नेपालभाषाका निबन्ध र केही निबन्धकार

डा जनकलाल बैद्य

लिच्छविकालीन नेपालका २०० वटा जति शिलापत्रमा भेटिने २४८ वटाजति असंस्कृत शब्दहरू नेपालभाषामा अद्यापि प्रयुक्त र व्यवहृत भएका पाइनाले त्यतिखेर नेपालभाषा प्रचलित भइरहेकोको सङ्केत मिल्छ । धेरै वर्षको अन्तरालपछि ने.सं. २३५ वि.सं. ११७२ ओकुबहाल पाटनको एक ताडपत्राभिलेखमा तद् विहारको गुठी सम्बन्धि नियम नेपालभाषा गद्यमा लेखिएको पत्तालागेको छ । त्यसका पनि धेरै वर्षपछि ने.सं. ४९४ वि.सं. १४३१ को हरमेखला, ने.सं. ५०० वि.सं. १४३७ मा नारख संहिता मानवन्याय शास्त्र, ने.सं. ५०१ अर्थात् वि.सं. १४३८ मा अमरकोश, ने.स. ५०१ अर्थात् वि.सं. १४३८ मा अमरकोश, ने.सं. ५०८ वि.सं. १४१५ (अनुमानित) मा गोपाल राजवंशी जस्ता उच्चस्तरीय अभिलेख ग्रन्थहरूमा नेपालभाषा गद्य माध्यम प्रयोग भएका देखिन्छन् । तर त्यस बखतका पेशेवर लिपिकारहरू, ब्राहृमणहरू, ज्योतिषीहरू, कर्माचार्यहरू, गुभाजुहरू, कायस्थहरूबाहेक अरू सर्वसाधारण मानिसहरूले त्यस्ता अभिलेखग्रन्थ पढेर तिनबाट ज्ञान सञ्चय गर्न पाएका होओइन् । अज्ञान, अचेत, अशिक्षाको घोर अन्धकारमा रहेका स्थितिमा ती मानिसहरूले परस्पर बिचारविमर्श गर्ने, अरू कसैले लेखेको रचना पढेर, सुनेर प्रेरित भई लेख लेख्ने वातावरण नै त्यसबेला हुँदैनथ्यो ।

 

त्यसरी बुद्धधर्म र नेपालभाषा पत्रिका प्रकाशन बन्द गर्न बाध्य तुल्याइयो । नेपालभाषा साहित्यिक गतिविधि त्यो बेला थोरबहुत सक्रिय हुन लागेको पनि ठप्प भयो र चुपचाप रहन बाध्य भयो ।

 

नेपालभाषा गद्यले वैद्यक, वंशावली, घटनावली, कथा आख्यान, तन्त्र, नाटक-नाटिका, काव्य शास्त्र, सङ्गित शास्त्र, दर्शन इत्यादि विषयका अभिलेखग्रन्थहरूका माध्यमभाषाको भूमिका निर्वाह गरेर छ ः सय वर्षको लामो यात्रा तय गरिसकेको देखिन्छ । वि.सं. १९८० तिर सिद्धिदास अमात्यले सर्वबन्धु निबन्ध लेखिकन त्यतिकै राखेकामा २०२४ मा प्रकाशित भयो । उक्त सर्ववन्धुमा सिद्धिदास अमात्यले आफू व्यापारको कामको सिलसिलामा तत्कालीन बनारस कलकत्ता जाँदाको बखतमा आफ्नो मनमा उठेका विचार अनुभूतिहरू प्रत्यक्ष अप्रत्यक्षः सल्लाह उपदेशका रूपमा उल्लेख गरेका छन् । सहपाठी, सहयात्री, सहकर्मी, छिमेकी इत्यादिलाई सर्वबन्धु भनिएको छ ।

 

 

धेरै नै वर्षको अन्तरालपछि वि.सं. १९८२ तिरको दसकमा नेपालभाषाका एक साहसी सम्पादक धर्मादित्य धर्माचार्य (स्व. जगतमान वैद्य, जन्मः ने.सं. १०२२-१०८३/वि.सं. १९५९-२०२०) र सुधारवादी कवि योगवीरसिंह कंसाकार (ने.सं. १००६-१०६२ वि.सं. १९४३-१९९९) दुवैजनाका संयुक्त प्रयासबाट नेपालभाषा जगत्मा पुनर्जागरण आन्दोलन चलाइयो । त्यसैबेला कलकत्ताबाट धर्मादित्य धर्माचार्यको सम्पादनमा प्रकाशित भइरहेको मासिक पत्रिका बुद्ध धर्म वा, नेपालभाषाको माध्यमद्वारा वि.सं. १९८२-१९८५ तिर सञ्चालन हुँदै थियो । सम्पादक एक्लैको सत्प्रयासले चलनचल्तीको व्यावहारिक सरल सुबोर्धगम्य स्वाभाविक नेपालभाषा गद्यमा समसामयिक शैक्षिक, सामाजिक, बौद्ध, धार्मिक सामयिक चर्चा, टिकाटिप्पणी तथा मातृभाषा, नेपालभाषाबाट बालबालिकालाई शिक्षा दिलाउनु पर्ने भन्ने लेखहरू सोही पत्रिकामा बरोबर प्रकाशित गराइरहेका थिए । नेपालभाषाको प्राचीन वाङ्मय विधा अध्ययन गर्न समर्थ हुन नेवारहरूका प्राचीन रञ्जना, भुजिंमोल र प्रचलित नेवाराक्षर लेखपढ गर्ने बारेमा सल्लाह पनि सो पत्रिकामा सचित्र प्रकाशित गर्ने गर्थे । उहाँको एकल प्रयासबाट ‘नेपालभाषा वा थ्वया साहित्य’ शीर्षकको नेपालभाषाको पहिलो अनुसन्धान प्रबन्ध लेखी सोही पत्रिकामा प्रकाशित गराएका थिए । उहाँको त्यस प्रबन्ध लेखबाट फ्रान्सका विद्वान् सिल्भा लेभीसमेत प्रभावित भएका थिए । तिनले नेपालभाषाको स्थितिप्रति सहानुभूतिपूर्ण प्रत्युत्तर पनि सम्पादक धर्मादित्य धर्माचार्यले पाएका थिए, जुन सोही पत्रिकामा प्रकाशित भइसकेको छ ।

 

तर विडम्बनाको कुरा यही भयो कि उहाँले त्यत्रो प्रयास गरेर सम्झाई बुझाई गरेर दृष्टान्तस्वरूप आफ्नो पत्रिकामा लेख प्रकाशित गरिरहे पनि त्यसबेला उहाँको पत्रिकामा प्रकाशनार्थ केही बढी फुटकर पद्य-कविताहरू र बैकुण्ठप्रसाद श्रेष्ठ (लाकौल)ले रोमानी प्रवृत्तिशैलीका कविताहरू प्रकाशित पनि भए । नेपालभाषाको गद्यमा त्यसबेला कुनै विषयमा लेख लेखिएको पाइँदैन । त्यसबेलाको देशको अप्ठेरो स्थितिले गर्दा र तत्कालीन सरकारले विविध उच्च शैक्षिक उपाधि प्राप्त उहाँलाई तत्कालीन उद्योग परिषद्को खर्दार दर्जामा पदस्थापन गरी खटाए । त्यसरी बुद्धधर्म र नेपालभाषा पत्रिका प्रकाशन बन्द गर्न बाध्य तुल्याइयो । नेपालभाषा साहित्यिक गतिविधि त्यो बेला थोरबहुत सक्रिय हुन लागेको पनि ठप्प भयो र चुपचाप रहन बाध्य भयो । त्यस सन्नाटाको वातावरण चिरेर र निषेधबन्धन तोडेर आफ्नो मातृभाषामा लेख लेखी भारतको हिन्दी पत्रिका धर्मदूतबाट प्रकाशित गराउने साहस त भइरहृयो ।

 

 

धर्मदूत पत्रिकामा सुश्री मोतीलक्ष्मी उपासिकाका ‘उद्योग’ र ‘जन्म’ शीर्षकका निबन्धलेखहरू वि.सं. २००१/२००२ र २००४/२००५ मा प्रकाशित भए । त्यतिखेरको समयावधिभित्रमा नेवार, बौद्धभिक्षुहरूले नेपालभाषा गद्यमा बौद्धधर्मसम्बन्धी लेखहरू लेख्ने र नेपालभाषामा धर्म देसना साधना गर्दै थिए नेपाल उपत्यकाभित्र विशेषतः ललितपुरका सर्वश्री रत्नध्वज जोशी, पूर्णप्रसाद अमात्य, भैरवगोपाल वैद्यहरू मिलेर गुप्तरूपमा निबन्ध लेखी सुनाउने र त्यसबेला ‘नेपाल’ नामक हस्तलिखित पत्रिकामा प्रकाशित गरिरहेका थिए ।

तत्कालीन राणा एकतन्त्रीय शासनले नेपाल भाषामा धर्म देसना गरिरहेका नेपाली बौद्ध भिक्षुहरूलाई वि.सं. २००२ सालतिर देश निकाला गरे । भारतमा निर्वासित भएर आपत्, सङ्कट झेलिरहेका ती भिक्षुहरूका निम्ति आवास, भोजन, स्वाध्ययन, धर्मचर्याका निम्ति आवश्यक प्रबन्ध उपलब्ध गराउन भारतमा धर्मोदयसभा संस्था गठित भयो । छिट्टैनै उक्त धर्मोदय सभाको मुखपत्रका रूपमा नेपालभाषामा धर्मोदय मासिक पत्रिका वि.सं. २००४ कार्तिकदेखि प्रकाशित हुन थाल्यो । आधुनिक साहित्यिक मासिक पत्रिकामा समावेश हुनुपर्ने विधाका लेखरचना कविताले स्थान पाएको त्यस धर्मोदय मासिक पत्रिका प्रकाशनले नेपालीभाषी लेखक लेखिकाहरूले धर्मोदय पत्रिका अत्यन्त मन पराए । आफूहरू पनि त्यसमा प्रकाशित लेखसामग्री अध्ययन, मनन् चिन्तन् गरेपछि अनुप्रेरित भई आफूआफूले पनि धर्मोदय मासिक पत्रिकामा प्रकाशनार्थ लेख पठाउन उत्साहित हुन्थे ।

 

नेपालभाषाको प्राचीन वाङ्मय विधा अध्ययन गर्न समर्थ हुन नेवारहरूका प्राचीन रञ्जना, भुजिंमोल र प्रचलित नेवाराक्षर लेखपढ गर्ने बारेमा सल्लाह पनि सो पत्रिकामा सचित्र प्रकाशित गर्ने गर्थे ।

 

त्यस धर्मोदय मासिक पत्रिकामा रत्नध्वज जोशीको (वि.सं. १९७३-२०४६) ‘च्वयेगु छाय ?’ वि.सं. २००१ मा सुश्री मोतीलक्ष्मी उपासिकाको (वि.सं. १९६६-२०५९) ‘जन्म’ वि.सं. २००३ मा चित्तधर हृदयको (वि.सं. १९६२-२०३९) ‘छु च्वये ?’ वि.सं. २००५ मा, ठाकुरलाल मानन्धरको (वि.सं. १९६६-२०४७) ‘आदर्श प्रेम र मैत्री भावना’ वि.सं. २००४ मा प्रेमबहादुर कंसाकारको (वि.सं. १९७५-२०४८) हृयाउँ मचा, वि.सं. २००६ मा तथा फल्चा प्रकाशनबाट प्रकाशित २०४९ को निबन्ध पुस्तकबाट सिद्धिचरण श्रेष्ठको (वि.सं. १९६९-२०४९) ‘प्रेमः कवितामा प्राण’ वि.सं. २००० र तेजेश्वर बाबु ग्वंगः (वि.सं. १९९३) को संस्कृतिमा पलं -निबन्धसङ्ग्रह। डा. बिजयालक्ष्मी श्रेष्ठबाट प्रकाशित, ने.सं. १११९ पुस्तकमा प्रकाशित एक निबन्ध नेपालभाषा आधुनिक निबन्धका उत्कृष्ट दृष्टान्त मान्न योग्य छन् ।

 

 

नेपालभाषाका उपर्युक्त निबन्धकारहरूमध्ये रत्नध्वज जोशी, सुश्री मोतीलक्ष्मी उपासिका, चित्तधर हृदय, प्रेमबहादुर कंसाकार र तेजेश्वरबाबु ग्वंगले मात्र दीर्घकालसम्म निबन्ध साधनाप्रति प्रतिबद्धता दर्शाएको देखिन्छ । यीबाहेक अन्यले विधा परिवर्तन गरी अन्य विषयमा लेख्ने गरेका छन् । यस्तै विधा परिवर्तन गरी लेखकीय कर्तव्य भार निरन्तररूपमा थामिराख्नेहरूमा २००८ पछिका लेखकहरू पनि छन् ।

 

 

वि.सं. २००७ सालको जनक्रान्तिदेखि यताको नेपालमा समय समयमा आएको परिवर्तित परिवेसको वातावरणमा उत्साहित, उमङ्गति र कर्त्तव्यनिष्ठ भई नेपालभाषा निबन्धलाई उन्नत गर्ने अन्य निबन्ध लेखकहरूमा सत्यमोहन जोशी, सूर्यबहादुर पिवाः, फणाीन्द्ररत्न बज्राचार्य, पूर्णबहादुर वैद्य, पद्यरत्न तुलाधर, मङ्गलप्रसाद स्यस्यः, रमेशकाजी स्थापित, विजयेश्वर वैद्य, धु्रवनारायण कायस्थ, ठाकुरमान शाक्य, कल्पित तुलाधर, अमिररत्न ताम्राकारहरू पनि देखापरेका छन् ।

 

 

नेपालभाषाका केही निबन्धकारहरूको सङ्क्षिप्त परिचय र निबन्धकारिताको विशेषताः स्व. रत्नध्वज जोशी नेपालभाषाको जेठो आधुनिक निबन्धकारमा गणना गरिएको छ । उहाँका तीन पुस्तकहरू निबन्ध निपुचः निबन्ध स्वपुच । आरती र लिसः (समालोचना) प्रकाशित छन् । उहाँका यी पुस्तकका निबन्धहरूले उहाँको स्थान नेपालभाषा निबन्ध विधामा उच्च रहेको पुष्ट्याइँ गरेका छन् । स्वाध्यायी र अध्यवसायी जोशीका शिष्ट, सन्तुलित र स्वस्थ तर्कयुक्त निबन्धहरू अधिकांशतः विषयपरक भएर पनि तिनमा उहाँको अनुभूति प्रतिक्रिया र आलोचकीय व्यक्तित्व देखापर्छन् । चित्तधर ‘हृदय’ले नेपालभाषा गद्यलाई धर्म, नीतिविधि, विषयवस्तुका सीमित घेराबाट उन्मुक्त गराई सिर्जनशील चिन्तन र आत्मपकाशनको माध्यम बनाए । उहाँले पनि प्रौढ परिष्कृत र स्तरीय गद्य शैलीमा नेपाली संस्कृति, कला र समाज विषयको गरिमामय विविध सारभूत ज्ञानबर्द्धक लाग्ने निबन्धहरूको सँगालो नेपाल संस्कृति पुस्तक (वि.सं. २०२९), नेपालभाषाको पुनर्जागरणकालीन र जेलकालीन ऐतिहासिक परिचयबोध गराउने कृति झीगु साहित्य (वि.सं. २०११), महाचीने नेपाल संस्कृतिजस्तो पत्रात्मक शैलीमा लिखित यात्रानुभूतिप्रधान पुस्तक -वि.सं. २०११ प्रकाशित गरी गुन लगाएका छन् ।

 

 

सुश्री मोतीलक्ष्मी उपासिका नेपालभाषाकी एक मात्र दीर्घजीवी महिला निबन्धकार हुन् । कथा र कविता विधाका पनि उनका कृतिहरू प्रकाशित छन् तापनि उनी नेपालभाषाको वरिष्ठ महिला निबन्धकारको रूपमा सम्मानित भएकी छिन् । उनका मोती माः (वि.सं. २०१५) निबन्धसङ्ग्रह, संघ (वि.सं. २०१७) प्रबन्ध, र धौबजि (वि.सं. २०५४) निबन्धसङ्ग्रह र अन्य कथा, कविताका छुट्टाछुट्टै सङ्ग्रहहरू पनि प्रकाशित छन् । स्त्री सुलभ कोमलता र शिष्टता, सरलता, गृहस्थकार्यदेखि साहित्यिक सिर्जना र बौद्ध धार्मिक कृत्यसम्मनै उनका सक्रियता रहेको थियो । उनका निबन्ध प्रबन्ध कृतिमा बौद्ध धर्म दर्शनका उदात्त अथ्र्याई तथा तार्किकता र विवेचनात्मकता टड्कारो देखापर्छन् ।

 

 

ठाकुरलाल मानन्धरले शुरुमा आत्मपरक निबन्धलेखी धर्मोदय मासिक पत्रिकामा प्रकाशित गराएका हुन् । तर नेपाल ऋतु पौभा अनुसन्धानात्मक गम्भीर प्रकृतिका स्तरीय लेखहरू लेखिकन प्रकाशित गराएका छन् । उहाँका भाजु निबन्धसङ्ग्रह वि.सं. २०४१ प्रकाशित भइसकेको छ । उनको आत्मपरक निबन्धको शैली गम्भीर प्रकृतिको लाग्छ । प्रबन्ध कृति रचनाहरूमा पनि पाठकलाई आत्मपरक निबन्धमा पाइनेजस्ता मैत्री व्यवहारको अनुभूति गराउनुहुन्छ । अन्वेषणात्मक प्रबन्धलेखमा पनि उहाँको आत्मपरक निबन्धात्मक रोचकता र शैलीको प्रयोग गरिरहनुभएको दृष्टिगोचर हुन आउँछ ।

 

 

प्रेमबहादुर कंसाकारलाई नेपालभाषाका आत्मपरक निबन्धकारहरूमध्ये वरिष्ठ निबन्धकारको मान्यता दिइएको छ । उहाँले आफ्ना निबन्धहरूमा दैनन्दिन अनुभवदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय घटनासम्मका प्रसङ्ग समेटेर स्वच्छन्द कवितामय गद्यमा उहाँ निबन्ध लेख्ने गर्नुहुन्छ । साधारण वस्तुभित्र असाधारण गुण रहेको चाल पाउने उहाँले नेपाली संस्कृति सभ्यतामा अन्तर्निहित विशेषताहरूको स्वस्थ र तर्कयुक्त पुष्ट्याइँ पाइन्छ । उहाँको न्हूपुखु निबन्ध सङ्ग्रह (वि.सं. २०१५) प्रकाशित भइसकेको छ । यसभाषाका अन्य निबन्धकारहरू पद्यरत्न तुलाधर, पूर्णबहादुर बैद्यका निबन्धमा पनि उस्तै शैली, प्रस्तुति र प्रवृत्ति देख्न पाइन्छ । सत्यमोहन जोशी विशेषतः नेपाली लोकसंस्कृति र पुरातात्विक विषय सम्बन्धित निबन्ध, प्रबन्ध रचनाहरू सरल र स्पष्ट भाषामा लेखी प्रकाशित गर्ने गर्नुहुन्छ । उहाँ उमेरले, सुस्वस्थताले, ओजस्वी विचारभाव अभिव्यक्ति शक्तिले, लेखकृतिहरूका सङ्ख्यात्मक र गुणात्मक ओजनले उच्च देखिनुहुन्छ ।

 

 

तेेजेश्वरबाबु ग्वंगःको निबन्ध सङ्ग्रह संस्कृतिया पलं २०५६ प्रकाशित छ । त्यसमा समाविष्ट निबन्धहरूले समग्रतः रूपमा नेवार धर्म संस्कृति, जीवन दर्शन, रीतिरिवाज, थितिविधि विधिहरूले सूक्ष्मरूपले कणकण, अणु-अणु केलाई विश्लेषण संस्लेषण गरी विभिन्न कोणले अथ्र्याइ निस्कर्ष निकाली नेपाली संस्कृतिको गौरव गरिमा बोध गराएका छन् ।

 

 

प्रत्येक निबन्धका वाक्य, शब्दहरूका स्थान अदलाबदला गरी पुनः अन्ततः तिनीहरूलाई पूर्ववतकै यथास्थानमा राखिकन आफ्नो निबन्धमा आफूले अभिव्यक्त गरेका भनाइ, भाव, विचार, प्रतीक, विम्वहरू पाठकलाई सम्झाई बुझाई गर्ने गर्नुहुन्छ । उहाँले निबन्धका शब्द-शब्द, वाक्य-वाक्य, उखानटुक्का, भक्तपुरको स्थानीय सांस्कृतिक क्रियाकलाप र शब्दसँग राम्रै खेलतमासा, चमत्कार प्रदर्शन गर्न सक्षम हुनुहुन्छ । यस क्षेत्रमा उहाँलाई भेटाउने अरू कोही सर्जक नेपाल भाषामा देखापरेको छैन ।

साभार मधुपर्क २०६७ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.