विवादमा घेरिएकाे दिप – सन्दर्भ चाबहिलकाे

https://www.facebook.com/rajendra.manandhar.7906

ने सं ११३९ थिंलाथ्व चाैथी

 

चाबहिल गणेश मन्दिरबाट विद्युत प्राधिकरणको बाटो हुँदै गंगाहति जाँदा ओम हस्पिटल निस्कने बाटो । यस ठाउँलाई पिगं भनिन्छ । गएको मंसीर २२ गते सोही स्थानका भिम माया डंगोल वर्ष ४९ का स्थानीयवासीको मृत्यु भयो । परम्परा अनुसार मृतकको दाह संस्कारको लागि सोही स्थानमा रहेको चिहानमा लगियो ।

किपाः रेखा शाक्य

तर स्वभाविक रुपमा दाह संस्कार गर्ने वातावरण बनेन । गुथियारहरुले दाह संस्कारको लागि परम्परागत चिहानमा पुगे पछि सोही स्थानका अप्रवासीहरुले त्यहाँ दाह संस्कार गर्न नदिने भनी अवरोध खडा गर्न थाल्यो । कुराकानीबाट शुरु भएको स्थिति सामान्य बन्न नसकेपछि पहिला देखि बस्दै आएका चाबहिलका स्थानीयहरु र पछि घर बनाई बसोबास गर्दै आएका अप्रवासीहरु बीच ठूलै झडप हुन पुग्यो । हुँदा हुँदा जनप्रतिनिधिहरु र प्रहरी समेत बोलाउनु पर्यो । स्थिति झन गम्भीर बन्न पुग्यो । पछि प्रहरीहरुले नै सुरक्षा दिई मृतकको दाह संस्कार सम्पन्न गरियो ।

किपाः रेखा शाक्य

यो घटना यसरी हुन पुगेको पहिलो चोटी भने होइन । यो दाेश्रो पटकको घटना हो । जब सामाजिक सञ्जालमा  त्यस बखतको तस्वीर र भिडियो संप्रेशन भयो पुनः एकचोटी यस घटनाले सबैको मनमा प्रश्न उब्जायो ।

वरिपरि घरैघर र अगाडी पसल समेत भएको ठाउँमा यसरी मानिसको मृत शरिरलाई जलाउनु हुन्छ कि हुँदैन ? मानिस मरे पछि दाह संस्कार गर्ने चिहानको वरिपरि घर बसाई मानववस्ती बसाल्न हुन्छ कि हुँदैन ?

विवादलाई त्यसबखत त दुबै पक्षको रोहवरमा चाँडै नै काठमाडौंका मेयर समक्ष दुबै पक्षको कुरा राखी कुनै ठोस निर्णयमा पुग्ने गरी कागज त बनाइयो । अब पछि के हुन्छ भन्ने विषयमा जानकारी आउन भने बाँकी नै छ । तर यसरी पटक पटक उठ्दै गरेको गम्भीर विवादले सबैको माझ प्रश्न चिन्ह भने तेस्र्याएको छ ।

स्थानीय आदिवासी जनताको चिहान बनाइएको त्यस दिपको वरिपरि मानववस्ती कसरी बसाल्न पुगे ? यो स्थानीय जनताको सामाजिक जीवनमा भई रहेको अतिक्रमण हो कि होइन ?

तर बाहिरबाट आएका अप्रवासीहरुको घर र जनसंख्याको बाक्लो उपस्थितिले गर्दा यस गम्भीर प्रश्नलाई एकातिर राखी अर्को व्यवहारिक प्रश्न अगाडि सारेको छ । आजकलको जमानामा परम्पराको नाममा मानववस्तीको बीचमा मृत शरीरको दाह संस्कार गर्नु हुन्छ ? यसको विकल्प खोज्नु पर्दैन र ?

नेवाः समाजमा कोही कसैको घरको सदस्यको मृत्यु भएमा अन्तिम संस्कार गर्न भनी अलगै दिप बनाइएको हुन्छ । यस्तो दिप पहिला परापूर्वकालदेखि नै मानववस्ती भन्दा पर कतै नदिको छेउमा जहाँ मानिसहरुको दैनिकी आवतजावत कम हुने गर्दछ त्यहाँ बनाइएको हुन्छ । पहिला पहिला देशबाहिर र देशभित्र भनी सिमांकन गरिएको हुन्छ । देशभित्र मानववस्ती अनि बाहिर खेत । त्यहिं खेतको छेउमा जहाँ नदि बगरका साथै काँडेझाँर हुन्छ त्यहिं घाटको व्यवस्था गरेको हुन्छ । त्यसै गरि व्यवस्थित गरेको एउटा घाट हो चाबहिलको यो घाट पनि ।

चारुमति विहारका वा त्यस स्थानका अन्य जातका कुनै पनि सदस्यको मृत्यु भएमा पिंग देवताको वरिपरि रहेको दिप मध्ये आ-आफ्नो जातको दिप रहेको अनुसार नै दाहसंस्कार गरिने गरिन्थ्यो । चाबहिल कुटुबहालका शाक्यहरुको पनि देखा हुनेहरु (एक प्रकारको विशेष पूजा गरि लिइएको दिक्षा प्राप्त व्यक्ति) र देखा नहुनेहरुको पनि बेग्लाबेग्लै दिप रहेको छ ।

त्यस्तै नरः अर्थात हाडिगाउँका महर्जन, चावहिलका महर्जनहरुको पनि बेग्ला बेग्लै दिप रहेको छ । त्यस्तै बच्चाहरुको चिहान अलगै । स्थानीयवासीहरुका अनुसार यसरी अनेक प्रकारका दिप गरी सोही स्थानमा सातवटा सम्म दिप रहेको छ ।

यो दिप पहिला असाध्यै डरलाग्दो ठाउँको रुपमा प्रचलित थियो । अहिले जस्तो खुल्ला थिएन । राति दाहसंस्कार गर्न जाने बेलामा बढी त्रसित हुनु पर्ने स्थान थियो त्यसैले गुथियारहरु मृत शरिरलाई दागबत्ती दिइसकेपछि त्यहाँ अहिलेको जस्तो कुरुवा बसिरहन नसक्ने अवस्था थियो ।

गुप्तजोगिनी, खड्गजोगिनी र बज्रजोगिनी मध्ये चाबहिलका गुप्तजोगिनी रहेको बहाल हो चाबहिल । सो जोगिनीको पूजा समेत सोहि दिपमा गर्ने चलन यद्यपि छँदैछ । रातभर पूजा गरि त्यहाँ बाट माटोको पालामा बनाएको गाजल ल्याई १२ वर्षमा एकचोटी देवताको कलेवर (वस्त्र र रंगरोगन) फेर्ने बेलामा अजिमा माईलाई सोहि गाजल लगाइदिने परम्परा यथावत नै छ । त्यस्तै चारुमति बहालको कुनै ठूलो पूजामा समेत न्यास (देवतालाई पुनः आत्मा राख्ने) राख्नलाई सोहि दिपमा रातमा पूजा गर्नु पर्ने परम्परागत चलन पनि यथावत नै छ । यसरी रातको पूजा जाने बेलामा समेत त्यो बेला डरलाग्दो स्थिति भएकोले गणेश मन्दिरको पछाडि पुग्ने बेला देखि नै हामी दिपमा रातको पूजामा आउँदैछौं भनी जानु पर्ने स्थिति थियो ।

चाबहिल सुवर्णपुरका सदस्य र थाकुलि मोहनरत्न शाक्यका अनुसार यसरी परम्परागतरुपले जनजीवनमा समाहित धार्मिक आस्थाले भरिएको यस ठाउँको संरक्षण हुनुपर्ने देखिन्छ । यदि दिप नै यहाँबाट स्थान्तरण गरिएमा वहाँलाई पनि फाइदा नै हुने बताउनु हुन्छ किनकी वहाँको जग्गा पनि सोहि स्थानमा बाँकी रहेको छ । तर जीवनमा फाइदा मात्रै हेरेर हुन्न हामीले हाम्रो मौलिक मूल्य मान्यतालाई पनि बचाउनु पर्दछ, फाइदा हेरेर अाफ्नाे माैलिकतालार्इ छाड्नु हुन्न् वहाँकाे भनार्इ रहेकाे छ ।।

दिपको वरिपरि जग्गा किनी घर बनाउनेहरुले पहिला त केहि भनेनन् पछि हुँदै गएपछि यसमा प्रश्न चिन्ह तेस्र्याउँदै आएको हो भने वर्तमान अवस्थामा बाधा अवरोध समेत गर्न थाले । यसरी विगत केहि वर्ष देखि दाहसंस्कारको लागि आउँदा झगडा समेत हुन थाल्यो । पछि साँच्चै त्यहाँ दिप परापूर्वकालेदखि ने रहेको भनी बुझे पछि केहि शान्त समेत भइसकेको थियो ।

तर पनि त्यहाँ दिप छ भनी बुझे पनि घर बनाई बस्न आउनेमा भने कमि भएन । झन मानिसको बाक्लो उपस्थिति हुन थाल्यो । हुँदा हुँदा राजनैतिक पहुँचवालाहरुले पनि जग्गा किनेर घर बनाउन थाले । अबको वर्तमान अवस्थामा वहाँहरुले नै दिप त्यहाँबाट स्थान्तरण हुनु पर्ने कुरामा जोड दिंदै आइरहेकाछन् ।

सोहि दिपको आसपास घर हुने व्यक्ति फलेन्द्र विक्रम शाह । वहाँ त्यस बस्तीमा बस्न आउनु भएको सात आठ वर्ष जति भयो । वहाँले सो ठाउँमा जग्गा किन्दा दिप छ भनी थाहा नभएको बताउनु हुन्छ । किनकि मानिसहरु दिनदिनै मर्ने पनि होइन । पछि यसरी नै कोही मृत व्यक्तिको दाहसंस्कारको लागि ल्याउँदा मात्रै दिप रहेको बुझेछ ।

पहिला पहिला यो ठाउँमा फराकिलो नदि पनि थियो होला तर आजकल नदि पनि खुम्चिसकेको छ । दिपको पछाडि नै ओम हस्पिटल रहेको छ । चारैतिर मानववस्तीले घेरेको छ । मृत शरिरलाई जलाउँदा बच्चाहरु मात्रै नभई ठूलाबडालाई पनि मानसिक रुपले समस्या भएको वहाँ बताउनु हुन्छ ।  यस्तो आधुनिक जमानामा पनि मानववस्ती रहेको ठाउँमा मान्छे जलाउने भन्ने कुरा समय सापेक्ष रहेन । हो समस्यो दुबै पक्षलाई भएकै हो तसर्थ बीचको बाटो अंगाल्नु पर्ने देखिन्छ वहाँ भन्नु हुन्छ ।

त्यस्तै १० वर्ष अगाडि बिहे गरी त्यहिं बसोबास गर्न आइपुगेका गंगा पन्तले पनि आफ्नो घर अगाडि नै मृत शरिरलाई जलाउन ल्याउँदा एकाएक त्रासको वातावरण सृजित हुने बताउनु हुन्छ । मानिस जलाउँदाको धुँवाले स्वास्थ्यमा प्रतिकुल असर पार्ने त भो नै साथमा रहेका बालबच्चाको मनस्थितिमा समेत नराम्रो प्रभाव पर्ने गरेको, डरले बस्न नसक्ने बताउनु हुन्छ ।

कुरैकुरामा मध्ये राति आफ्नो बच्चाले पिसाब फेरी कोठामा आउँदा एकैचोटी दाँत कुटकुट गरि तोकेको र शरिर काम्न थालेकोमा राति नै बैद्यकोमा फोन गरी झारफुक समेत गर्नु परेको कुरा स्मरण गर्नु भयो । त्यसैले यसको विकल्पकोे रुपमा पशुपति आर्यघाटलाई विकल्पको रुपमा प्रयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

तर ७१ वर्षीय स्थानीय पूर्णवीर शाक्यले यस ठाउँमा घाट परापूर्वकालदेखि नै रहेकोले यसको संरक्षण गर्दा गर्दै अप्रवासी मानिसहरुले घर बनाई बाक्लो बस्ती बसाल्दै आएको गुनासो पोख्नु हुन्छ । विं सं २०५१ सालमा पिंगको जिर्णोद्धार भएको बेलामा आफू पनि सहभागी भएको कुरा बताउनु हुन्छ ।

किपाः रेखा शाक्य

सो बेला त्यहाँ रहेको शाक्यहरुको घाट भनि चिन्न सजिलो हुने गरि अलि हाइट ठूलो बनाई सकेको बताउनु हुन्छ । त्यसको शिलालेख समेत रहेकोमा मानिसहरुले जानाजान जग्गा किनेर घर बनाई बसोबास गरेको बताउनु हुन्छ । पछि हुँदा हुँदा त ओमहस्पिटल निस्कने बाटो समेत विस्तार गरि यहाँ दैनिक सयौं पटक गाडीको आवतजावत हुन थाल्यो । बाटाे बनाउने र फराकिलाे पार्ने क्रममा बाटाेकाे सतहीस‌ंग मिलार्इ घाटकाे चिन्हलार्इ समेत मेटी बाटाेकाे रुपमा बनाइदियाे ।  मानववस्ती धेरै भएपछि विरोधको आवाज पनि ठूलो हुँदै गयो । पहिला बस्तीकाले विरोध गरी प्रहरी आई मलामी हुनेहरुलाई समेत समातेर लगेको थियो पछि पुलिसको रोहबरमा चाबहिल गुथि र त्यही घर भएकाहरुको बीचमा मिलोमतो गरी आइन्दा मृत शरिर जलाउन ल्याउँदा विरोध नगर्ने र मलामीहरुले पनि जलाई सकेपछि सो स्थानलाई सफा गरि जाने, बाधा अवरोध नगर्ने भनी कागज नै बनाई सहमत भएको थियो ।

तर फेरी विगत दुई तीन वर्षदेखि यसरी मानिसको मृत शरिर जलाउन नदिने भनि बाधा अवरोध गरेकोले स्थानीय चाबहिलका गुथियारहरु क्राेधित बन्न पुगेका छन् । गएको वर्ष २०७४ सालकाे  माघ महिनामा स्थानीय चाबहिलका कान्छी  शाक्य वर्ष ९८ का व्यक्तिको मृत शरिरलाई दिपमा ल्याउँदा पनि यसरी नै बाधा अवरोध गरि पशुपति आर्यघाटलाई विकल्पको रुपमा प्रयोग गर्न दबाव दिएको थियो ।

सो समयमा पनि प्रहरीले नै संरक्षण समेत गर्नु परेको अवस्था सृजना भएको थियो । र पछि दुबै पक्षलाई वडा कार्यालयमा बोलाई स्थानीय जनप्रतिनिधि नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभाका सांसद नरोत्तम वैद्य र ७ वडाका अध्यक्ष शुद्ध कुमार डंगोल, प्रहरी र दुबै पक्षको गरी चाबहिलका प्रतिनिधि परमानन्द शाक्य, मोहन रत्न शाक्य, विकास शाक्य र वस्तीका प्रतिनिधि राजु गुरुंग, मुस्कान पौडेलका साथै दुवैपक्षको गरी पाँच पाँच जनाको एक समिति बनाई ठोस निर्णयमा पुग्ने गरि पछि पुनः बैठक बस्ने भनिएको थियो ।

व्यस्त जीवनका अभ्यस्तहरु भएकाले दिन बित्दै गएपछि त्यो घटना पनि सेलायो र मानिसहरु पुनः आफ्नै सूरमा जीवनयापन मै व्यस्त हुने पुगे । तर पुनः समस्याले एकचोटी सबैको ध्यान आकर्षण गएको मंसीर २२ गते भिममाया डंगोलको मृत शरिरलाई अन्तिम संस्कारको लागि जब दिपमा लगियो तब पहिला जस्तै सोहि स्थानका अप्रवासीहरु मिलि लाशलाई जलाउन नदिने भनि घेरा हालि बाधा अबरोध सृजना गर्यो । यसपटक पनि लामै विवाद भयो । विवादले झण्डै उग्र रुप लिन लागेको बेलामा यस पटक पनि प्रहरीले नै संरक्षण दिइ लाशको अन्तिम संस्कार गरियो ।

बस्तीका प्रतिनिधिहरुले विकल्पको रुपमा पशुपतिमा लगि दाहसंस्कार गर्नु पर्ने सुझाव दिंदै आइरहेका छन् भने उता धर्मले बौद्धहुनेहरुले शाक्य समाजलाई हिन्दु धार्मिकस्थल पशुपतिमा अन्तिम संस्कार गर्ने कुरामा सहमत हुने देखिन्दैन । चाबहिलका स्थानीयहरु परापूर्वकालदेखि रहेको चिहानमै लाश जलाउन पाउनु पर्छ बरु त्यसको लागि दिपमा चिम्नी राखि धुँवा नआउने व्यवस्था मिलाउने विकल्प अगाडि राख्दै छ ।

हेरौं अब केहि दिनमै दुबै पक्ष काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको समक्ष गई समस्या समाधानको लागि जाँदैछ । तब सम्मको लागि दुबै पक्षले एकअर्काको काममा बाधा अवरोध नगर्ने भनी यसपाली पनि कागजी प्रक्रिया पूरा गरेका छन् । भाेली सराेकार अन्य स्थानका स्थानीयहरु  पिगंमा विहानकाे ११ बजेतिर त्यहाँ भेला हुने कार्यक्रम समेत रहेकाे छ ।

उपत्यका भित्र आप्रवासन समस्याले गर्दा स्थानीय जनताको अन्तिम संस्कार गर्ने ठाउँ यो बाहेक अन्य स्थानमा पनि यसरी नै अतिक्रमण गर्दै जाने अवस्था रहेको देखिन्छ । मैतीदेवी, टंकेश्वर, लखुतीर्थ, टेकु, बल्खु, जोरपाटी, पाटनको बालकुमारी र स्वयम्भूको पछाडी पनि यस्तै समस्याले पिरोल्दै छ । अन्तमा  दिपको संरक्षण नगर्ने हो भने स्थानीय जनताको सांस्कृतिक जीवनमा समेत प्रभाव पर्ने अवस्था सृजना हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.