बज्रयोगिनीमा नवनाग, नवकुण्डल र नौ विहारहरु

प्रकाशमान सक्व

मणिचुड पर्वतस्थित बज्रयोगिनी जंगल र मनिदर परिसरमा आदिकालदेखिनै धार्मिक आस्थाका केन्द्रको रुप्मा रहेको बज्रयोगिनी देवीलाई तिब्बतका लामाहरुले धोज्र्यफाम्बु भनि पुकारा गर्दछन् । उनीहरुको मान्यता अनुसार अनुत्तर बोधिज्ञान दिने प्रज्ञापारमिता देवी नै धोज्र्यफाम्बु हुन् । तीनवटा आँखाहरुले तीन त्रिभुवनका चराचर प्राणीहरुलाई उनीहरुको कर्म हेरिरहन्छन् भने कर्मअनुसारको जन्म मरण, धर्म र पाप तथा गति अगतिका फल दिईरहेका हुन्छन् भनि विश्वास गर्दछन् ।

 

तिब्बती लामा गुरुहरु बज्रयोगिनीको दर्शन गर्न आउँदा महाँकाल भैरवस्थान देखिनै जीउ नाप्दै मन्दिर र मुर्तिको सामुन्ने साष्टाङ्ग दण्डवत गर्दछन् । त्यसपछि ‘ऊँ मणि पद्मे हुँ’ को मन्त्रमाला जप्दै मन्दिर घुम्दछन् र अन्त्यमा जात्रा गर्नुपर्ने बज्रयोगिनी दर्शन गरी ‘सत्य युगको आगो’ भनि अग्निकुण्डल दर्शन पूजा तथा जप होम आदि कार्य गर्दछन् । बज्रयोगिनी स्थललाई उनीहरुले ब्रम्हपीठ अकनिष्ठा भुवनको सँगै रहेको तुषिता भुवन भनि पवित्र स्थानको रुपमा आस्था राखी ढुंगे गुफाभित्र केही समय बसेर बौद्ध ग्रन्थहरु वाचन गर्दछन् ।

 

बौद्ध ग्रन्थहरुमा उल्लेख भए अनुसार बज्रयोगिनी, स्वयम्भु, पशुपती, गुह्यश्वरी आदि आफसेआफ उत्पत्ति भएका भनि विश्वास गरिएका पवित्र स्थल वरपर तीर्थस्थलहरु कुण्डलहरु तथा नागराजाहरुको बास गरिएका हुन्छन् । स्वयम्भु, पशुपती क्षेत्र वरपर द्वादश तीर्थ भनी नाम चलेका राजतीर्थ, मनोहर तीर्थ, गोकर्ण तीर्थ, निर्मल तीर्थ आदि रहेका छन् । त्यस्तै बज्रयोगिनी देवी मन्दिरको वरिपरि पनि तीर्थस्थल कुण्डल भएको प्रमाणा संस्कृत भाषाका दस्तावेजहरु अनुवाद गरी प्रस्तुतु गरेको छु ।
१) नवनागराजा अभिलेख ः श्री उग्रतारा बज्रयोगिनी स्थानमा नौ कुण्डल, नौ गुफा, नौ विहार र नौ नागराजाहरुले संयुक्त भएको लेखिराखियो ।। अथः प्रथम नवनाग मन्त्र माहः ।। ऊँ आः बज्रबरुणाय हुँ स्वाहाः ।। स्वेतवर्ण ।। मध्यै ।।१।। ऊँ आः अनन्ताय हुँ स्वाहाः ।। नील वर्ण ।। पूर्व ।।२।। ऊँ आः पद्माय हुँ स्वाहाः ।। शितवर्ण ।। दाक्षिण ।।३।। ऊँ आः तक्षकाय स्वाहाः ।। लोहित वर्ण ।। पश्चिम ।।४।। ऊँ आः बाशुकाय हुँ स्वाहाः ।। हरितवर्ण ।। उत्तर ।।५।। ऊँ आः शंखपालाय हुँ स्वाहाः । शुक्ल वर्ण ।। आग्नेय ।।६।। ऊँ आः कर्कोटकाय हुँ स्वाहाः ।। हरितवर्ण ।। नैऋत्य ।।७।। ऊँ आः कुलिकाय हुँ स्वाहाः ।। नील वर्ण ।। वायुव्य ।।८।। ऊँ आः महापद्माय हुँ स्वाहाः ।। पीत वर्ण ।। इशान ।।९।। इति नवनाग मन्त्र ।
२) नवकुण्ड र नौ विहारको अभिलेख ः

 

श्री मंजुश्री आहः ।। प्रथम रत्नवती कुण्ड ।। यस कुण्डमा स्नान गरेमा शरीरका अंग अंगहरु दुःखेको निको भई शोक दुःख नाश हुन्छ । मणिचुड पद्ममाल्य महाविहार दर्शन गरेमा घरमा अष्टमंगल प्राप्त हुन्छन् ।।१।। धर्मवती कुण्डमा स्नान गरेमा टाउको मुख र दाँतको रोग निको हुन्छन् । बज्रचक्र महाविहार दर्शन गरेमा कान दुःखेको रोग निको भई बहिरोले पनि कानले सुन्न थाल्दछ ।।२।। पूर्णवती कुण्डमा स्नान गरेमा खुट्टा दुःखेको रोग निको हुन्छन् । ज्ञानचक्र महाविहार दर्शन गरेमा स्मरणशक्ति र सिद्धी प्राप्त हुन्छन् ।।३।। सीतावती कुण्ड स्नान गर्दा पेटभित्रको रोग नाश हुन्छन् । धर्मधातु महाविहार दर्शन गरेमा हृदयरोग नाश भई मुख शुद्धी भई बोलेको पुग्दछन् ।।४।। मान्यवती कुण्ड स्नान गरेमा आँखाको रोग नाश भई सुदृष्टी प्राप्त हुन्छन् । गुणाकर महाविहारलाई नमस्कार गरेमा परचक्र र शत्रु भय नाश हुन्छन् । ।।५।। गणवती कुण्डमा स्नान गर्दा कुष्ठ रोगी निवारण भई शरीर स्वस्थ हुन्छन् । जयनाकर महाविहारलाई वन्दना गरेमा गिद्ध, कौवा, तीय्र्यकजस्ता अशुद्ध पंक्षीले जीउमा विष्ट्याएको फोहर पारी दिएको भय नाश हुन्छ ।।६।। केशावती कुण्डमा स्नान गर्दा नाना शूल रोग नाश हुन्छन् । धर्मचक्र महाविहारलाई नमस्कार गरेमा राजभय, चोर भय, आगो, पानी, सर्प, जनावर आदि अष्ट भय नाश भई सुख प्राप्त हुन्छन् ।।७।। योगवती कुण्ड स्नान गर्दा व्यभिचार गर्दा लागेका, सरेका सरुवा रोगहरु नाश हुन्छन् । हेनाकर महाविहार दर्शन गरेमा वन्यजन्तु भय नाश हुन्छन् ।।८।। तारावती कुण्डमा स्नान गर्दा अकालमृत्यु, आकाशवाणी भय नाश हुन्छन् ।। किर्तीपूर्ण दर्शन गरेमा कालसर्प भय नाश हुन्छ ।।९।। इति नवकुण्डानि नवविहारानी समाप्त मिति ।।

 

यसरी बज्रयोगिनी देवी मन्दिरको चारैतिर रहेका तीर्थ, कुण्ड, नाग र विहारको वर्णनक्रमलाई लिपीबद्ध गरी त्यसको स्नान, दान, पूजन, मन्त्र र त्यसबाट पाइने अपरिमायु फल दिने कुराहरु साँखु बज्रयोगिनीको ईतिहासमा पाइन्छन् । त्यस्ता इतिहासलाई लोप हुनबाट जोगाउन हामीले सक्दो सहयोग गर्नु समसामयिक हुनेछ । अस्तु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.