नाम नमिलेको जात्रा

महेश्वर श्रेष्ठ

काठमाडौंमा हरेक वर्ष भाद्रशुक्ल द्वादशीदेखि आश्विनकृष्ण तृतीया आठ दिनसम्म एउटा पर्व बडो हर्षोल्लासका साथ धुमधामसंग मनाइन्छ जसलाई नेपाल भाषामा “येंया:” भनिन्छ । येंयाः शव्द आफै यें र याः दुइटा शव्दको योग हो । यें को अर्थ काठमाडौं हो । याः को अर्थ यात्रा अथवा जात्रा हो । तसर्थ येंयाः को शाव्दिक अर्थ काठमाडौं जात्रा अथवा काठमाडौं महोत्सव हो । केहि नेवारहरुले यस चाडलाई “येंयाः पुन्हि” पनि भन्ने गर्छन जसको शाब्दिक (भाद्र शुक्ल) पूर्णिमाको दिन मनाइने काठमाडौं महोत्सव अथवा काटमाडौं जात्रा भन्ने हुन्छ । कतिपय नेवारहरु यो चाडलाई “येंन्या पुन्हि” पनि बन्ने गर्छन जसको शाब्दिक अर्थ काठमाडौंमा मनाइने (भाद्र शुक्ल) पूर्णिमा पर्व हुन्छ । तर यी दुबैले “येंयाः” लाई प्रतिनिधित्व गर्न सक्दैनन । किनभने पूर्णिमा भनेको एक दिन मात्र हुन्छ जब कि “येंयाः” लगातार आठ दिनसम्म मनाइन्छ ।

यही “येंयाः” अर्थात काठमाडौं महोत्सवलाई गैर नेवारहरुले ईन्द्रजात्रा भन्ने गरेका छन जुन बिलकुल गलत हो । यदि यो जात्रा इन्द्रजात्रा हो भने अर्थात इन्द्रको सम्मानमा मनाउने गरेको हो उनको विशेष पूजाआजा हुनु पर्थ्यो, जपतप हुनु पर्थ्यो, स्तुति भजन गाउनु पर्थ्यो, रथजात्रा खटजात्रा हुनु पर्थ्यो । त्यस्तो त केहि हुंदैन, गरिंदैन । त्यसैले यो जात्रा इन्द्रजात्रा हुंदै होइन र किमार्थ हुन सक्दैन । तर येंयाःको अवधिमा इन्द्रको एउटा अलग प्रसंग चाहिं नभएको होइन । ईन्द्रले फूल चोरी गरे बापत उनलाई काठमाडौंका जनताले दिएको सजायको कथानकलाई येंयाःको बेला हरेक वर्ष दोहर्याइन्छ । कथाको सार यस्तो छ ।

देवराज ईन्द्रकी आमाले गर्ने विशेष पूजाका लागि पारिजात फूल चाहिएको थियो । तर त्यस बेला त्यों फूल मर्त्यलोकको जम्बूद्वीप, हिमवत खण्ड, नेपाल देशको कान्तिपुर नगरीमा मात्र पाइने भएकोले ईन्द्र यहां आई बिहान झिसमिसेमा एउटा बगैंचामा पसी कसैसंग नसोधी त्यहां भएको पारिजात फूलको रुखबाट फूल टिपिरहेको बेला बगैचा धनीले देखेर चोर चोर भनी हल्ला गर्दा छरछिमेक उठेर आई ईन्द्रलाई पकडेछन् र सजाय दिलाउनको लागि राजा समक्ष उपस्थित गराएछन ।

ईन्द्रले भुईंमा झरेको फूल मात्र टिप्न हुने पारिजात फूल रुखबाटै टिपेको र कसैसित नसोधी टिपेकोले चोरी गरेको ठहर गरी राजाले उनलाई सात दिनसम्म नगरका मुख्य मुख्य चोकमा अग्लो टाँडमा राखी पारिजात फूल चोर यिनै हुन भनेर सार्वजनिक प्रदर्शन गर्ने सजाय आदेश गरेछन् । फूल चोर ईन्द्र टाँडबाट ओर्लेर भाग्ला भनेर उनलाई टाँड माथि पनि सिक्रीले बांधेर राखिन्छ टाँडमा टेक्न मिल्ने कुनै आंख्लो वा टेक्सो केहि बाकी राखिन्न । काठमाडौं मात्र होइन उपत्यकाका तिनवटै शहर र काभ्रे र दोलखामा समेत हरेक वर्ष येंया: को बेला यही कुरा, यही प्रक्रिया दोहर्याइन्छ ।

यसबाट के पुष्टि हुन्छ भने इन्द्रलाई दिइएको अपमानजनक सजायको तिथिमिति अवधि र येंयाः को तिथिमिति अवधि एउटै पर्नु संयोग मात्र हो, येंयाः भनेको इन्द्रजात्रा होइन । अस्तु

इन्द्रजात्रा धायेगु कि मधायेगु ?

2 thoughts on “नाम नमिलेको जात्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.