टौदहकी नागरानीको चरित्र

उमा एन शर्मा

काठमाडौं उपत्यकाको काठमाडौं जिल्ला अन्तर्गत कीर्तिपुर नगरपालिका वडा नं १५ स्थित टौदहकी नागरानीको खराब चरित्रको बारेमा दुईवटा उस्तै उस्तै तर बेग्लाबेग्लै कहानीहरू सुन्न वा पढ्न पाइन्छ ।

कथा नं १

नेपाली ऐतिहासिक कथा संग्रह‘ भन्ने पुस्तकमा उल्लिखित एउटा कहानी अनुसार पाटनका राजा योगनरेन्द्र मल्लका पालामा अहिलेको टौदह भन्ने ठाउँ र पोखरी (वा सरोवर) पाटन नगरीकै एउटा प्रान्तमा पर्थे रे । टौदह नाम गरेको उक्त सरोवरमा कर्कोटक नागराजा र नागरानी बस्थे । कथाका अनुसार टौदहका कर्कोटक नागराजा घुमफिर गर्ने वा टहल्ने उद्देश्यले बेलाबखत टौदहबाट बाहिर जाने गर्थे रे । जबजब नागराजा बाहिर निस्कन्छन् तबतब नागरानी पनि सुटुक्क निस्केर खोकनाको नागसँग सुखसयल गर्न जान्थिन् रे । टौदहकी नागरानी र खोकनाको नाग सुखसयल गर्ने ठाउँ बुङ्गमती गाउँको मोहनचा नाम गरेको ज्यापूको खेत थियो । एकदिन मोहनचा ज्यापूले आफ्नो खेतको धान मडारेको देखी यो धान मडार्ने काम कस्को रहेछ भनी चियो गर्न बसेछन् । संयोगवश त्यो दिन टौदहकी नागरानी र खोकना पोखरीको नाग दुवै त्यस खेतमा आएर सुखसयल गर्न भनी मडारिन मात्र के लागेका थिए, ज्यापूले नागिनीलाई चिनेर टौदहकी प्रसिद्ध नागराजाकी स्त्री भएर पनि यसरी परपुरुषसँग  सुखसयल गर्न हिड्ने भनी नोल्ले पिटेछन् । नाग र नागरानी त्यहाँबाट भागेर आ(आफ्ना बासस्थानमा गएछन् । टौदहकी नागरानीलाई नोलको ठूलै चोट लागेको रहेछ । त्यसैले उनी घाउको पिडाले छटपटाई रहेकी थिइन् । त्यसै बखत नागराजा आई आफ्नी छटपटाई रहेकी स्त्रीलाई सोध्दा भए, “प्रिये, तिमीलाई आज के भयो रु छटपटाउन लागेकी छौ, के उपाय गर्नुपर्र्यो भन ।” उनले भनिन् , “प्राणनाथ, मलाई अरू केही भएको छैन बुङ्गमतीको मोहनचा ज्यापू बडो टुन्याहा छ, विना कारण त्यसले भेदिदिएकोले मलाई साह्रै बेदना भइरहेको छ । त्यस ज्यापूको शरीर दाह गरेको खरानी नभई मेरो वेदना छुट्दैन । यसको लागि जुन उपायले भए पनि त्यसलाई मारी त्यसको शरीर दाह गरेको खरानी ल्याउने उपाय गर्नुहोस् । नत्र मलाई यो प्राण धान्न साह्रै मुस्किल पर्नेछ” ।

मोहनचा ज्यापूलाई मारेपछि आफ्नो कर्तुतको पोल नखोलिने र भोलिका दिनहरूमा पनि खोकनाको नागसँग ढुक्कसँग सुखसयल गरी रमाउन सकिने भएकाले नागरानीले यस्तो षडयन्त्र रचेको हुनुपर्छ । तर षडयन्त्रको फल के गतिलो हुन्थ्यो र रु यस्तो बदलाको भावना राखेको कारणले पनि उनको खराब चरित्रको पोल झन् छिटो खुल्न गयो ।

नागरानीको कुरा सुनेपछि आफ्नी प्यारी रानीलाई भेदी दुस्ख दिने त्यस दुष्ट टुन्याहा ज्यापूलाई नमारी छोड्दिन भनी नागराजा सियो जस्तो भई बुङ्गमती पुगेर आफ्नो शरीर बढाई ज्यापूको घर वरिपरि बेरिई झ्यालबाट टाउको छिराई ज्यापूलाई डस्न तयार भए । तर त्यही मौकामा ज्यापू र ज्यापूनीको बीचमा केही ठाकठुक हुँदै थियो । ज्यापू आफ्नी श्रीमतीलाई भन्दै थिए, “टौदहका प्रसिद्ध नागराजाकी स्त्री भएर पनि परपुरुषसँग सुखसयल गर्न हाम्रा खेतमा आई धान मडारी बेकम्मा तुल्याइदिएकोले नागिनिलाई नोलले डँडालोमा हानेर घाइते बनाइदिएँ । कतै तँलाई पनि त्यस्तै बिसन्चो भएको त होइन रु” यो कुरा टौदहका नागराजाले बाहिरैबाट सुनी आफ्नी स्त्रीको कर्तव्य बुझी झट्ट मानिसको रूप लिएर ज्यापूसँग सोधनी गर्न लागे, “ज्यापू भाइ तिमीले आफ्नी पत्नीसँग के कुरा गरेका हौ, सो कुरा मलाई खुलस्त पार । म तिमीदेखि धेरै खुशी हुनेछु । म टौदहको नागराजा हुँ । तिमीसँग कुरा बुझ्नको लागि मानिसको रूप लिएर आएको हुँ ।” मोहनचा ज्यापूले पनि यसबारे आफूले देखेको घटनाको बेलीबिस्तार लगाइदिए । ति ज्यापूदेखि नागराजा बहुतै खुशी भए । उनले ज्यापूलाई एउटा मणि दिंदै भने, “लाउ, यो मणि साथमा रहुन्जेल तिमिलाई कालले पनि छुन सक्दैन । आठओटा असम्भव कुरा पूर्ण नभएसम्म मात्र यो मणि तिमीसँग रहन सक्ने छ ।” यति कुरा भनेर ज्यापूलाई मणि दिई नागराजा आफ्नो दहतिर लागे। दहमा पुगेर नागरानीलाई निकालिदिए ।
उता मोहनचा ज्यापू लामो समयसम्म बाँच्दा बाँच्दा दिक्क लागी धेरै बाँचेर के काम भन्ने सोचेर त्यो मणि तत्कालिन पाटनका राजा योगनरेन्द्र मल्ललाई सुम्पिए रे ।

फछि गएर राजा योगनरेन्द्र मल्लले पनि ज्यापुले जस्तै धेरै बाँचेर के काम भन्ने सोची ८ वटा असम्भव कुराहरु कल्पना गरी अदृश्य भए रे । राजा योगनरेन्द्र मल्लका ८ वटा असम्भव कल्पनाहरू निम्न प्रकारका थिए रे (
१।    मेरो ललितपुर नगरमा रत्न वर्षोस् ।
२।    मरो दरबार अगाडि देवालयको दायाँ बायाँ रहेका ढुंगाको हात्तीले दरबारदेखि उत्तरतर्फ भएको गहिरो सुन्धारामा गएर पानी पिउन् ।
३।    दरबारदेखि सामुन्नेको कृष्ण मन्दिर अगाडि रहेको गरूडले कुखुराको फूल जत्रो एक जोडी मोति हगोस् ।
४।    गद्दी बस्ने डबलीको पूर्वतर्फ पाटीको ढुंगामा किटको बन्दुकको आकार छ, त्यसबाट बन्दुकको आवाज आओस्।
५।    त्यही पेटीमा रहेको ढुंगाको कुकुर भुकोस् ।
६।    दरबारदेखि उत्तरपट्टिको सुन्धाराबाट दुध बगोस् ।
७।    गद्दी बस्ने डवलीमा मध्यान्न कालमा लाखे नाचोस् ।
८।    मेरो दरबार अगाडि ढुङ्गाको स्तम्भमा आफ्नो सुनको शालिक स्थापना गरी त्यसमाथि रहेको नागको शिरमा सुनचरी राख्छु । त्यो सुनचरी उडी बैकुण्ठको बाटो लागोस् । त्यस चरीका पछि लागी मेरो जीव पनि बैकुण्ठधाम पुगोस् ।”

यी कल्पना अनुसार सबै बन्दोबस्त मिलाई सके पछि राजा योगनरेन्द्र मल्ल अदृश्य भएका हुन् रे । यी कल्पनाहरू पूरा भए पछि मात्र अर्थात् अन्त्यमा मेरो शालिक माथि रहेको नागको शिरमा निर्मित सुनचरी उडेर गएपछि मात्र मेरो मृत्यु भयो भन्ने जानी मेरा प्यारा नगरबासीले शोक मनाउनु भन्ने उनको उर्दी थियो रे । त्यसकारण अहिलेसम्म पनि राजा योगनरेन्द्र मल्ललाई जिउँदो  वा अमर राजाको रूपमा चिनिन्छ ।

 

कथा नं २

टौदहकी नागरानीको चरित्र सम्बन्धि अर्को एउटा किंवदन्ती अनुसार चोभारको आदिनाथ नजिकै एकजना नन्दग्वाला बस्थे । उनी आदिनाथका भक्त भएकाले दिनहुँ गाइको दुध लगेर आदिनाथलाई चढाउँथे रे ।
एकदिन ती नन्द ग्वालाले चोभारको फेदीमा गाई चराइरहेको बेलामा एउटा अति अचम्मको सहनै नसकिने दृश्य देख्न पुगेछन् । त्यहाँ एउटा नाग र नागिनी एक अर्कासँग लठारिएर सुखसयलमा रमाइरहेका रहेछन् । यो कुरा ती नन्द ग्वालालाई आश्चर्यजनक र असाध्यै यस अर्थमा भयो कि ती नागिनी चाहिँ टौदहका प्रसिद्ध नागराजाकी स्त्री वा नागरानी थिइन् भने नाग चाहिँ नागराजा नभई अरू कुनै साधारण नाग थियो । यस्तो पापपूर्ण र अनैतिक दृश्य देख्दा नन्दग्वालालाई सही नसक्नु भएकोले बेरिइरहेका नाग(नागिनीमाथि लठ्ठी उठाएर बजारेछन् । यसो गर्दा नागरानीलाई पनि चोट लाग्नु स्वभाविकै थियो । त्यसकारण एकातिर त्यस्तो पापपूर्ण दृश्य देखेको र अर्कोतिर नागरानीलाई समेत लठ्ठीले हान्न  परेकोमा ती ग्वालालाई धेरै चिन्ता भयो । घाँसको भारी बोकी गाईहरू लिएर घरतिर जाँदै गर्दा घाँसको भारीमा पापको भारी थपिंदै गएको महसुस भई उनका मनमा सन्ताप उत्पन्न भयो र हिंड्न पनि धेरै कठिन भयो । यो कुरा कसैलाई नभनी बसेमा मनको पीरको बोझ पनि नघट्ने र पापबाट पनि मुक्त हुन नसक्ने देखी घरमा गएर सम्पूर्ण घटना आफ्नी श्रीमतीलाई सुनाउने निधो गरे । यतिले मात्र पनि उनलाई केही हल्का महसुस भयो ।

उता नन्द ग्वालाको लठ्ठीको प्रहारले घाइते भएकी नागरानी पनि एकातिर नागराजाले आफ्नो कर्तुत थाहा पाउन सक्ने डरले चिन्तित थिइन भने अर्कोतिर नन्द ग्वालासँग एकदमै रिसाइरहेकी थिइन् । टौदह पुगेपछि उनले नागराजालाई कुरा बनाएर भनिन्, “हेर्नोस् न यसो टहल्न बाहिर निस्केकी त विनाकारण त्यो चोभारको नन्द ग्वालाले लठ्ठी प्रहार गरी घाइते बनाइदियो ।”

नागरानीको यस्तो कुरा सुनी वास्तविकता बुझी बदला लिन भनी नागराजा नन्दतालाका घरतिर लागे । नागराजा नन्द ग्वालाको झुपडीमा पुग्दा ग्वालाले दिउँसोको घटना आफ्नी श्रीमतीलाई सुनाउँदै थिए । नागराजाले त्यो सबै कुरा बाहिरबाटै सुनिसकेपछि गल्ती त आफ्नै रानीको  रहेछ भन्ने महसुस गरे । तर पनि कसैले केही भन्यो भन्दैमा आँखा चिम्लेर त्यसको पछि लाग्ने कुरा त भएन । त्यसकारण नन्दग्वालाले भनेको कुरा आक्षेप मात्र हो कि सत्य कुरा हो यकिन गर्नको लागि नागराजा जोगीको रूप लिएर भिक्षा माग्ने निहुँमा नन्द ग्वालाका घरमा गएछन् । जब नन्द ग्वालाले भिक्षा लिएर आए तब उनलाई भिक्षा दिनु भन्दा अगाडि एक पटक आँखा चिम्लिन भनेछन् । जोगीको आज्ञा अनुसार नन्द ग्वालाले पनि एकछिनको लागि आँखा चिम्लिए । आँखा खोल्दा नन्द ग्वालाले आफूलाई त्यही जोगीको अगाडि टौदहको डिलमा उभिइरहेको अवस्थामा पाएछन् । यस्तो घटनाबाट भयभित भई आदिनाथलाई सम्झेछन् । त्यति नै खेर ती जोगीले आफू टौदहको नागराजा भएको र नागरानीको बारेमा ती ग्वालाले आफ्नी श्रीमतीसँग भनेको सबै कुरा सुनेकाले सो कुरा साँचो हो कि होइन भनी पत्ता लगाउन उनलाई त्यहाँसम्म लगेको कुरा बताए । फेरी एक पटक आँखा चिम्लिन लगाएछन् । यतिबेलासम्म नन्द ग्वाला पनि आदिनाथका शक्तिले निडर भैसकेका थिए । त्यसकारण नन्द ग्वालाले जोगीका आज्ञा मुताविक पुन एक पटक आँखा चिम्लिए र आँखा खोल्दा उनी टौदहको पोखरीभित्रको एउटा भव्य दरबारभित्र पुगिसकेका थिए । उक्त दरबारमा नागरानी लगायत अन्य थुप्रै नागिनीहरू थिए । नागरानीलाई अन्य नागिनीहरूको बीचमा राखी नन्द ग्वालालाई त्यो एउटा साधारण नागसँग सुखसयलमा रमाउने नागिनी कुन चाहिँ हो भनी सोध्दा उसले ठ्याक्कै नागरानीलाई औंल्याएर देखाए पछि त्यो कुरा साँचो रहेछ भनी पत्ता लगाए ।

यसरी आफ्नी रानीको बारेमा साँचो साँचो कुरा बताएकोमा नागराजा खुशी भई नन्द ग्वालालाई एउटा औंठी दिँदै भनेछन् , “लाउ, यो औंठी तिम्रो औंलामा रहुन्जेल तिमीले पशुवाक्य बुझ्नेछौं । तर यो कुरा कसैलाई भनेमा तिम्रो मृत्यु हुनेछ ।” नन्द ग्वाला खशी हुँदै घर फर्केछन् ।

एकदिन नन्द ग्वाला कतै भोज खाँदै गर्दा भुईँमा खसेको एउटा चिउराको दानालाई दुईवटा कमिलाले तानातान गरी झगडा गरेको सुनी एक्लै खितित्त हाँस्न पुगेछन् । यसरी एक्लै हाँसेको देखेर उनका साथीहरूले किन हाँसिस् भनी सोध्दा यो कुरा तिमीहरूलाई भन्न मिल्दैन भनी टारेछन् । पछि गएर उनले पशुवाक्य बुझ्ने कुरा एक कान दुई कान मैदान हुँदै तात्कालिन राजाकहाँसम्म पुगेछ । राजाले तँ कसरी पशुवाक्य बुझ्ने भइस् भनी निकै केरकार गरी कष्ट दिए पछि त्यो कुरा भन्न बाध्य भएछन् । तर त्यो रहस्य बताउनु भन्दा अगाडि एउटा चिता बनाई उनलाई त्यस चिता माथि राखिदिनु पर्ने शर्त गरेछन् । राजाले पनि उनको माग बमोजिम अहिलेको वागमती र नख्खु खोलाको दोभान नजिकै एउटा चिता बनाई नन्द ग्वालालाई त्यस माथि राखेछन् । जब ती ग्वालाले आफ्नो हातको औंलामा भएको औंठी निकाल्दै जब “यही औंठीले ।।।” भनी रहस्य बताउन लागेका मात्र के थिए उनी त्यहीँ जलेर भस्म भएछन् । त्यसै बेलादेखि अहिलेसम्म पनि चोभार निवासी नेवार जातीको लास सतिगति गर्ने वा जलाउने ठाउँ त्यही हो । त्यो ठाउँमा सर्वप्रथम नन्द ग्वालाको चिता जलेको भएर त्यसलाई अहिलेसम्म पनि ग्वादेप भनेर चिनिन्छ भन्छन् आदिनाथ लोकेश्वरका एक पुजारी सरोज शाक्य ।

अनलाइन दर्पणय् लूगु थ्व खय् भाय्या बाखं झीगु सम्पदा खः । थुकिया सत्य तथ्य थूपिन्सं थुकिइ तनाः झीगु अमुर्त सम्पदा म्वाकातयेत ग्वहालि यानादी धइगु मनंतुना । 

2 thoughts on “टौदहकी नागरानीको चरित्र

  • July 12, 2018 at 5:12 pm
    Permalink

    Looks very interesting ..

    Reply
  • July 13, 2018 at 11:55 am
    Permalink

    The collection about newar and their religion is so nice. We are so proud of u that u will continue it to enhance to the people so that all may know it.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.