सम्पदा जो काठमाडौंको शक्ति थियो

काठमाडौं नबुझ्ने शासक र प्रशासकको कारणले काठमाडौंका सम्पदा क्षतिग्रस्त त पहिल्यै भइसकेका थिए, ढलेको मात्रै अहिले हो ।

सुरेश किरण

बहत्तर साल वैशाखको बाह्र गते दोस्रो शनिवार आएको महाभूकम्पले नेपालका ४९ जिल्ला प्रभावित भएको रिपोर्ट आएको छ । यी जिल्लामा धेरै मानिस मरे । धेरै घर ढले तर काठमाडौं उपत्यकामा अझै पनि त्यस्ता मानिस धेरै भेटिन्छन्, जसलाई आफ्नै घर ढलेको भन्दा पनि वसन्तपुरको काष्ठमण्डप ढलेकोमा बढी दुःख लागेको छ ।

काठमाडौंलाई मन्दिरैमन्दिरको सहर भनिन्छ । एकजना पश्चिमी विद्वानले भनेको पनि रहेछ– काठमाडौंमा हिँड्दा बाटोमा कहीँ ठोकियो भने याद गर त्यो पक्कै कुनै देवताको मन्दिर हुन सक्छ । उनले पक्कै पनि काठमाडौंको मरू टोल घुमेपछि यो कुरा भनेको हुनुपर्छ । किनकि काठमाडौंको मरूटोल यो सहरको सबैभन्दा बढी मन्दिर रहेको क्षेत्र हो । र, यो क्षेत्रको सबैभन्दा पुरानो सम्पदा काष्ठमण्डप नै हुनुपर्दछ । किनभने काष्ठमण्डपको ‘मण्डप’ शब्द नै पछि अपभ्रंश हुँदै ‘मरू’ बन्न गएको हो । यो ‘मरू’ यति शक्तिशाली शब्द हो कि यसले यही क्षेत्रको पुरानो गणेश मन्दिर अशोक विनायकलाई समेत परिवर्तन गरी ‘मरू गणेश’ बनाइदिएको थियो । काठमाडौंवासी अझै पनि अशोक विनायकलाई त्यति चिन्दैनन् जति कि ‘मरू गणेद्यः’ लाई चिन्दछन् ।

काष्ठमण्डप

यसपालिको भूकम्पमा काठमाडौंको पहिचानसँग सम्बन्धित यस्ता धेरै सम्पदा ढले । काष्ठमण्डपसँगै रहेको माजु देगः, दशअवतार मन्दिर, कागेश्वर मन्दिर आदि जस्ता सम्पदा धुलोमा परिणत भए । नेपालकै सबैभन्दा पुरानो मन्दिर चाँगुनारायण क्षतिग्रस्त भए भने नेपाल उत्पत्तिकै किंवदन्तीसँग गाँसिएको स्वयम्भू महाचैत्य सम्पदाको सूचीबाट खतराको सूचीमा रूपान्तरित भए ।

काठमाडौंलाई यति शक्तिशाली सहर बनाउनुको पछाडि यी नै सम्पदाको ठूलो हात रहेको छ । अतः यी सम्पदा काठमाडौंको पहिचानमात्र होइन, काठमाडौंको शक्ति पनि हो ।

पाटनमा रातो मच्छिन्द्रनाथको बाह्र वर्षे जात्रा चलिरहेकै बेला मच्छिन्द्रनाथ बस्ने बुंगमतीको मन्दिर ढल्यो । पाटन ‘दरबार स्क्वायर’ क्षेत्रमा कृष्ण मन्दिर बाहेक अरू धेरै मन्दिर क्षति भए । पशुपतिनाथको मन्दिर केही नभए पनि पाशुपत क्षेत्रले भने धेरै नोक्सानी बेहोरे । धेरैपछि बनेको धरहरासमेत ठुटोमा परिणत भए । सम्पदाको हिसाबले भक्तपुर यसपटक अलि सुरक्षित रहे ।

पुरातŒव विभागले काठमाडौं उपत्यकाका ९० प्रतिशत सम्पदा क्षति भएको प्रारम्भिक अनुमान निकालेको छ । ९० प्रतिशत सम्पदा क्षति हुनुको सोझो अर्थ हुनेछ, ९० प्रतिशत उपत्यका क्षति हुनु । अरू घरहरू ढल्नु र यी सम्पदाहरू ढल्नु एउटै कुरा होइन । माथि पनि भनियो, काठमाडौं भनेको घरहरूको सहर होइन । यो सम्पदाहो सहर हो । सम्पदा नरहने हो भने काठमाडौं पनि रहने छैन । अहिलेको भूकम्पले ढालेका सबै घरहरू पुनर्निर्माण गरी सम्पदा जति सबैलाई त्यसै छोडिदिने हो भने यो सहरको नाम काठमाडौं रहने छैन । कथंकदाचित नाम काठमाडौं नै रहे पनि त्यहाँ ‘काठमाडौं’ भने हुने छैन ।

रानपाेखरी

सम्पदाहरू ढलेपछि त्यसबाट निस्केका एक एकवटा इँटा र एक एक टुक्रा काठसम्म पनि सुरक्षित गर्न स्थानीय जनता रातदिन लागेका छन् । वास्तवमा यी इँटा इँटामात्रै होइनन्, न काठ काठमात्रै हुन् । यी इँटा र काठको गुरुत्व कतिसम्म शक्तिशाली छन् भने यी सबैको गठजोडबाट निर्माण भएको सम्पदा नै वास्तवमा त्यो कारण थियो, जसले आफूले अनेक छलछाम गरी जितेको कान्तिपुर राज्यमा आफ्नै मूल गोर्खा राज्यलाई विलय गर्न तत्कालीन बडा महाराजाधिराज पृथ्वीनारायण शाहलाई बाध्य बनाइदियो । काठमाडौं उपत्यका उतिबेलै यति सम्पदाले सम्पन्न नभइदिएको भए न यहाँ पृथ्वीनारायण शाहले आक्रमण गथ्र्यो, न आक्रमण पछि यसैलाई आफ्नो राजधानी बनाउँथ्यो ।

एउटा विजित राज्य भइकन पनि काठमाडौं शताब्दियौंसम्म मुलुकको केन्द्र भइरहन सक्नुको प्रमुख कारण यी नै सम्पदा हुन् भन्न शायद हिच्किचाउनु पर्दैन । सम्पदाको आकर्षणले नै पछि क्रमशः राजनीतिक आकर्षण, आर्थिक आकर्षणहरू थपिँदै लगेका हुन् । संसारमा त्यस्ता धेरै सहर छन्, जो मुलुकको राजधानी बनेपछि क्रमशः शक्तिशाली बन्दै जान्छन् तर काठमाडौं राजधानी बनेपछि शक्तिशाली भएको सहर होइन । यो आफू शक्तिशाली भएको कारणले नै मुलुकको राजधानी बन्न सफल भएको सहर हो । मुलुकको राजधानी भएको कारणले काठमाडौंको शोभा बढेको होइन बरु काठमाडौं राजधानी बनेपछि नै मुलुकको शोभा बढ्न गएको हो । काठमाडौंलाई यति शक्तिशाली सहर बनाउनुको पछाडि यी नै सम्पदाको ठूलो हात रहेको छ । अतः यी सम्पदा काठमाडौंको पहिचानमात्र होइन, काठमाडौंको शक्ति पनि हो ।

भूकम्पले जे ढाले ती प्रत्यक्ष देखिने ‘टान्जिबल हेरिटेज’ हुन् । यसैको प्रतिफलस्वरूप अब प्रत्यक्ष नदेखिने ‘इन्टान्जिवल हेरिटेज’ अर्थात नाचगान, बाजागाज, नाटक आदि जस्ता सम्पदा कति क्षति हुने हुन्, त्यसको लेखाजोखा गर्नै बाँकी छ । अहिले जापानलगायत अन्तर्राष्ट्रिय समुदायले जे पुनर्निर्माण गर्ने भनिएको हो, त्यो ‘देखिने सम्पदा’ मात्रै हुन् । नदेखिने सम्पदाको ‘पुनर्निर्माण’ बारे अहिलेसम्म सोचिएकै छैन ।

त्यसो त नेपालका धेरै ‘नदेखिने सम्पदा’ हरू भूकम्प आउनुअघि नै ध्वस्त भइसकेका छन् । राज्यले त्यसमा कहिल्यै ध्यान दिएको छैन । अहिले ध्वस्त भएका सम्पदालाई आधुनिक नेपालका राज्यसत्ताले पर्यटकलाई देखाएर पैसा माग्ने भाँडोबाहेक सहरको शक्ति पनि हो भनेर कहिल्यै महसुस गरेको पाइँदैन । काठमाडौं नबुझ्ने शासक र प्रशासकको कारणले काठमाडौंका सम्पदा क्षतिग्रस्त त पहिल्यै भइसकेको थियो, ढलेको मात्रै अहिले हो ।

त्यसैले यसपालि आएको भुइँचालोबाट काठमाडौंले जे गुमायो त्यो दुई चारवटा मन्दिर वा दुई चारवटा शिवालय–देवालयमात्र होइन । यदि बेलैमा यसको पुनरुत्थान नहुने हो भने काठमाडौंले आफ्नो कान्ति र शक्ति पनि गुमाउने छ ।
यद्यपि वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी भने यी सम्पदाको क्षतिबाट आत्तिहाल्नुपर्ने आवश्यकता देख्नुहुन्न । उहाँ भन्नुहुन्छ, ‘भलै यी सम्पदा निर्माण भएको काठमाडौंमा हो तर यो काठमाडौंको मात्रै सम्पत्ति होइन । यो त विश्वकै सम्पदा हो । त्यसैले यसलाई विश्वसम्पदाको सूचीमा राखिएको हो । अतः यसलाई बनाउने जिम्मा पनि विश्वले नै लिनेछ ।’

जोशीको भनाइबाट थाहा हुन्छ, सम्पदाको कारण काठमाडौं नेपालको मात्र होइन विश्वकै लागि पनि महŒवपूर्ण सहर बनिसकेको रहेछ । त्यसैले यो ढल्दा देशमात्र होइन, विश्व नै चिन्तित हुनुपर्ने घडी आएको छ । काठमाडौं–सम्पदाको शक्तिमाथि उहाँको उच्चस्तरको विश्वास रहेछ । त्यसैले उहाँ अझै ढुक्क हुँदै भन्नुहुन्छ, ‘यसमा हामी चिन्तित नहोऔं । यो विश्वकै सम्पदा भएको कारणले युनेस्कोले कहीं न कहींबाट दाता खोजेर यो बनाउँछ बनाउँछ ।’

सोचौँ, एउटा ढलिसकेको सम्पदा त आज यति ठूलो हैसियत राख्छ भने उभिएको बेला यसको हैसियत कति उच्च थियो होला ? के हामीले त्यो उच्चता कहिल्यै महसुस ग¥यौं ?

 

-हाकाहाकीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.