fbpx

बिस्काः जात्रालाई स्वागत गर्दै थिमी

ने.सं. ११३९ चौलाथ्व अष्टमी

नेपाल खाल्डोको पूर्व तिर रहेका नगरहरु थिमी, भक्तपुर र उत्तरमा रहेको तोखामा बिस्काः जात्रा भव्य रुपमा मनाइने गर्दै आएको छ । भक्तपुरमा भैरब र महालक्ष्मी रथ जात्रा गरी मनाइन्छ भने थिमीमा पनि बिस्काः जात्रा अन्तर्गत भव्यरुपमा खट जात्रा सहित सिन्दुर जात्रा, योसिं र जिब्रो छेड्ने जात्रा गरि मनाइन्छ । त्यस्तै टोखामा खट जात्रा सहित सिन्दुर जात्रा गरि मनाइन्छ । यि तिनै नगरमा जात्राको शुरुवात योसिं उठाइए पछि हुन्छ भने योसिं ढालेपछि जात्रा समाप्त हुने गर्दछ ।

फोटो – शरण ज्यापु हरि

मध्यपुर थिमि नगरपालिकाका भित्री शहरहरु थिमि, बोडे, टीगनी, नगदेश, निलबाराहीमा बिस्काः जात्राले झपक्कै छोपिसकेको छ । जम्माजम्मी ३२ वटा खटहरुको जात्रा भव्य रुपमा गर्न आफ्नो थात थलो छोडी अन्यत्र गएकाहरु पनि घर फर्किने गर्दछन्, आफ्नो परम्परा, संस्कृतिलाई निरन्तरता दिन ।

फोटो – शरण ज्यापु हरि

घर आँगन सफा सुग्घर गरी लिपपोट गर्न भ्याइसकेका छन् स्थानियहरुले बिस्काः जात्रालाई स्वागत गर्न । आफ्नो घर आँगनमात्रै होइन नगरलाई जीवन्त बनाइरहेका मठ, मन्दिर, पीठ, सत्तलहरुलाई पनि सरसफाई गरी चिटिक्क पार्न तन मन धनले व्यस्त छन् यहाँका बालबालिका, युवायुवती अनि वृद्धवृद्धा । अनुहारमा देखिएका बान्की परेका रेखाहरु अनि दाँत झरीसकेका थिमि लायकु निवासी ७८ वर्षिय धनमाया श्रेष्ठ हातमा ज्यावल बोकी थिमी लायकु बाहिर अवस्थित श्वेत भैरव पीठ सरसफाई गर्नमा तल्लीन छन् उज्यालो अनुहार लिएर ।

फोटो – शरण ज्यापु हरि

थिमिका एक समाजसेवी युवा प्रदिप श्रेष्ठका अनुसार जात्रा हर्षोल्लासका साथ एक आपसमा सद्भाव, मैत्रीभाव, सहयोगीभावले मनाइदै आएको रहेछ । गुथिका स्रोतहरु नष्ट हुँदै गर्दा आर्थिक अभावको चरम समस्याले ग्रस्त हुँदै गर्दा आ–आफ्नै खल्तीको रकम जम्मा गरी जात्रा पर्व संचालन गर्दै आइरहेकोमा हाल मध्यपुर थिमी नगरपालिकाबाट नगण्य मात्रामा भएपनि स्थानिय जात्रा गुथि खलः पुचलाई भएको आर्थिक सहयोगले केही राहत महसुस भएको रहेछ ।

एक आपसमा सहयोग सद्भावका बिच मनाउने गरिएको थिमिको बिस्का जात्रामा झण्डै २०÷२२ वर्ष अघि एकआपसमा भएको झगडाले रोकिएको नगदेशको श्री नगदेश गणेश जात्रा बालकुमारीमा जात्रा चलाउनको लागि नगरपालिकाको पहलमा भएको वार्ता सफल नभएकोमा दुःख लागेको बताउनुहुन्छ बोडेका समाजसेवी बुद्धिकृष्ण श्रेष्ठ । जुन झगडाले गर्दा नगदेशको यस नगरसँगको सांस्कृतिक सम्बन्ध टुटेको थियो ।

फोटो – शरण ज्यापु हरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *