पनि थियो, आक्रोश पनि थियो ।
भन्न जति सजिलो छ, गर्न कहाँ सजिलो हुन्छ र । तर पनि यसले सत्ता र बजेट काखी च्यापेर बसेकाहरुलाई चुनौति त दियो नै । आखिरमा २०७४ बैशाख २९ गते नै काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय वीरेन्द्रभक्त श्रेष्ठको अध्यक्षतामा गठित काष्ठमण्डप पुनर्निर्माण अभियानसँग एउटा सम्झौता गरे, उक्त अभियानलाई नै यसको पुनर्निर्माणको जिम्मा दिने भनेर । यो स्थानीय चुनाव पहिलेको कुरा थियो ।

काष्ठमण्डपको लथालिंग अवशेषमाथि चुनाव भयो । यसै अवशेष देखाएर चुनावमा स्थानीय जनप्रतिनिधिहरु जितेर आए । तर नयाँ नयाँ जनप्रतिनिधिहरुले पनि काष्ठमाण्डपको पुनर्निर्माणमा जोड दिएन, बरु पुरानो सम्झौता तोडेर यसको पुनर्निर्माणमा आउने बजेटबाट कसरी आफ्नो फाइदा निकाल्न सकिन्छ भनेर योजना बुनिरहे । पुरानो सम्झौता र त्यसबेला नेतृत्वदायी भूमिकामा आएको अभियान छेउमा परे ।

२०७४ बैशाख र जेठमा चुनाव भयो, असारसम्म पुग्दा महानगरपालिकाले उक्त अभियानलाई पन्छाएको मात्र होइन टहरा हालेर अस्थाइ सम्भार गरिरहेको ठाउँमा अकस्मात त्यहाँको साँचो नियन्त्रणमा लिएर काम रोकिदिए । सम्पदाका नाममा बोल्ने संगठनहरुको कुनै भूमिका देखाउन सकेनन् । कमसेकम सम्पदा क्षेत्रको पुनर्निर्माणमा राजनीति हाबी नभए हुन्थ्यो भन्नेहरु बोल्न सकेनन् । सम्पदाप्रेमीहरु राजनीतिक प्रभावका बारेमा बोल्न बाध्य भए ।

समय बितेको पत्तै भएन । २०७५ बैसाखमा नयाँ काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भयो । जेठसम्म पुग्दा काष्ठमण्डपलाई पुनः समुदायकै जिम्मामा बनाउन दिने भन्ने निर्णयमा काठमाडौं महानगरपालिका पुग्यो — क्षमापूजा भयो, कामको औपचारिक थालनी हुन्छ भन्ने विश्वास दिलायो । महानगरपालिकाले ५०लाखको चेक पनि समुदायलाई हस्तान्तरण गर्यो । तर यहाँ समुदाय भनेर काष्ठमण्डप पुनर्निर्माण समितिलाई जनाइयो जसको अध्यक्ष प्रदेश नं ३का सभासद् राजेश काजी शाक्य बनेको थियो । यसलाई महानगरपालिकाको नेतृत्व तथा स्थानीय नागरिक संघसंस्थाको सहयोग र सहभागितामा भनिएपनि यसमा सत्तामा रहेको पार्टीको हालिमुहाली रहेको कसैबाट छिपेन । कुनैबेला हामी आफै बनाउँछौं भनेर कुमारी सामुन्ने सपथ लिएका स्थानीयहरु तगारोका रुपमा परिचित गराइए । तब उनीहरुले स्थानीय हुन पनि सत्तामै रहेको पार्टीको कार्यकर्ता हुनुपर्ने रहेछ भनेर बुझे । भनिरहनु नपर्ला, यसरी पार्टीको कब्जामा सम्पदाको निर्माण भनेको पार्टीका नजिकका मानिसले ठेक्का पाउने र त्यसको केही अंश पार्टीलाई सहयोग स्वरुप जाने नै हो ।

२०७५को कार्तिकमा काम थालियो । कालभैरवको अगाडि तथा प्रहरी कार्यालयले छोडेको भवनको प्राङ्गणमा काठका कामहरु हुन थाले । ९१६ वर्गफिटको यो संरचनाको निर्माणको लागि १७ हजार क्युबिक फीट काठ र दुइ लाख जति इँटा चाहिने लगत निकालिएको छ । यसका लागि काठमाडौं महानगरपालिकाले ५ करोड ५० लाख रकम निकासा गरिसकोको जानकारी आएको छ । फागुन सम्ममा चारवटा ठुल्ठुला थामहरु खडा गरिए । १९ करोड लागत लाग्ने भनिएको यो सम्पदालाई समितिले २०७६ असारसम्ममा पहिलो तल्लाको निर्माण सम्पन्न गर्ने भनेको छ । यो खुशीको कुरा हो ।

सबैको मुखमा एउटै कुरा छ — परम्परागत प्रविधि र निर्माण सामाग्रीको बिकल्प छैन । यति भन्दाभन्दै पनि यहाँ कहिले के हुन्छ भन्ने विषयमा सबै विश्वस्त हुन सकिरहेको छैन । अहिल्यै प्रविधिगत केही त्रुटीहरु देखिएको र यसले भविष्यमा दुखद समाचार बनाउने सम्भावना औँल्याउन थालिसकेको छ । आशा गरौं यस्तो नहोस् ।

भविष्य र स्वामित्व

अन्ततः काष्ठमण्डपको पुनर्निर्माण भइरहेको देख्न पाइयो । जनता खुशी छन् । आखिर जहाँ जसले जति विवाद गरेर, ठेक्कामा लगाएर वा नलगाएर, कमिसन खाएर वा नखाएरै भएपनि जनताले चाहेको भनेको यस अद्भूत सम्पदाको पुनर्निमाण होस्, काठमाडौंले आफ्नो काष्ठमण्डप फिर्ता पाउन् भनेकै हो ।

तर यहाँ यो मात्र पनि सबैको खुशीको कुरा बन्न सक्दैन । कसको देखासिकीमा हो, यहाँ आजभोलि हाम्रा पुर्खाले आफु सम्पन्न र सुसंस्कृत हौं भनेर सन्ततिलाई देखाउन, याद दिलाउन बनाएर गएका यस्ता नेपालका अन्य जिल्लाहरुमा नपाइने लोभलाग्दा सम्पदालाई भाडामा लगाएर केही रकम कमाउने र केही कमिसन, भागबण्डामा माथिसम्म पुर्याउने चलन शुरु भएको छ । हामी बुझ्न सक्छौं, स्थानीय चुनावको परिणामस्वरुप चुलिएको काष्ठमण्डपको पुनर्निर्माण जनताले मागेकोले र राज्यले आफ्नो देशको पहिचान दिने सम्पदाको महत्व बुझेर होइन, बरु कसैको अदृष्य उद्देश्य पुरा गर्नका लागि भइरहेको छ । अब यसको पुनर्निर्माण सम्पन्न पछि यसको स्वामित्व कसमा जाने हो, यसभित्र अस्ति जस्तै जो कोही पनि बोरोकटोक गएर आफ्ना धार्मिक, साँस्कृतिक वा सामाजिक क्रियाकलापहरु गर्न पाउने हो कि होइन भन्ने जिज्ञासा सर्बसाधारणको मनमा आइरहेको छ । कतै भोलि गएर यो सम्पन्न भइसकेपछि यसका पालिस लगाएका थामहरुमा हामीले पहिले जस्तै ढाड कन्याउन (स्थानीयमा यस्तो गर्ने एउटा विश्वास छ ) नपाइने हो कि, टिकट तिरेर हेर्न जाने अजायबघर बन्ने हो कि, वा कतै यो महँगो कफी खाने क्याफे वा बियर पिउने बारको रुपमा देख्न पर्ने होकि भन्ने जनतामा भय वा शंका छ ।

सम्पदाप्रेमीहरुले यसतर्फ समयमै आवज उठाउनुपर्ने छ, हामीलाई पुरानो फोटो बमोजिमको काठ, इँटाको संरचना मात्र होइन त्यहाँ भित्र स्थानीय काष्ठमण्डपबासीको निर्विवाद हजारौं वर्ष पुरानो सम्बन्ध र जिउँदो अमूर्त सम्पदा पनि चाहिन्छ ।

नेपाल सम्पदा संघ स्मारिका २०७६

Leave a Reply

Your email address will not be published. Required fields are marked *