चित्तधर ‘हृदय’

सन्दर्भ महाकवि चित्तधर ‘हृदय’को १११अौं जन्म जयन्ती

काशीनाथ तमोट

काठमाडौ नरदेवीका चित्तधर ‘हृदय’ (विसं १९६३-२०३९) नेवारी साहित्यका महाकवि हुन्।उनी मूलतः कवि भएपनि उनका अरु विविध विधामा पनि अग्रस्थान रहेको छ। उनी वहुप्रतिभाशाली व्यक्तित्व हुनाका साथै उनको कार्य एउटा संस्थाको जस्तो थियो। उनी नेपालको एउटा उदाहरणीय साहित्यकार हुन्, जसले नेपाली तथा नेवारी साहित्यका माध्यमिक साहित्यकारहरुका सन्निकटमा रहेर नेपालको माध्यमिक काव्य परम्पराको उत्तराधिकारीका रुपमा काव्य सिर्जना गरे। योगवीरसिंह (१९४३-९८)लाई गुरु मान्ने चित्तधर उपासक (तुलाधर)ले उनको केलटोलको कपडा-कोठीमा १९७० दशकमा जम्मा हुने कविसभाका कविहरु चक्रपाणि चालिसे (१९४१-२०१४), सोमनाथ सिग्देल (१९४१-२०२९), लेखनाथ पौडेल (१९४१-२०२२), शम्भूप्रशाद ढुंगेल(१९४६-८६) आदिको सेवा गरेका थिए। सोही कपडा-कोठीमा सार्वजनिक पुस्तकालय खोल्ने योजना बनाउने क्रममा सो पर्वमा १९८७मा चित्तधर पनि पक्रिएका थिए।

चित्तधर ‘हृदय’ले आफ्ना समयका भाषा, साहित्य, संस्कृति विषयका विविध संस्थाहरुमा नेपाल बुद्ध धर्म उद्धार संघ (१९८१), एकादशी गुठी (१९८३), नेपाल सांस्कृतिक परिषद् (२००८), एशियाली सांस्कृतिक समन्वय परिषद् (२००९), धर्मोदय सभा, त्रिभुवन स्मारक समिति, नेपाल-चीन सांकृतिक परिषद्, आदि छन्। उनले आफ्नै सक्रियतामा संस्थापित नेपालभाषा परिषद्‌‌मा सचिव (२००७-३१), उपाध्यक्ष (२०३१-३६) र संरक्षक (२०३६-३९) भई आजीवन सेवा -संबर्द्धन गरे।

चित्तधर ‘हृदय’का भौतिक सन्तान भएनन्। उनले आफ्ना कृतिहरुमध्ये सुगत-सौरभ (रचना १९९८-२००२ जेल, प्रकाशन २००६) महाकाव्यलाई मानस-पुत्र र मिं मनः पौ (“आगोले नखाएको पत्र”प्र. २०२५) १०७ पृष्ठको नेपाल-तिब्बत सांस्कृतिक सम्बन्ध विषयक लामो कथालाई मानस-पुत्रीको रुपमा लिएको पाइन्छ। सुगत-सौरभ भगवान् बुद्धको जीवनीमा आधारित १९ सर्गे महाकाव्य हो भने मिं मनः पौ जर्मन कथाकार स्टेफन ज्वाइग (ई १८८१-१९४२)को “अपरिचित आइमाईको पत्र”बाट प्रभावित नेपालको सांस्कृतिक जीवनलाई कथामा ढालिएको लामो कथा हो।

चित्तधर ‘हृदय’को पहिलो प्रकाशित कविता “बुद्धोपासकया पापदेशना” (बुद्धको उपासकको पापको आत्मस्वीकृति) पहिलो नेवारी पत्रिका बुद्धधर्म (विसं १९८३ वैशाख-जेठ) मा प्रकाशित भएको थियो। उनको पहिलो प्रकाशित कृति पद्य-निकुञ्ज (विसं १९८९) हो। यसमा रहेको “माँ” कवितामा “मातृविहीन बालक हृदय” पद्यांशमा आपत्ति जनाई उनलाई १९९७ सालमा ६ वर्षको काराबास दिइएको थियो। यसै पद्यकृतिदेखि चित्तधर उपासक ‘हृदय’ भएका हुन्। १९९० को दशकमा उनले नेपाली र हिन्दीमा पनि कविता रचे। ‘साहित्य’ (विसं १९९२) र “अनिमन्त्रित पाहुना” (विसं १९९५) शारदामा प्रकाशित दुई नेपाली कविता हुन्। जेलभित्र उनले चार हिन्दी कविता रचे। उनका करीब एक दर्जन हिन्दी कविता उपलब्ध, तर अप्रकाशित छ।

चित्तधर ‘हृदय’का १३ पद्यकृति प्रकाशित छन्। तिनमा हृदय-कुसुम (२००४), याकःमिया चा (एक्लो मान्छेको रात,२००७), देगः (देवल,२०१६) आदि प्रसिद्ध छन्। उनको खुपु बाखंचा (६ छोटा कथा, २००४) पहिलो नेवारी प्रकाशित कथा-संग्रह हो। साहित्यको इतिहास विषयक झीगु साहित्य (हाम्रो साहित्य, २०११) उनको अर्को उल्लेखनीय कृति हो। प्राचीन नेवारी वाङ्मयको संकलन नेपालभाषा साहित्यया जातः ( नेवारी साहित्यको जन्मपत्रिका, २०२८) उनको अर्को प्रशंसनीय सँगालो हो।

चित्तधर ‘हृदय’को लामो साहित्य सेवाको कदरस्वरुप उनलाई नेवारी साहित्यिक संस्था च्वसापासाले २०१३ जेठ १५ गते “साहित्य-शिरोमणि” उपाधिबाट विभूषित गर्‍यो। त्यसको अर्को महिना असार २० गते उनलाई टङ्कप्रसाद आचार्यको प्रधानमन्त्रित्व कालमा नेपाल सरकारबाट “कवि-केशरी” उपाधि प्रदान गरियो र त्यसबेलाको शिक्षामन्त्री बालचन्द्र शर्माको नायकत्वमा गएको नेपाली सांस्कृतिक प्रतिनिधिमण्डलका उपनेताको हैसियतले चीन पठायो। त्यस यात्राको सविस्तार वर्णन हामी महाचीने नेपाल संस्कृति (२०२१) पुस्तकमा पाउँछौं।

चित्तधर ‘हृदय’ दान दिनमा पनि प्रसिद्ध कहलिएका थिए। उनले नेपालभाषा परिषद्‌‌लाई कार्यालयको कोठा, स्वयम्भू विकास मण्डललाई मूर्ति, बौद्ध पुस्तक, मंका खलःलाई जग्गा र अनेकौं पुस्तकालयलाई पुस्तक प्रदान गरे।

उनको प्रेरणाले केदारमान व्यथित, धर्मरत्न यमी आदिले कलम चलाएको उल्लेखनीय छ।

आफ्नो जीवन साहित्य र संस्कृतिको लागि समर्पित गर्ने राष्ट्रिय प्रतिभा चित्तधर ‘हृदय’लाई लेखनाथ पौडेल र चक्रपाणि चालिसेलाई जस्तै मरणोपरान्त भएपनि प्रज्ञा पुरस्कार दिइनु पर्ने हो। तर त्यतातिर अझसम्म ध्यान गएको बुझिंदैन। नेपाल सरकारले उनको हुलाक टिकट निकाल्नु पनि परमावश्यक भइसकेको छ। (पछि टिकट निकालियो। )

साभार: मधुपर्क (नेपाली मासिक “राष्ट्रिय प्रतिभा ” स्तम्भ), २५:२:२७७ (नेसं २०४९ असार /ई१९९२ जून-जुलाइ), पृ. ६१/nepalmandal. com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.