काठमाडौंले ‘दसैँ’ होइन ‘मोहनि’ मान्छ

राजा, राज्य र राजनीतिको आश्रय पाएको कारणले ‘दसैँ’ यति ठूलो चाड बनिदियो कि अब हरेक दसैँमा उसले लिने पहिलो बलि नै ‘मोहनि’ भइदिएको छ । मोहनिको पहिचानलाई अहिले दसैँले निलिदिएको छ ।

सुरेश किरण

राजधानी काठमाडौं उसै पनि चाडपर्व र जात्रामेलाको महानगरै हो भन्दा फरक नपर्ला । त्यसमाथि यो नगर अहिले देशका सबै जिल्लामा मनाइने अनेक चाडपर्वको पनि राजधानी बन्न थालेको छ । पूर्वको उभौली होस् वा उधौली, पश्चिमको देउडा होस् वा माघी, अथवा उत्तरको ल्होसार होस् वा दक्षिणको छठ, सबै पर्वले अहिले काठमाडौंमा बास सारेको पाइन्छ । फलस्वरूप काठमाडौंमा जनसंख्या मात्र होइन, चाडपर्वको पनि ‘भीड’ लाग्ने थालेको छ ।

सबै चाडपर्व मिलेर बनेको एउटै कोलाज काठमाडौंमा देख्न पाउनु सुखद् पक्ष हो, सँगसँगै दुःखद् पक्षचाहिँ के हो भने यी आयातित चाडपर्वका भीडमा काठमाडौंका आफ्नै रैथाने चाडपर्व भने कता–कता पहिचानविहीन हुन थालेका छन् । तिनै पहिचान हराउन लागेका केही चाडमध्ये एउटा चाड हो– मोहनि ।

काठमाडौंमा धेरै पर्व छन् । ती पर्वमध्ये पनि सबैभन्दा ठूलो पर्व मोहनि हो । गर्मी सकिएको तर हिउँद नआउँदैको शरद् ऋतु काठमाडौंको सबैभन्दा रमाइलो मौसम हो । यस्तो ठिक्कको समयमा मोहनि मनाइन्छ । तर, मोहनिको विडम्बना के हो भने यो पर्व मनाइने समय ठिक भए पनि यसको ‘टाइमिङ’ गलत परेको रहेछ । कारण, काठमाडौंका नेवारहरूले मोहनि मनाइरहेकै ‘टाइम’ मा पर्वते हिन्दुहरू दसैँ मनाइरहेका हुन्छन् । दसैँ राज्यको समेत राष्ट्रिय पर्व भएको कारणले दसैँको सामु मोहनि फिक्का हुन पुगेको छ । फिक्का पनि कतिसम्म भने अहिले त मोहनि भनेकै दसैँ हो भन्ने भ्रमपूर्ण मान्यता स्थापित भइसकेको पाइन्छ ।

वास्तवमा दसैँ र मोहनि फरक चाड हुन् । दसैँ पहाडी हिन्दुले मनाउने चाड हो भने मोहनि उपत्यकाका नेवारले मनाउने चाड हो । दसैँ र मोहनि मनाउने समय एउटै हुनुबाहेक यी दुई चाड मनाउने तरिका, यी चाड मनाउन चाहिने सामग्री, यिनका दर्शन, पूजाआजा गर्ने देवता आदि जम्मै कुरा फरक छन् ।

दसैँको पहिलो दिन र मोहनिको पहिलो दिन जमरा रोप्ने काम हुन्छ । यति कुरा समान छन् । त्यसपछिका सबै कुरा फरक छन् । दसैँमा जमरा रोपिसकेपछि बाँकी दिन केही पनि काम हुँदैन । अष्टमी वा नवमीका दिन खसी काटेर भोज गरिन्छ । दशमीका दिन आफूभन्दा ठूलाका हातबाट टीका थापिन्छ । टीका थाप्ने काम कोजाग्रत पूर्णिमासम्मै जारी रहन्छ ।

मोहनिमा पनि जमरा रोपिसकेपछि बाँकी दिन केही काम हुँदैन । तर, अष्टमी, नवमी र दशमी भने सबैभन्दा महŒवपूर्ण दिन हुन्छ । अष्टमीका दिन बेलुकी कूलका सम्पूर्ण सदस्य एकै ठाउँमा बसेर भोज खाने गरिन्छ । पूरा कूलकै भोज भएकाले त्यसलाई ‘कूलभोज’ वा ‘कूछिभ्वय्’ भनिन्छ । कूछिभ्वय्कै राति आफ्नो पेसासँग सम्बन्धित सम्पूर्ण ज्यावल (जस्तो कुटो, कोदालो, मानापाथी आदि), हातहतियार आदि आगम कोठामा राखी अनुष्ठान गरिन्छ, जसलाई ‘स्वनेगु’ भनिन्छ । रातभरि अनुष्ठान गरी भोलिपल्ट ती सामग्रीलाई पशु, पन्क्षी वा अन्डा बलि चढाएर पूजा गरिन्छ । नेवारहरूले त्यही दिन आफ्ना सवारीसाधन र मेसिनरी सामानलाई पूजा गर्ने चलन छ । उक्त दिन आगममा पूजा पनि हुन्छ । उक्त पूजा सकेपछि बेलुकी पुनः भोज गरिन्छ । यसलाई ‘स्याक्वत्याक्व’ भनिन्छ । नेवारहरूले स्याक्वत्याक्वकै दिन आफ्ना सवारीसाधन, ज्यावल, मेसिनरी सामानको पूजा गर्ने भएकाले विश्वकर्मा पूजामा पुनः ज्यावल पूजा गर्नुपर्दैन । स्याक्वत्याक्वका दिन जुन जीव (पशु वा पन्क्षी) को बलि दिइएको हो, त्यसको एक टुक्रा मासु लक्ष्मी भाग भनी अलग्गै छुट्याइन्छ । त्यो मासुको टुक्रालाई ‘खंला’ भनिन्छ । दसैँको १५ दिनपछि मनाइने लक्ष्मीपूजाका दिन त्यही ‘खंला’ चढाएर पूजा गर्नुपर्दछ । यसरी हेर्दा थाहा हुन्छ, नेवार जातिले मनाउने मोहनिको सम्बन्ध तिहारको लक्ष्मीपूजासम्मै तन्किएको हुन्छ ।

नेवारहरूले स्याक्वत्याक्वकै दिन आफ्ना सवारीसाधन, ज्यावल, मेसिनरी सामानको पूजा गर्ने भएकाले विश्वकर्मा पूजामा पुनः ज्यावल पूजा गर्नुपर्दैन ।

स्याक्वत्याक्व अर्थात् नवमीको भोलिपल्ट दशमीका दिन आगममा अनुष्ठान गरी (स्वनेगु) राखिएका सामग्री झिक्ने काम हुन्छ । त्यसलाई ‘चालं’ भनिन्छ । दसैँ मनाउनेले उक्त दिन निधारमा रातो टीका लगाउने गर्छन् । तर, मोहनि मनाउनेहरू कालो टीका लगाउँछन् । त्यही कालो टीकालाई ‘मोहनि सिन्हः’ अर्थात ‘मोहनि टीका’ भनिन्छ । नेवार जातिले मोहनिमा लगाउने मुख्य टीका नै यही हो, जो दसैँमा लगाउने गरिँदैन । नवमीको रातदेखि दशमीको बिहानसम्म आगम कोठामा अनुष्ठान गरी तयार पारिने उक्त कालो टीका नै वास्तवमा शक्तिको प्रतीक हो । धेरैको अनुमान त के छ भने त्यही मोहनि सिन्हः (टीका) लगाइने पर्व भएकाले नै यस पर्वको नाम पनि ‘मोहनि’ हुन गएको हुनुपर्छ । त्यसो त मोहनिमा रातो टीका पनि लगाउने चलन छ तर त्यो पछि मात्रै आएको चलन हो ।

वास्तवमा दसैँ र मोहनि फरक चाड हुन् । दसैँ पहाडी हिन्दुले मनाउने चाड हो भने मोहनि उपत्यकाका नेवारले मनाउने चाड हो ।

मोहनिमा अष्टमी, नवमी र दशमीका कर्म तीन दिन लहरै गर्नुपर्छ । बीचमा तिथि तुत् छ वा दोहोरिएको छ भने पनि त्यसलाई गणना गरिँदैन । किनभने मोहनि मनाउँदा कूछिभ्वय्को दिन स्याक्वत्याक्व गर्न मिल्दैन, स्याक्वत्याक्वको दिन चालं गर्न मिल्दैन । यस वर्ष पनि तिथि तुत् छ भन्दै अष्टमीपछि एकैचोटी दशमी मनाउने क्यालेन्डर पञ्चाङ्ग निर्णायक समितिले निकालेको छ । तर, काठमाडौं उपत्यकाका नेवार समुदायले त्यसलाई अस्वीकार गर्दै अष्टमीपछि नवमी र नवमीपछि दशमीको कर्म लहरै गर्ने निर्णय गरिसकेको छ । दसैँ मनाउनेलाई यस्तो तिथि तुत् हुँदा पनि असर गर्दैन । तर, मोहनि मनाउनेलाई भने असर पार्छ ।

यसो हुँदाहुँदै पनि काठमाडौंको असन टोलमा भने एउटा अर्कै चलन छ । त्यहाँ दशमीका दिन ‘चालं गर्ने’ (टीका लगाउने) गरिँदैन । त्यसको भोलिपल्ट अर्थात एकादशीका दिन मात्रै चालं गरिन्छ । दशमीका दिन असनवासीको पर्व हुँदैन । त्यसैले एकादशीलाई ‘असं चालं’ भनी छुट्टै नामकरण गरिएको छ । यो असनका रैथानेलाई मात्रै लागू हुने पर्व हो । असनको कोही स्थानीय बासिन्दा अर्को ठाउँमा बसोवास गरी बसेको छ भने उसले पनि एकादशीकै दिन चालं अर्थात विजयादशमी मनाउने गर्छ । तर, अरू ठाउँका बासिन्दा असनमा बसोवास गरेको छ भने उसले ‘असं चालं’ मान्नुपर्ने आवश्यकता छैन ।

मोहनि र दसैँ दुवै शक्तिको उपासना गरिने पर्व हुन् । तर, उपासना विधि फरक छन् । दसैँमा दुर्गा पूजा गर्नुको अर्थ शक्तिको उपासना गर्नु मात्रै हो तर मोहनिमा शक्तिको उपासना मात्रै गरिँदैन, तान्त्रिक विधिबाट आफू वा आफूले प्रयोग गर्नुपर्ने विभिन्न साधनले शक्ति प्राप्त नै गर्ने पूजा गरिन्छ । दसैँमा नौजना दुर्गाको पूजा गरिन्छ । मोहनिमा नौवटा पीठको पूजा गरिन्छ । नौवटा पीठमा गई पूजा गर्ने यो चलनलाई ‘नवरथ’ जाने पनि भनिन्छ । दुर्गा भवानीले महिषासुरको वध गरी विजय प्राप्त गरेको दिनको सम्झनामा दसैँ मनाउने हो । तर, मोहनिमा दुर्गा र महिषासुरको प्रसंग कहीं पनि आउँदैन । बरु शक्तिको उपासना गरी जो शक्ति प्राप्त हुने हो, त्यसलाई धारण गरी बाहिर प्रकट गर्ने एउटा अर्को परम्परा मोहनिमा छ, जसलाई ‘पायो’ आउने भनिन्छ । तान्त्रिक उपासनाबाट प्राप्त भएको शक्तिको प्रयोग गरी खराब तŒवको नाश गर्ने प्रतीकस्वरूप काठमाडौंका विभिन्न टोलमा खड्ग समाई ‘पायो’ निस्किने र उक्त ‘पायो’ ले सडकको चौबाटोमा फर्सीलाई मार हान्ने चलन छ । यो मोहनिको अत्यन्त मौलिक परम्परा हो ।

तान्त्रिक उपासनाबाट प्राप्त भएको शक्तिको प्रयोग गरी खराब तŒवको नाश गर्ने प्रतीकस्वरूप काठमाडौंका विभिन्न टोलमा खड्ग समाई ‘पायो’ निस्किने र उक्त ‘पायो’ ले सडकको चौबाटोमा फर्सीलाई मार हान्ने चलन छ । यो मोहनिको अत्यन्त मौलिक परम्परा हो ।

दसैँमा विजया दशमीको टीका थापिसकेपछि कोजाग्रत पूर्णिमासम्मै आफूभन्दा ठूलाका घर–घरमा गई टीका थाप्ने चलन छ । तर, मोहनि मनाउनेहरू त्यसरी आफैँ गएर टीका थाप्दैनन् । आफूलाई बोलाएको ठाउँमा मात्रै टीका थाप्न जान्छन् । त्यसरी बोलाउने कामलाई ‘नखत्या सःतेगु’ भनिन्छ । बिहे गरिसकेका छोरी, भाञ्जी र ज्वाइँलाई मात्र ‘नखत्या’ बोलाउने गरिन्छ । मोहनिमा टीका थापेबापत दक्षिणा लिने–दिने गर्नुपर्दैन । दसैँमा चाहिँ नखत्या बोलाउनुपर्दैन । नेवार जाति कोही हिन्दु छन्, कोही बौद्ध । तर, सम्पूर्ण नेवारको मोहनि मनाउने तरिका उही हो । मोहनि मनाउने यो तरिकाले पनि भन्छ, नेवार जाति न हिन्दु हुन्, न बौद्ध । उनीहरू विशुद्ध प्रकृतिपूजक हुन् ।

यति व्याख्याबाटै प्रस्ट बुझिन्छ, मोहनि र दसैँ छुट्टाछुट्टै पर्व हुन् । तर, राजा, राज्य र राजनीतिको आश्रय पाएका कारण ‘दसैँ’ यति ठूलो चाड बनिदियो कि अब हरेक दसैँमा उसले लिने पहिलो बलि नै ‘मोहनि’ भइदिएको छ । मोहनिको पहिचानलाई दसैँले निलिदिएको छ ।

साभार ः हाकाहाकी

One thought on “काठमाडौंले ‘दसैँ’ होइन ‘मोहनि’ मान्छ

  • October 12, 2018 at 10:54 am
    Permalink

    Thanx for sharing.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.