fbpx

भक्तपुरको बिस्का जात्रा – कहाँ? कहिले?

रेखा शाक्य/ ने सं ११३९ चाैलाथ्व सप्तमी

उपत्यकाका तीन मूख्य शहर मध्ये एक भक्तपुर । जहाँ नेवारहरुको बाहुल्यता रहेको छ । भक्तपुरमा वर्षदिन भित्र अनेकन जात्राहरु हुने गर्दछ । यसैको सेरोफेरोमा अनेक चाडपर्वहरु पनि मनाउँदै गर्दछन् । भक्तपुरका नेवारहरुले यसरी नै आफ्नो परम्परागत रितिरिवाज र संस्कृतिलाई संरक्षण गर्दै आइरहेको पाउँछौं हामी । विषेशगरी नेवारहरु हरेक चाडपर्वहरु तिथिमिति अनुसार नै मनाउने गर्दछन् ।

यसरी वर्षदिन सम्म मनाउने जात्रा पर्वमा भक्तपुरको नै सबभन्दा लामो जात्राको रुपमा लिइएको जात्रा हो बिस्काः जात्रा । यो जात्रा विक्रम सम्वतको महिनाको अन्तको दिनमा शुरु भई विक्रम सम्वतको शुरुको दिनमा समापन हुन्छ । पछि गएर यो जात्रा आठ दिनसम्म मनाउने परम्परा कायम हुन गयो जुन हालसम्म कायम नै छ ।

नेपालमा धेरै जसो प्रख्यात जात्रा चन्द्रमान अनुुसार शुरु भएको देखिन्छ तर यो जात्रा भने सौर्यमान अनुसार मनाउने गर्दछ । यो जात्रा बाह्रौं शताब्दी देखि शुरुभएको कुरा विभिन्न पुस्तकमा विभिन्न लेखकहरुले उल्लेख गरेको पाइन्छ । यो जात्रा बंशावलीमा उल्लेख भए अनुुसार भक्तपुरका राजा जगतज्योति मल्लले चलाएको भन्ने कथन छ ।

किपाः रेखा शाक्य

यो जात्रा बैशाख १ गते संक्रान्ति वा खाइसन्हुको दिन मूख्य जात्राको रुपमा मनाइन्छ । बुढापाकाहरुको भनाई अनुसार मानिसको मृत्यु पश्चात चित्रगुप्तले पाप धर्मको हिसाबकिताब हेर्दा मृत्यु भएका व्यक्तिलाई भक्तपुरको विस्का जात्रा हेरेको छ की छैन भन्ने सोधिन्थ्यो रे । त्यसैको प्रभाव वा जनविश्वासले होला जीवनमा कम से कम एकपटक भएपनि लिंगो ढालेको वा उठाएको हेर्नु पर्छ भन्ने मान्यताका साथ यस जात्रालाई हेर्न भने जात्रालुहरु टाढाटाढाबाट पनि आउने कुरा साँचो हो ।

हुनत भक्तपुर बाहेक नेपालको विभिन्न स्थानमा विक्रम सम्वतको शुरुको दिनमा विस्का जात्रालाई आ आफ्नै ढंगले मनाउँदै आइरहेको देखिन्छ जस्तै मध्यपुर थिमि, टोखा, सांगा, साँखु, धुलिखेल, सुनाकुथिका साथै अन्य स्थानमा पनि विस्का उठाउने र ढाल्ने गरिन्छ तर भक्तपुरको विस्का जात्राको आफ्नै विशेषता रहेको देखिन्छ । अति नै आकर्षक र लाखौंको जनसहभागिताको बीचमा भक्तपुरको यःसिंखेलमा (यःसिं ख्यः) ५५ हातको लिंगोको साथमा अष्टमातृकाको प्रतीक आठ वटा डोरीको प्रयोगले उठाउने गरिन्छ ।

यस्तै सोही यःसिंमा अर्को नागनागिनको प्रतीक स्वरुप ३२ हात लामो दुईवटा विश्वध्वजा पनि बाँधेर फहराउने गरिन्छ । यस विश्वध्वजामा बौद्धिक तान्त्रिक मंगलचि, अष्टमंगल, दिकपाल, क्षेत्रपालको प्रतीक रहेको हुन्छ । यसरी लाखौंको जनमसुदाय बीच बाजागाजाका साथ यःसिं खेलमा यःसिंका साथमा विश्वध्वजा उठाई विस्का जात्रा मनाउने भएकोले पनि यसको महत्व नगन्य रहेको विज्ञहरुको भनाई रहेको पाइन्छ ।
विस्काः शब्द नेवाः शब्द हो यस शब्दको अर्थलाई केलाउने हो भने बि भनेको सर्प र सिकाः को अर्थ मरेपछि भन्ने हो । यसरी सर्प मरेपछि वा मारिएपछिको खुशीयालीमा मनाइने जात्रा नै बिस्काः जात्रा हो ।

यसबारे जनमानसमा एक किंवदन्ती यस्तो रहेको पाइन्छ । परापूर्व कालमा भक्तपुरमा एक प्रतापि राजाको एक अति सुन्दर राजकुमारी थिए । जसको विवाहको पहिलो रात नै राजकुमारको रहस्यमय रुपले निधन हुने गथ्र्यो । राजपरिवारमा घटेको घटना विस्तारै फैलिन थाल्यो जसले गर्दा राजकुमारीसंग कोही पनि बिबाहको लागी इच्छुक रहेनन् ।

यस्तो घटनाबाट आजित भई राजाले आफ्नो छोरीसंग जसले विवाह गर्छ उसलाई अथाह धनसम्पतिको साथमा आफ्नो राजकाज पनि सुम्पिने घोषणा समेत गरेछन् । एकदिन अर्को देशको राजकुमार घुम्दै बाटो विराई एक जंगलमा पुगी बास बसेको सोही घरकी एक्ली बुढीले राजपरिवारमा घटेको घटनाक्रमका साथै बाटोमा भेटिने सोही तरबारले राजकुमारको कामले पूर्णता पाउने आशिष दिंछिन् । राजकुमारले पनि राजदरबारमा गई राजासंग राजकुमारीको हात माग्छन् ।

विवाह पनि हुन्छन् र राति नसुतिकनै पालो बस्छन् । नभन्दै पहिला जस्तै राजकुमारीको नाकको प्वालबाट निस्किेने नाग नागिनलाई तरबारले काटी रहस्यमय घटनालाई सदाको लागी समाप्त पार्छन । दुबै अजिंगरले राजकुमार समक्ष हामी दुबै मरेको दिनको सम्झनामा एक जात्रा चलाई दिनु भनी प्राण त्यागेछन् रे । र संयोगबश यो दिन नै बैशाख १ गते परेको भन्ने किंवदन्ती छ ।

यसरी सर्प वा अजिंगर मरेको खुशीयालीमा बैशाख १ गते मरेका दुई सर्पको सम्झनामा लिंगोको साथमा दुई विश्वध्वजा उही नागनागिनको प्रतिक स्वरुप उठाउने गरियो र बिस्काः जात्राको रुपमा मनाइयो भन्ने कथन रही आएको छ । यो कथनलाई पनि हो वा होइन भन्ने जमात पनि पाइन्छ । सबैले आफ्नै तरिकाले तर्कसंगत कुराहरुपनि राख्ने गरेको कुरा विभिन्न समयमा सुन्न र पढ्न पाइन्छ नै । जे होस यस बिषयमा रुचि हुनेले अनुसन्धान गरि तथ्यसत्य प्रमाणका साथ जनमसमक्ष ल्याउने कुरामा हामी आश्वस्त हुन सक्छौं ।

विश्व कै सबभन्दा लामो ध्वजा सहित यःसिं उठाउने भएकोले यस जात्रालाई विश्वकेतु जात्रा पनि भनियो । यस भन्दा पहिला भक्तपुरमा मात्र ५५ हातको लिंगो स्वरुप यःसिं मात्रै उठाई जात्रा गर्ने गरिन्थ्यो पछि काशी जगन्नाथबाट यस जात्रालाई हेर्न आएका भैरवको टाउको काटी भैरव खटमा राखी भैरव र भद्रकालीको जात्रा थप गरेको भन्ने पनि भनिन्छ । यस भैरवको तीन तले प्यागोडा शैलीको यो खट विश्वमै सबभन्दा गह्रुंगो खटको रुपमा लिइन्छ । यस जात्राको मूख्य आकर्षण भनेको भैल खेलमा यःसिं उठाउँदा र ढाल्दा भैरवखटलाई लिंगको सामुन्ने राख्न गर्ने प्रयासलाई लिन सकिन्छ ।

किपाः रेखा शाक्य

विस्का जात्राको तयारीको क्रममा भक्तपुरमा आठ रात नौ दिन सम्म विस्का जात्राको रौनक रहीरहन्छ । चैत्र मसान्तको चार दिन अगावै भैल द्यः अर्थात भैरवलाई देवघरबाट ल्याई खटमा राखेपछि विस्का जात्राको औपचारिक रुपमा जात्रा शुरु भएको सांकेतिक रुपमा बुझाइन्छ ।

बिस्काः जात्राको पहिलो दिन टौमढी टोलको प्रांगण न्यातपोल देवलको अगाडी रहेको खटमा भैरवलाई पुजारीहरुले पुजाआजा गरी देवतालाई बोकी खटमा राखिने काम सम्पन्न गरिन्छ ।

किपाः रेखा शाक्य

यसदिन न्यातपोल प्रांगणमा रहेको भैरव र भद्रकालीको खटलाई थःने र क्वःने टोलमा लानको लागी जात्रालु हरुले जुन प्रकारले खटलाई तानी माथितिर र तलतिरकाले प्रयास गर्दछन् जात्राको अति रमाइलो क्षण नै यहि हुने गर्दछ । जात्रामा यदि थःने टोलकाले तानेर लान सकेमा क्वाःछेँ, साकोला, दुरुत्वं द्यः, सकुलढोका, गोलमढी, इनाचा र दत्तात्रयसमम तानेर लान्छ र पुनः तौमढी मै ल्याइ पुर्याइन्छ ।

किपाः रेखा शाक्य

यस्तै कथन कदाचित क्वःने टोलकाले तानेर लान सकेमा बालुचा, नासमना, बंशगोपाल, तेखापुखुबाट फर्काइ तौमढीमै ल्याई पुर्याइन्छ । यसरी दुबैरथलाई तौमढीमा रहेको दक्षिणतिरको गाःहितिमा पुर्याइ सो दिनको जात्रा समापन गरिन्छ । यसरी रथलाई आफ्नो टोलमा लाने प्रयासमा कयौं पटक दुई टोलका बीच ढुंगा हानाहान पनि हुने गरेको प्रमाण यथेष्ट पाइन्छ । दोश्रो दिन भद्रकालीको रथलाई गाःहितिको खाल्वःटोलको अजिमाको देवघरमा लगिन्छ । तेश्रो दिन गाःहितिमा बलि सहितको सरकारी पुजा हुन्छ ।

किपाः रेखा शाक्य

हुन त यःसिं उठाउने चार दिन अगावै र यःसिं ढालि चार दिन पछि थःने र क्वःने टोलमा भैरव खटलाई तान्ने परम्परा रहे पनि यःसिं उठाई गाःहितिमा पुर्याई नकिंजु खःचा भन्ने भद्रकालीसंग भैरवको रथलाई घुमाउने अर्थात स्थानीय भाषामा खः ल्वाकेगु पनि अति नै आकर्षक र मनोरञ्जपूर्ण रहन्छ । यःसिंलाई उठाई सकेपछि बाराही देवतालाई पीठसम्म (तिंप्वाः) मशाल जलाई बाराहीको जात्रा गरी पुर्याउन जान्छ ।
त्यसपछि टोलटोलमा सिलाचा छ्वयेकेगु भन्दै काठलाई जलाई भजन कीर्तन गर्ने गरिन्छ ।

बैशाख १ गते भैलखेलमा राखिएको बेताललाई सम्पूर्ण भक्तपुरवासीले मिखुंचा अर्थात कुखुराको बलि दिई पुजा आजा गर्छन् भने सोही ठाउँमा कोही रातभर बसी भजनकीर्तन गर्दै बस्छन् भने कुनै कुनै टोलकाहरु बाजागाजा र पुजा लिई सोही ठाउँमा आई पुजा गरी दुबै रथको परिक्रमा गर्दै फर्किन्छन् ।

यसरी भक्तपुरमा अनेकन देवदेवीको जात्राका साथै चैत्र मसान्तको साँझमा उठाइएको यःसिं बैशाख १ गतेको साँझमा ढाल्ने काम समापन गर्छ । जसरी यःसिं उठाउँदा विभिन्न ठाउँबाट मानिसहरु प्रत्यक्ष हेर्ने गर्छन त्यसरी नै यो साँझ पनि मानिसहरुको भीड नै हुने गर्दछ ।

भक्तपुरमा हुँदै गरेको जात्रामा कहाँ के हुन्छ यसको विवरण यसप्रकार रहेको छ जुन भक्तपुर पर्यटन विकास समितिबाट सार्वजनिक गरेका छन् ।

१) २७ गते चैत्र तौमढीचोक भैरव क्वहाँ बिज्याकेगु भनी भैरवलाई ल्याइ रथमा विराजमान गराई रथ तान्ने पहिलो दिन ।

२) २९ गते चैत्र गःहितिमा स्याक्वत्याक्व
३) ३० गते चैत्र बिहान तालक्वमा हात नभएको यःसिं वा लिंगो उठाइने
४) ३० गते चैत्र साँझ यःसिंखेलमा ५५ हाते यःसिं अर्थात लिंगो उठाइने
५) ३० गते चैत्र राति खौमामा इण्द्रेणी तिंप्वा जात्रा अर्थात इण्द्रेणीको मशाल जात्रा
६) बैशाख १ गते,२०७६ साँझ भेलुखेल अर्थात यःसिंखेलमा यःसिं क्वथइगु वा लिंगो ढाल्ने
७) बैशाख १ गते राती न्हेसत्व, बाराहीस्थानमा बाराही तिंप्वा जात्रा अर्थात बाराहीको मशाल जात्रा
८) बैशाख १ गते राती खः ल्वाकेगु जात्रा अर्थात रथ जुधाउने जात्रा गःहितिमा
९) बैशाख २ गते महालक्ष्मी र महाकाली खः ल्वाकिगु जात्रा अर्थात महालक्ष्मी र महाकालीको रथ जुधाउने जात्रा महालक्ष्मीस्थान, याछेँ र भोलाछेँमा
१०) बैशाख ३ गते ब्रम्हायणी जात्रा ब्रम्हायणी र सूर्यमढी टोलमा
११) बैशाख ४ गते भक्तपुर नगरभरी सगुन दिने । साँझ नै छुमा गणेश जात्रा चोछेँमा ।
१२) बैशाख ५ गते बिहान हात नभएको यःसिं अर्थात लिंगो ढाल्ने तालाक्वमा भने सोही दिन टौमढीमा द्यः थहाँ बिज्याकेगु भनी भैरवनाथको रथ माथिल्लो भेगमा तानिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *