नेवार समुदायमा “सगं” संस्कृति

 

 

लक्ष्मी गारु 

कला संस्कृतिका धनी नेवार समुदाय वर्षभरि कुनै न कुनै चाडपर्व मनाउन व्यस्त रहन्छन्। उनीहरू चाडपर्व मात्र मनाउँदैनन्, चाडपर्वसँगै त्यसलाई मौलिक संस्कृतिको रूपमा विकास पनि गर्दै लैजान्छन्।

नेवार समुदाय घण्टाकर्ण चतुदर्शीका दिन राक्षसलाई पूजा गर्दछन्, जनै पूर्णिमामा भ्यागुताको पूजा गर्दछन्, तिहारमा आत्मशुद्धिका लागि आफ्नै शरीरको पूजा गरी म्ह पूजा मनाउँदछन्।

यस्तै विभिन्न मौलिक संस्कृतिमध्ये नेवार समुदायको अर्को महत्त्वपूर्ण मौलिक संस्कृति हो, ‘ सग‌ं’ अर्सथात सगुन संस्कृति।

नेवार सभ्यता र संस्कृतिमा जन्मदिन, शुभदिन, नयाँ कार्यको आरम्भ, लामो यात्रा, कार्य सफलता, शैक्षिक सफलता, विदेश भ्रमणलगायतका अवसरमा ‘सगं’ दिने प्रचलन रहेको छ। नेवार संस्कृतिमा आमा र बाबुको मुख हेर्ने औँशीमा विशेषगरी विवाहिता छोरीहरूले आमाबाबुलाई, विवाहमा दुलाहादुलहीलाई घरका मूली महिलाले, व्रतबन्धमा व्रतबन्ध गर्ने बालकलाई आफन्तहरूले, भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सगं दिने प्रचलन रहेको छ।

किपाः रेखा शाक्य

नेवार समुदायमा कुनै पनि शुभकार्यको थालनी गर्दा मात्र होइन, शुभकाम सम्पन्न भएपछि पनि सगं दिने परम्परा रहेको छ। जस्तो कि कसैले नयाँ घर निर्माण सम्पन्न गरेको छ भने सो घरका सदस्यहरूलाई आफन्तले सगं दिने गर्दछन्।

नेवार संस्कृतिमा दुई प्रकारका सगं दिने प्रचलन रहेको छ। पहिलो दही सगं हो भने दोस्रो अण्डा। दही सगं दिँदा सगुन दिनेले दुई हातले दहीको कतारा समाउनुपर्छ भने सगं लिनेले पहिला आफूले तीन पटक ढोग्ने, त्यसपछि तीन पटक भगवानलाई चढाउने र अन्तमा आफूले दहीको टीका दायाँ कञ्चटमा लगाउनुपर्दछ। महिलाले भने बायाँ कञ्चटमा टीका लगाउने चलन छ। कसैकसैले दही सगं दिँदा दिनेले नै लिनेको कञ्चटमा लगाइदिने चलन पनि छ।

सगं दिने व्यक्तिले दायाँ हातले रक्सी र बायाँ हातले अण्डा, माछा, मासु, बारा लिएर हातलाई क्रस गरेर लिने व्यक्तिलाई दिन्छ र लिने व्यक्तिले लिँदा पनि दाहिने हातमा रक्सी र बायाँ हातमा अण्डा, माछा, मासु, बारा लिनुपर्दछ।

सगं दहीलाई चन्द्रमाको प्रतीकको रूपमा लिइन्छ। पूर्वीय दर्शनशास्त्रमा चन्द्रमा दाहिने भए मात्र ठूलो कार्य सफलता प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ। चन्द्रमालाई राम्रो कामको प्रतीकको रूपमा पनि लिइन्छ। तसर्थ हामी कुनै पनि शुभकार्य थालनी गर्दा चन्द्रमा दायाँपट्टि हुनुपर्दछ भन्ने मान्यता राख्छौँ। त्यसैले दही सगं दिने र सगं लिँदा दाहिने कञ्चटमा दहीको टीका लगाउने गरिन्छ। सगंमा दही र रक्सीलाई अण्डाको साथीको रूपमा पनि लिने गरिन्छ।

किपाः रेखा शाक्य

त्यसैगरी, अण्डा सगं दिँदा सगुन दिनेले एक हातमा रक्सी र अर्को हातमा अण्डा, माछा, मासु, बारा लिएर सगुन लिनेलाई दिने गर्दछ। सगं दिने व्यक्तिले दायाँ हातले रक्सी र बायाँ हातले अण्डा, माछा, मासु, बारा लिएर हातलाई क्रस गरेर लिने व्यक्तिलाई दिन्छ र लिने व्यक्तिले लिँदा पनि दाहिने हातमा रक्सी र बायाँ हातमा अण्डा, माछा, मासु, बारा लिनुपर्दछ।

अचेल कसै कसैले मासुको स्थानमा अदुवा दिने पनि गरेको पाइन्छ भने हिजोआज सगं दिँदा रक्सी, अण्डा, मासु वा माछा गरी तीन वस्तुको मात्र प्रयोग गरेको पनि पाइन्छ। तर सगं दिँदा रक्सी, अण्डा, मासु वा माछा भने अनिवार्य जस्तै मानिन्छ। सगं दिनुअघि सुकुन्दा बालेर गणेशको पूजा गर्नु अनिवार्य मानिन्छ।

किपाः रेखा शाक्य

अण्डाको आवरण तीन तहमा विभाजित भएको हुन्छ, जसलाई बोक्रालाई अण्डा, सेतो भागलाई बारा र पहेँलो भागलाई मासु, माछा र अदुवाको प्रतीकको रूपमा पनि लिन सकिने केही संस्कृतिकर्मीहरू बताउँछन्। अर्को अर्थमा अण्डालाई पत्रेदार, आग्नेय र अरिवर्तित चट्टानका रूपमा पनि लिन सकिन्छ। अण्डा जस्तै पृथ्वी पनि त्यस्तै छ, तसर्थ अण्डा सगं दिनु भनेको पृथ्वीलाई हातमा दिएर आफ्नो मात्र नभई सारा पृथ्वीको शुभ होस् भनी दिने एउटा आशीर्वाद पनि हो। सगुन एउटै किसिमको हुन्छ। दिने तरिका फरक फरक होला तर दिनुको उद्देश्य एउटै रूपमा लिनुपर्ने संस्कृतिकर्मीहरू बताउँछन्।

प्रायः सबैजसो नेवारी संस्कारमा दुवै सगुन दिने प्रचलन छ। सगुन दिँदा पहिला दही सगुन दिने प्रचलन रहेको छ भने दही सगुनपछि अण्डा सगुन दिइन्छ। कुनैकुनै समुदायमा भने पहिला अण्डा सगुन लिएर पछि दही सगुन लिने प्रचलन पनि छ।

थाहा खबरबाट साभार अंश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.